Hollywoodkhabar advertisement

नेपाली: पत्रकारिता, कमेडिकारिता, सिकारिकारिता, विस्मात र विराशत

-Krishna KC

कृष्ण के सी, अमेरिका जुलाई २५, २०१८
कृष्ण प्रसाद भट्टराई पत्रकार हुन-होइनन-हुन-होइनन भन्ने बिषयमा नेपाल पत्रकार महासंघ नै निचोडमा पुग्ने र हिमाल चड्नेले झैं माथि जाँदै दुइ खुड्किला ओर्लने गरेको छ। नेपाली राजनीतिको प्रभावले गर्दा यस्तो उकाली ओराली हुँदै नै गरेको छ।

माले, एमाले र अन्तिममा आफ्नो आपराधिक टाउको लुकाउन एमालेको लुँगी भित्र बिलय भएर बनेको नेकपा सम्म सबैलाई सूर्य चिन्ह दिने सूर्य जस्तै उदाएका सूर्यभाई मानिने पद्मरत्न तुलाधर एउटा गाइ काण्डले ग्रहण भित्र छिरेको चन्द्रमा जस्तै बिलाएर गएको कथा पुरानो होइन। तर पनि कुनै दिन पद्मरत्न पनि पत्रकार हुन भनिएला या नभनिएला तर पनि उनीसंग पत्रकारितामा प्रधान संपादक भनेर कतै जोडिएको छ भनिन्छ।

अथवा हाइपोथेटिकल्लि भनौ नेपाल पत्रकार महासंघलाइ कुनै दिन दुबैलाई आधा-आधा सम्मान गर्नु भन्ने भागवण्डाको दवाव आयो भने नागरिक जगतले कुनै अचम्म मान्ने कुरा होइन।

नेपाली समाजमा पत्रकारिता दशकौं देखि पढाइका कुरा बाहेक ऐतिहासिक पाटो कसरी ल्याइएको छ भन्ने कुराको ज्ञान मलाइ छैन। तर संचार गृह र संचारले लिएको ९० को दशक देखिको फड्को भने सबैले देखेकै छन्। कति आउँछन् कति बिलाउँछन् तर पनि ४००० प्लसको संख्यामा नेपाली मिडियाहरु दर्ता र स्थापना भएका छन् अनि १००० भन्दा धेरैको हाराहारीमा सकृय मिडिया छन भन्ने आंकडा प्रेस काउन्सिले देखाएको छ।

गत बर्ष आफ्नै मिडिया हलिउड खबरको प्रथम वार्षिक कार्यक्रममा दिग्गज रवि अधिकारीले गोरखा पत्रको स्थापना कालिन नेपाली पत्रकारिताको कथा सुनाउनु भएको थियो। उहाँले कम्पोजिट प्रिण्टिङ प्रेसमा गरेको पत्रकारिता देखि डिजिटल र सिटिजन न्यूज सम्मका कुराको जानकारी दिनुभयो। मैले बर्षौं नबुझेको कुरा उहाँको १५ मिनेटको प्रस्तुतिबाट धेरै ज्ञान भयो।   

उसो त नेपालमा नेपाली पत्रकारितामा बिरासत नै हुँ भन्नेहरु थुप्रै छन् अमेरिकामा पनि। खासैमा सहि मानेमा विराशतहरु भने यहाँ आफूलाइ कतै नाचिनाइ बसेका छन्। म आफू पत्रकारिताको मुलधार, कुलधार, बिरासत, विस्मात, पत्रकलाकारिता, कमेडिकारिता र खेतालाकारिता कुनै पनि भित्र पर्दिन भन्ठान्छु। तर पनि नियमित रुमपमा २००८ देखि यो क्षेत्रमा जसोतसो छु। मैले त्यो पनि भन्दै हिंड्ने गरेको छैन अनि त्यो हैसियतमा कतै आशण ग्रहण माकेको पनि छैन। लौन म पत्रकार हुँ मलाइ सम्मान गरिदेउ, सम्मान पत्र देउ भन्दै देउसी गाउनु परेको पनि छैन।

