-Krishna KC

काँग्रेसले अमेरिका सहित १६ देशका जनसम्पर्क समितिको अन्त्य गर्यो, समय विकल्पको

Hollywood Khabar February 20,2020 Comments

कृष्ण के सी/अमेरिका/२/२०/२०

यो लेख नेपाली काँग्रेस पार्टीले नेपाली जनसम्पर्क समिति अमेरिका सहित १६ देशका समितिहरुलाई अधिवेशनका लागि फाल्गुन ८, २०७६ मा दिएको निर्देशन र समिति संबद्ध अरु १० जनासँगको कुराकानीका आधारमा तयार पारिएको हो।

नेपाली काँग्रेस प्रजातान्त्रिक पार्टी हो तर पनि धेरै कुरा चाहिँ कम्यूनिष्टहरुको जस्तो गर्छ। थुप्रै पद मनोनित गरिन्छन, सदस्यता क्रियाशील र साधारण भनेर बनाएको छ। एउटा प्रजातान्त्रिक पार्टीको सदस्यता उमेर कानुनी रुपमा पुगेका, कानुनले बर्जित गरेका बाहेक जो कोहिले पनि पार्टीको आदर्श मान्छु भनेपछि लिन पाउनुपर्छ। अधिवेशनको अघिल्लो दिनमा पुगेर अधिवेशन रोक्ने चलन नेपाली काँग्रेसको लागि नयाँ कुरा होइन। बर्षौं अधिवेशन नगरी टिके नेतृत्वमा पार्टी र भात्री संगठन चलाउने पनि नेपाली काँग्रेस पार्टी अरु भन्दा अब्बल दर्जामा नै पर्छ।

यसै क्रममा नेपाली काँग्रेस पार्टीले विदेश स्थित आफ्ना कार्यकेर्ता, शुभचिन्तक, समर्थक र आस्थावानहरुलाई अटाउने भनेर नेपाली जनसम्पर्क समिति दोश्रो पटक सुरु गरेको थियो। यसै क्रममा नेपाली जनसम्पर्क समिति अमेरिकाको पनि २००६ देखि छलफल भएर २००७ मा सुरुवात भएको थियो।

कनेक्टिकटमा भएको पहिलो अधिवेशनले डा सुरेन्द्र देवकोटाको नेतृत्वमा निर्वाचित कार्यसमिति बनाएको थियो। त्यसलाई पार्टीले तेजोबध गरेर थनक्याइदियो। त्यसपछि खगेन्द्र जिसीको संयोजकत्वमा दुइ-दुइ पटक समिति बन्यो। त्यो समय केहि राज्य च्याप्टर बनाउने काम भयो। तर केन्द्रिय अधिवेशन भने हुन सकेन। त्यो बिचमा क्यालिफोर्निया र न्यूयोर्कमा दुइ-दुइ वटा जनसम्पर्क समिति बने। काम भन्दा आपसी झगडा धेरै थियो। क्यालिफोर्नियामा त भूतपूर्व पार्टी सभापति सुशील कोइरालालाई दुइ गुटले ताना-तान गर्दा झण्डै च्यात्तिएर दुइ टुक्रा बनाएका थिए। एउटा गुटले अर्को गुटको कार्यक्रम भाँड्न कोइरालालाई अपहरण शैलीमा झुक्याएर लगेर ३ घण्टा टाढा लेक टाहो सम्म पुर्याएको थियो।

पछि बिष्णु सुवेदीको संयोजकत्वमा बनाइएको संयुक्त तदर्थ समितिले २०१४ मा पुगेर टेक्ससमा एकताको दोश्रो अधिवेशन सम्पन्न गर्यो। अधिवेशनबाट आनन्द बिष्टको अध्यक्षतामा तीन बर्षको लागि नयाँ नेतृत्व निर्वाचित भयो। जसको अबधि २०१७ मा समाप्त भएर अधिवेशनमा जान लाग्दा नेपाली काँग्रेस पार्टीले एक पत्र काटेर रोकिदियो।

नेपाली जनसम्पर्क समिति अमेरिकाको तेश्रो अधिवेशन अप्रिल ११-१२, २०२० मा हुने निर्णय भएको छ। समितिले अधिवेशनको माहोल ततायो, च्याप्टरहरु अधिवेशनको मिति तोकेर सदस्यता वितरण गर्न थाले। त्यसपछि नेपाली काँग्रेस पार्टीले एक्कासी फाल्गुन ८, २०७६ मा अर्को पत्र पठायो।

अमेरिका सहित १६ देशका जनसम्पर्क समितिलाई तोकेर लेखिएको पत्रमा अब उपरान्त जनसम्पर्क समिति भन्ने नाम नै नरहने कुरा उल्लेख छपत्रको प्रकृति हेर्दा उपरान्त जनसम्पर्क समितिको सदस्यता नै हुँदैन। केवल नेपाली काँग्रेस पार्टीको मात्र सदस्यता हुन्छ र त्यो जनसम्पर्क समिति होइन पार्टीको अमेरिका एकाइ हुनेछ।यहानेर सम्झनुपर्ने कुरा के पनि हो भने ११२ महासमिति र महाधिवेशन प्रतिनिधिको भोटको लागि यो सबै गरिएको हो। पार्टीको १४ औं महाधिवेशन पछि अर्को पत्र आउँछ र उपरान्त सबैले समितिको सदस्यता लिन पाउने भन्ने हुनेछ। फेरी १५ औं महाधिवेशन आउनुपूर्व अहिलेको जस्तो पत्र आउनेछ। यो खेल यसैगरी चल्दै जानेछ, केवल चुनाब जित्नको लागि।

