नियती,बाध्यता र विवशताहरु-"कविता"

Hollywood Khabar July 22,2017 Comments


शर्मिला पोखरेल/बिराटनगर
उदाउने हरेक रक्तिम बिहानिहरुलाई
स्वागत गर्नै परेको छ नतमस्तक भएर
नमस्कार गर्नै परेकोछ आगत दिनहरुलाई!
उत्साहको छिटाभर रंग नपोतिएका भए पनि
उमंगको रतिभर तरंग नछ्चल्किएको भए पनि
आस्थाको अलिकति आभास सम्म नभए पनि--- !!
नव आगन्तुकलाई स्वागतको
औपचारिकता जनाउनै परेको छ
नयाँ दिनलाई अभ्यागतको
न्यानो अंगालोमा बेस्सरी कस्नै परेको छ....!!!
चाहे खुसिले होस् चाहे करकापले नै
नंया बिहानिको आगमन सकार्नै पर्छ
आघी ब्याधी जे जति लिएर आए पनि
उसको सुस्वागतमा हात मसार्नै पर्छ....!!!!
नियती स्विकार्नै पर्छ हामीले शायद
विडम्बना स्विकार्नै पर्छ सबैले शायद
परिस्थितिका दास मानिस हामीले
असामान्जस्यताका रास अघि निउरिनुपर्छ
भेलमा सोहोरिनु पर्छ
बाढिमा डुब्नु पर्छ
आधिमा रुझ्नु पर्छ....!!!!!
ओठमा आहा र अन्तरमा डाहा बोकेर भए पनि....
जीवन उभ्याउन उभिनु पर्छ
जुझ्दै,भिड्दै अव्यवस्थाहरु सङ्ग थिल्थिलिएर पनि बाच्नु पर्छ
आस्थाको आगनमा तुषारापात परे पनि
आकांक्षाका बगैंचामा हिमपात भए पनि
उत्कण्ठका विरुवाहरु गोडमेल गर्नै पर्छ
जानीजानी अन्जान बन्दै अबसानको खाडल खन्नै पर्छ
आँसु पुछ्नै पर्छ,भाका तान्नै पर्छ
बिगतलाई बिर्सिएर आउने दिनलाई स्विकार्नै पर्छ....!!!!!!
ओठमा आडम्बरी हासो देखाएरै भए पनि
नयाँ बिहानिलाई अंगिकार गर्नैपर्छ!
आँसु र हासो जीवन सिक्काका
दुई अविभाज्य पाटा हुँदा हुँदै पनि
सुखमा मात्तिने र दुखमा आत्तिने
मानव प्रवृतिले अठ्याइरहन्छ अरठ्ठ अनि...!!!!!!!!
बग्छ जीवन खोला भएर ओरालो
बग्दै जान्छ अनन्ततिरको यात्रा एकोहोरो
धेरै धेरै नयाँ दिनहरुमा उकुसमुकुसिदै
अनि सघन रातहरुमा निस्सासिदै
यात्रा बडिरहन्छ उमेर खिइरहन्छ
अनि विवशतावश कलेटी परेका ओठहरु
हरेक नयाँ बिहानको स्वागतमा फिस्स मुस्कुराइरहन्छ.....
फिक्का हासो,निरास मुस्कान फुस्काइरहन्छ,फुस्काइरहन्छ !!!!!!!!