अझै पनि मैले नबुझेको कुरा आजकलको नेपाली समाजमा पाइने पत्रकारहरुको बर्गिकरण गर्ने तरिका हो। आफूलाइ त्यो उच्च हैसियतको बिज्ञ त कसरी भनौ तर पनि अवस्थाको कुरा भने अलिकति ओकल्न चाहन्छु। यसो भनौ नेपाली पत्रकारीताको बिरासतको सातघुम्तीको इन्द्रजाल, अष्टबक्र मार्ग र कर्कलाको पानीको मायाँ पिरतिमा दिग्गजलाइ सादुवाद र आडम्वरीलाइ अलिकति पान चपाएर भए पनि पिच-इन गर्न चाहन्छु।

मैले देखको कुरा नेपाली पत्रकारहरुमा सिद्धान्त घोकेर फित्ता लिंदै बित्ता नापेर कित्ता काट्नेहरु पनि धेरै रहेछन। पत्रकारिताको किताब मात्र पढेर ठूला ठूला इतिहास र कथा भन्ने तर पत्रकारिता भने नगर्ने पत्रकारहरुको लुर्को त कार्तिकमा काँसी जानेहरुको भन्दा पनि लामो रहेछ। राजनैतिक पार्टीको झण्डा बोकेर हिड्ने तर पत्रकारितालाइ कम महत्वदिने पत्रकारहरु राजनैतिक नियुक्ति र प्रेस-सल्लाहकार खान नेताकोमा चटुकारिता गर्ने पनि गणक्य नै रहेछन।

फेरि ठूला मिडिया र तिनका पूर्व र वर्तमान कर्मचारी त्यसैगरी भाडाका पत्रकारको त रवाफ नै अर्को छ। अनि भ्रष्टाचारी, गुण्डा, घुषखोर, पापी अन्यायी, ढुकुवा नेताहरुका निजी जस्तै पत्रकारहरुको तोक लगाइदिने पत्रकारिताको शक्तिका सामु त, उफ !! ए बाला ठाकुरे यो दुनियाँ नै झुकोस। पत्रकार हुन कि नेता पत्तै हुन्न बे !

नेपालमा होस या अन्यत्र होस, कुनै समयमा पत्रकारिता गरेका अनि पत्रकारहरुको संस्थाको नेतृत्वमा पुगेका तर वर्तमानमा पत्रकारिता पटक्कै नगर्ने पत्रकार पनि धेरै रहेछन। नेतृत्वमा पुगेपछि पत्रकारिता गर्नै नपर्ने, आजीवन पत्रकार, बस ! रिभेन्यूको लागि कुनै चलेको अनलाइनको दुरुस्तै नाम राखेर बल्छी हाल्ने पत्रकारले गर्ने कपिपेस्टकारिता मात्र होइन बाइलाइन समेत आफ्नो हाल्नेलाइ चाँहि जनता पत्रकारिता कि कुनी करे पो भनिन्छ रे।

गल्छी कुर्ने र बल्छी हानेर अर्कालाई चुर्लुम्म पार्ने सिकारीकारिताको कमाइमा त अखतियार र आन्तरिक राजश्व नै लागोस। वर्ष भरिमा एक दुइ अपडेट गर्ने अल्छी पत्रकारले प्रधान संपादकको हुँ भन्दै आशन ग्रहण मागेको कथाले किन अचम्मिनु र। अब अलि फरक कुरा गरौँ, मातृभूमिको चिन्ता गरौँ, सबैले गर्छन हामी मात्रै किन अछुत्तो रहनु।

