-नेवा:गुठी न्यूयोर्कको आठौं महाधिवेशनले विजयमान सिंहलाई अध्यक्षमा निर्वाचित गरेको छ।

नेवा:गुठी न्यूयोर्कको आठौं महाधिवेशनले विजयमान सिंहलाई अध्यक्षमा निर्वाचित गरेको छ।

Hollywood Khabar September 22,2021 Comments

शनिवार न्यूयोर्कको क्वीन्स, ज्याक्सनहाईटस्मा सम्पन्न भएको आठौं महाधिवेशनले सिंहको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।गुठीको इतिहासमा पहिलो पटक लोकतान्त्रिक पद्दतिबाट नेतृत्व चयन भएको हो। निर्वाचन अघि सहमतिको प्रयास गरिए पनि अन्तत:निर्वाचनबाटै नेतृत्व चयन गरिएको निर्वाचन प्रमुख एवं गुठीका संस्थापक समिर महर्जनले जानकारी दिनुभयो ।

नयाँ कार्यसमितिमा राजेन्द्र महर्जन बरिष्ठ उपाध्यक्ष, राजन कर्माचार्य उपाध्यक्ष र सन्तोष महर्जन महासचिवमा निर्वाचित हुनुभएको छ। त्यस्तै सचिवमा रामकृष्ण महर्जन तथा कोषाध्यक्षमा हृदय तुलाधर चयन हुनुभएको छ। महाधिवेशनले सदस्यहरुमा मिन लाल नकर्मी, अशोक श्रेष्ठ, राजेन्द्र श्रेष्ठ, निर्मल चित्रकार, पशुपति श्रेष्ठ, सजना महर्जन, कविना महर्जन, सरिता श्रेष्ठ र विरेन्द्र मानन्धरलाई चयन गरेको छ।

गुठीको नेतृत्वका लागि विजयमान सिंह र सुवर्ण शाक्यबीच प्रतिस्पर्धा भएको थियो। कार्यक्रममा गुठीका निर्वतमान अध्यक्ष निर्मल प्रधानले कोरोना महामारीका बीचमा पनि गुठीले संस्थाको हितका लागि विभिन्न क्रियाकलाप गरेको जानकारी दिनुभयो। उहाँले संस्थालाई थप सशक्त बनाउँदै भाषा, संस्कृति र परम्परा संरक्षणका लागि सबैले आआफ्नो ठाउँबाट भूमिका खेल्नु पर्ने बताउनु भयो।

त्यस्तै नवनिर्वाचित अध्यक्ष सिंहले गुठीलाई सहमतिकै आधारमा अघि बढाउने भन्दै सबैले हातेमालो गरेर अघि बढ्नु पर्ने बताउनु भयो।उहाँले संस्थाको हितका लागि आफूले सक्दो प्रयास गर्ने भन्दै भाषा, संस्कृति र परम्पराको रक्षाका साथै न्यूयोर्कमा नेवा: गुठीको उपस्थितिलाई अझै थप सक्रिय बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा निर्वाचन समितिका संयोजक एवं गुठीका पूर्व अध्यक्ष समिर महर्जनले नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गर्दै सहमतिका साथ अघि बढ्न शुभकामना दिनुभयो। उहाँले नेवा:गुठीलाई लोकतान्त्रिक विधिबाट अघि बढाउनु सकारात्मक पक्ष भएको भन्दै चुनावलाई हारजीतको रुपमा नलिन आग्रह गर्नु भयो।

उहाँले लोकतान्त्रिक विधिले संस्थालाई थप मजबुत बनाउने भन्दै सबैले गुठीको हितमा काम गर्नु पर्ने बताउनु भयो। विके नेवा: को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कार्यक्रममा गुठीका सल्लाहकार न्हुछे डंगोल, पूर्व अध्यक्षहरु आदित्य महर्जन, समिर महर्जन, धर्मेन्द्र गोपालीको विशेष उपस्थिति तथा निवर्तमान अध्यक्ष निर्मल प्रधानको अध्यक्षतामा सम्पन्न भएको थियो। त्यस्तै कार्यक्रममा संस्थापक सदस्य कुमार खड्गीको उपस्थिति रहेको थियो भने अन्जना श्रेष्ठको विशेष मन्तव्यका साथै मीन नकर्मीको विशेष धन्यवाद रहेको थियो। कार्यक्रममा कविना महर्जनलाई विशेष सम्मान गरिएको थियो ।

नेवा:गुठी न्यूयोर्क सन् २००७ मा स्थापना भएको सामाजिक संस्था हो। स्थापनाकालदेखि नै यस संस्थाले सांस्कृतिक परम्पराको संरक्षण तथा प्रवद्र्धन गर्दै आइरहेको छ। यो संस्थाले अमेरिकाका विभिन्न स्थानमा रहेका नेवा: समुदायका मानिसहरुलाई एकै परिवारको छातामुनी एकीकृत गरी नेवा: संस्कृति तथा परम्पराको प्रवद्र्धन गर्ने गरेको छ।

त्यस्तै नेवारी सांस्कृतिक सम्पदा, धर्मको संरक्षण गर्ने तथा नेवा:मुसदायमा सांस्कृतिक तथा धार्मिक कार्यक्रमको आयोजना गर्ने तथा नेवास् समुदायभित्रका मनिसहरुबीच राम्रो सम्बन्धको विकास गरी सहकार्य बढाउने कार्य पनि गर्दै आएको छ। समुदायका सदस्यहरु जहाँ भए पनि परेको बेलामा सहयोग गर्ने, सांस्कृतिक तथा परम्परालाई जोगाउने कार्यक्रम तथा आर्थिक सामाजिकस्तर उकास्ने किसिमका कार्यक्रमको आयोजना गर्ने गरेको छ।

त्यस्तै संस्थाले हरेक वर्ष विभिन्न सांस्कृतिक तथा सामाजिक कार्यक्रमहरुको आयोजना गर्दै आएको छ। जस्तैस् म्ह:पूजा, वनभोज कार्यक्रम, कयेटा पर्व, इही समारोह आदी रहेका छन्। यसले नेपाल सम्वतको अवसरमा न्यूयोर्कमा विशेष कार्यक्रम आयोजना गर्ने गरेको छ। त्यस्तै यसले अमेरिका र नेपालमा विभिन्न क्षेत्रमा समस्यामा परेका व्यक्तिहरुलाई सहयोग एवं विभिन्न सामाजिक क्षेत्रमा आर्थिक सहयोग गर्ने गरेको छ।