-न्यूयोर्कमा नेपाली भौतिक शास्त्रीहरुको तीन दिने सम्मेलन सम्पन्न

न्यूयोर्कमा नेपाली भौतिक शास्त्रीहरुको तीन दिने सम्मेलन सम्पन्न

Hollywood Khabar July 24,2019 Comments

कृष्ण के सी/अमेरिका/७/२५/१९

अमेरिका र उत्तर अमेरिकामा रहेका नेपाली मूलका भौतिक शास्त्रीहरुको दोश्रो सम्मेलन अमेरिकाको न्यूयोर्कमा सम्पन्न भएको छ।

नेपाली मूलका भौतिक शास्त्रीहरुको संगठन (Association of Nepali Physicists in America-ANPA) ले जुलाई १९-२१, २०१९ मा आयोजित आफ्नो दोश्रो सम्मेलन सम्पन्न गरेको छ। अमेरिकाको न्यूयोर्क राज्यमा ANPA Conference 2019 सम्पन्न भएको कुरा आयोजक संस्थाले हलिउडखबरलाइ बिज्ञप्ति मार्फत जानकारी गराएको छ।

अमेरिका र बिशेष गरि उत्तर अमेरिकामा रहेका नेपाली मूलका भौतिक शास्त्रीहरुलाई संगठित गरी आफ्नो अध्ययन र अनुसन्धानको अनुभब आदान प्रदान गर्न, नेपालमा अनुसन्धानको लागि बौद्धिक एवं अन्य स्रोत उपलब्ध गर्न र नेपालबाट उच्च शिक्षा हासिल गर्न, अमेरिकामा आउने नेपाली बिद्यार्थीहरुलाई सहयोग गर्ने लगायतका उद्देश्यहरु लिएर सन् २०१८ मा यो संस्था स्थापना भएको कुरा बिज्ञप्तिमा उल्लेख गरिएको छ।

सँस्थाको हालै न्यूयोर्कमा सम्पन्न सम्मेलनमा अमेरिका, क्यानाडा, नेपाल, स्विजरलाण्ड एबं दक्षिण कोरियामा रहेका करीब ५० बैज्ञानिकहरु सहभागीता रहेको कुरा बताइएको छ। सम्मेलनमा उनीहरुले आफ्नो अनुसन्धानबारे सोधपत्र (Research Paper) प्रस्तुत गरेका थिए। सम्मेलनमा बिज्ञहरु प्रत्यक्ष्य उपस्थित भएर अथवा अन-लाइन मार्फत सहभागी हुन मिल्ने ब्यबस्था गरिएको थियो।

अन-लाइन सहभागीताको लागि WebEx र प्रत्यक्ष सहभागीहरुलाई न्यूयोर्कको ब्रुकलिन कलेज (Brooklyn College) मा ब्यबस्था गरिएको बताइएको छ। सबै प्रस्तुतिहरु WebEx र Facebook मार्फत प्रत्यक्ष्य प्रसारण समेत गरिएको बताइएको छ।

सम्मेलनमा न्यूयोर्क, वेस्ट भर्जिनिया, पेनसेल्भीनिया तथा म्यसाचुसेट्सबाट आएका भौतिक शास्त्रीहरुले आ-आफ्नो सोधपत्र प्रस्तुत गरेका थिए। भने Brooklyn College का भौतिक शास्त्र विभागका प्रमुख प्रोफेसर मिम लाल नकर्मीले अन्य ब्यबस्थापन गरेका थिए। त्यसैगरी सम्मेलनको संचालन New York University मा कार्यरत डा नरेश शाक्यले गरेका थिए।

सोहि अबसरमा न्यूयोर्क स्थित नेपाली महाबाणिज्यदूत पुष्पराज भट्टराईले नेपाल सरकारबाट भर्खरै सुरु गरिएको Brain Gain Center (BGC) को बारेमा बिशेष प्रस्तुति दिएका थिए। विदेशमा रहेका नेपाली विज्ञहरुको ज्ञान र शिपलाई नेपालको विकास र सम्वृद्धि्मा सहयोग पुर्याउन सरकारी तवर बाट BGC को सुरुवात गरिएको जानकारी दिंदै उक्त सेन्टरमा आबद्ध हुन अनुरोध समेत गरेका थिए।

सम्मेलनको दोश्रो दिन संस्थाको बार्षिक साधारण सभा सम्पन्न भएको बताइएको छ। उक्त सभामा संस्थाका सचिब डा सी आर भट्टले संस्थाको उद्देश्य, वर्ष भरि गरिएका सम्पूर्ण कार्यक्रमहरु र भविष्यको योजनाबारे प्रस्तुत गरेका थिए। सभामा प्राध्यापक मिम लाल नकर्मी, डा नरेश शाक्य, डा नबिन मालाकार, प्रदीप निरौला, यमुना पौडेल लगायतले मन्तब्य दिएका थिए। अन्तमा संस्थाका अध्यक्ष्य डा कृष्ण भट्टराईले संस्थाका गतिबिधिहरु बारे थप प्रस्ट पार्दै साधारण सभा बिशर्जन गरेको कुरा बिग्यप्तिमा उल्लेख गरिएको छ।

सम्मेलनको तेश्रो दिन भर्खरै पढाई सकेका अथवा निकट भविष्यमा पढाई सक्ने तरखरमा रहेका बिद्यार्थीहरुलाई करिअर केन्द्रित कार्यक्रमको आयोजना गरिएको बताइएको छ। सो कार्यक्रममा प्राध्यापक मिम लाल नकर्मी, डा राम ब थापा, डा पशुपति ढकालले सल्लाह दिएका थिए।

ANPA ले आफ्नो सस्थापना काल देखिने नै जुलाई महिनामा गर्दै आएको नेपाली बैज्ञानिकहरुको सम्मेलन नियमित रुपमा गरिने जनाएको छ। यस बाहेक Computer programming, मासिक रुपमा विभिन्न खोजमुलक सोधपत्र प्रस्तुत लगायतका कामहरु गर्दै आएको बताइएको छ।