अब नेपाली काँग्रेसलाइ मायाँ गर्ने, करोडौं आर्थिक सहयोग गर्ने ठूलो जमात यसबाट बाहिर लखेटिएको छ। अब नेता आउँदा खादा ओडाउने, जाउलो ख्वाउने, दारु पिलाउने अनि सिटी-सिटी घुमाउने व्यक्तिहरुको लुर्कन घटेर जानेछ। आतेजाते टिकेट र रिटर्न गिफ्ट दिएर पठाउने जमात पनि घट्ने छ। दोश्रो पुस्ताले त नेपाली काँग्रेस पार्टी भन्ने कुरा नै भुल्नेछन। उपरान्त बिपी कोइरालालाइ गुगलमा खोज्नु पर्नेछ। केवल ७ भोट पाउनको लागि नेपाली काँग्रेसको वर्तमान नेतृत्वले यो कदम चालेको प्रष्ट नै देखिन्छ।अब रहने भनेका भिजिट भिसाका व्यक्ति, कानुनि हैसियत लिन लागेका र गैर कानुनी रुपमा रहेका व्यक्ति अनि बिधार्थी र हात मल्ने केहि व्यक्तिहरुको गुट मात्र रहन्छ।

नेपाली नागरिक, नेपाली काँग्रेसप्रति बफादार जो कोहि जहाँ कहिं भएपनि पार्टीको साधारण र क्रियाशील सदस्यता लिन पाउनुपर्छ, त्यो कुरा मनासिव हो। पार्टीको निर्देशन पत्र अनुसार पार्टीको क्रियाशील सदस्यता तत्काल समितिका अध्यक्ष आनन्द बिष्टले दिने हो। उनले चाहेका व्यक्तिलाइ मात्र दिन सक्छन। अनि यस्तो हुने गरेको छ पार्टी भित्र। अन्यथा त्यो सदस्यता अमेरिकाबाट नपाउनेहरुमा अहिले धेरै तुजुक गर्नेहरु नै पर्नेछन। यति मात्र होइन पार्टीले अमेरिकामा नै गैर कानुनि रुपमा आफ्नो पार्टीको गतिबिधि गर्ने निर्देशन पनि दिएको छ।

तर पार्टीको क्रियाशील सदस्यले नेपाली जनसम्पर्क समिति अमेरिकाको अधिवेशन गर्ने भन्ने कुरा चाहिँ मिल्दैन। नेपाली जनसम्पर्क समिति अमेरिकाको अधिवेशन गर्न जनसम्पर्क समिति अमेरिकाको नै सदस्य हुनु जरुरी छ। त्यो कुरा त पार्टी नेताले नजानेका पनि होइनन। तर पनि पछिल्लो पत्रले क्रियाशील सदस्यले मात्र नेपाली जनसम्पर्क समितिको अधिवेशनमा भागलिने कुरा तोकिएकोले त्यो कुरा अमेरिकामा सरासर गैर कानुनी हुन जान्छ।

सोहि प्रकृतिमा नै अधिवेशन गर्दाको बखत, आयोजकहरुलाई अमेरिकी सुरक्षा निकायले अमेरिकामा नेपाली काँग्रेसले गैर कानुनी राजनीति गरेको कारण नियन्त्रणमा लिन कुनै बेर लाग्दैन। त्यो बेला जेल जानेहरु नेपालका महरा र गोकुल बास्कोटा जस्तो सफाई पाउने खाले होइन नराम्रोसँग खाडलमा भासिने छन्। अबको समय हिजोको जस्तो छैन। पार्टीले नै लात मारेका हजारौं काँग्रेसीहरु आफैंले त्यो कार्य गर्नेछन्।अनि आउनेछ बेग्लै परिस्थिति।

त्यसैले, अब सोहि पत्र नै अन्तिम हो भने, नेपाली कांग्रेसको भात्री सँस्था भनिएको नेपाली जनसम्पर्क समिति अमेरिकाको अन्त्य भएको छ। अब यसको विकल्प खोज्ने बेला आएको छ। जसले यो समितिमा आफ्नो समय, बुद्धि, विवेक र आस्था राख्थे अब त्यो कुराको अन्त भएको छ। नेपाली काँग्रेस पार्टीलाई काँग्रेसीहरु होइन महाधीवेशनको लागि अमेरिकाबाट केवल ७ भोट चाहिएको हो। यो बाटो केहिलाइ बिजय महोत्सव होला, लाग्ला तर चुनौती र नतिजा पहाड भएर आउने छ।-कृष्णार्पण !