आफूलाइ अब्बल दर्जाको पत्रकार भन्नेहरु धेरैले ऋषि धमलालाइ आलु भन्दा तल छ उसलाई पत्रकारमा गन्दैनौ भन्दा रहेछन। तर कसैले माने-नमाने या बिरोध गरेता पनि ऋषि धमलाको प्ल्याटफर्म/प्रडक्शनबाट बजारमा धेरै समाचार आउँछन्। अनि जसले जे सुकै भने पनि ऋषि धमला संचारको एउटा पाटोमा टिकेको छ। कतित खर्च गरेर पनि उसको प्लाटफर्म भाडामा लिन्छन डुक्रिन र डक्रिन कै लागि। फेरि बाहिर आएर धमला क्या खत्तम मान्छे छ भन्छन। उसैको बिरोध गरेर घरको काउचमा बसेर जौ मदिरा सेवन गर्दै धमलाको हमलामा आफ्नै अन्तर्वार्ता हेर्ने पत्रकार महासयहरु तिनै हुन जो आफूलाइ दिग्गज भन्ने मध्येका छन्।

हालसाल आएको अर्को बिषय हो रवि लामिछाने। सिद्धान्त, बिधिका, कथा र कहानीका कुरा एकातिर होलान। तर वर्तमान अवस्थामा नेपाली संचारमा रवि लामीछानेले जस्तो नगरेको भए कार्यक्रम त्यो स्तरमा माथि आउने नै थिएन भन्ने त पक्का नै हो। होइन भने सेन्टिमेन्ट बुझ्न भारतीय प्रडक्शन “C Company” नामको मूभी हेर्दाभयो। रविकै कारण उपरोक्त टेलिभिजनको TPR व्हात्त बढ्यो मात्र होइन अरु ठूला भन्नेहरुलाई आफ्नो TPR मा अलिकति धक्का नै लाग्यो।

तेही डर या तेस्तै खाले प्रडक्शनका लागि जनदवाव आउनुले गर्दा ठूला मिडियाहरुले रविको बिरोध गरेका हुने भन्ने नेपाली पत्रकारिताका बिज्ञ अमेरिका मै नै छन। त्यसैको अनुसरण गर्दै रविको बिरोधमा ति ठूला मिडियाका वर्तमान र पूर्व कर्मचारीहरु पनि पछि लागेका रहेछन।

अब कुनै मिडियाले त्यो धमला होस् या लामीछाने होस् जनताको कुरा उठाइदियो, नराम्रा कुरा उदाङ्ग गरिदियो, क्राइम र खराब कुरा दबिन थाले भने त्यो कुन खराब भयो त? पत्रकारितामा गर्ने चाहिं के हो त ? जब प्रशाशन र सरकारले त्यो गर्दैन भने अरुले गर्नुपरेको हो। होईन सरकार र प्रशाशनले तेस्तो गुनासो हुने मौका नै दिंदैन भने रविखाले मिडियाको प्रडक्शन अर्कै हुन्थ्यो होला।

पत्रकारीताको विराशत र दिग्गजहरुको आरोप चाँहि ऋषि धमला र रवि लामिछानेले कमेडिकारिता गर्यो भन्ने रहेछ। अब यो नेपाली पत्रकारिताको बर्गिकरण आफू अनविज्ञ परेर होला पटक्कै बुझ्न सकिन। अनि बुझेका कसैले बुझाइदिएनन। लौन कोहि छ नेपाली पत्रकारिताको वर्गीकरण र परिभाषा बुझाइदिने ?
**कृष्ण प्रसाद भट्टराई, पद्मरत्न तुलाधर, ऋषि धमला र रवि लामिछानेका नाम उल्ल्लेख नगरी बिषय प्रष्ट नहुने भएकोले नाम लिएर लेख्नु परेकोमा उहाँहरु प्रति क्षमाप्रार्थी छु।**
कृष्णार्पण !

From our sponsors

इतिहास जसरी भयो तेसै गर्नु भनेको मुर्खता हो, खै परिवर्तन राजनीतिमा

3 Years ago

विशेश्वर प्रसाद कोइरालाले प्रजातन्त्रमा राजतन्त्र आवश्यक देखे कांग्रेसका थुप्रैले उनको अनुसरण गरे। मदन भण्डारीले कम्युनिष्ट भित्र प्रजातान्त्रिक रुपमा जान सकिन्छ भन्ने विकल्प दिए तर अधिनायकवादीहरुले खोसेर त्यसलाई समाप्त गरे

ADVERTISEMENT-----