प्रेस-विज्ञप्ति
आदरणिय साथिहरू
जय नेपाल !
करिब दुईदशक पछि हाम्रो देश नेपालमा हुन लागेको स्थानीय चुनावको मुखैमा आईपुग्दा मुलुकको विभिन्न क्षेत्रहरूमा लोकतन्त्रका धरोहर, नागरिक सर्वोच्चताको पक्षधर, जिम्मेवार राष्ट्रवादी पार्टी नेपाली काँग्रेसका नेता तथा कार्यक्रताहरूलाई नेकपा एमालेका कार्यकर्ताहरूले गरेको दुर्व्यवहार र आक्रमण प्रति हाम्रो गम्भीर ध्यान आकर्षण भएको छ। लामो समय पश्चात नेपाल देशमा हुनलागेको यो स्थानीय चुनावमा सबै राजनीतिक दलहरू सहभागि भएर शान्तिपुर्ण ढंगले निर्वाचन सम्पन्न होस भन्ने हामी प्रवासमा बस्ने सारा नेपालीहरूको असीम चाँहना र कामना हो। त्यसैले सर्वप्रथम सबै राजनीतिक पार्टीहरूलाई अत्यन्तै संयमित भएर जिम्मेवार, विवेकशील र शान्तिपूर्ण ढंगले यस निर्वाचनलाई सफल बनाउनका निमित्त प्रस्तुत भईदिनहुन हार्दिक बिनम्र आग्रह गर्दछौं ।
अहिले मुलुकले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई अँगाल्दै, लोकतान्त्रिक संविधानको निर्माण गरिसकेको छ । यो व्यवस्थामा व्यक्तिगत स्वतन्त्रता, नागरिक सर्वोच्चता र मौलिक अधिकारको कहिल्यै हनन हुदैन । यो शासन प्रणालीले भिन्न मत र विचारको उतिकै सम्मान र कदर गर्दछ । विचारको विविधता नै लोकतन्त्रको सौदर्य हो । विचारको प्रतिस्पर्धाले नै यस शासन व्यवस्थालाई जीवन्त राख्दछ। यसलाई हामी सबैले स्विकार गरिसकेकाछौं।
तर यीनै व्यवस्थाको धज्जी उडाउँदै निरंकुशशैलीमा हिजो काठमाण्डौमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं नेपाल सरकारको स्वास्थ्य मन्त्री माननीय गगन कुमार थापालाई एमालेका कार्यक्रताहरुद्धारा गरेको अनैतिक व्यवहार र आक्रमण प्रति नेपाली जनसम्पर्क समिति अमेरिका घोरभर्त्सना गर्दछ।
यसरी नै सिलसिलाबद्ध रूपमा एमाले द्धारा अन्य जिल्लाका नेपाली काँग्रेसकासाथिहरू माथि गरेको दुर्व्यवहार र आक्रमणका साथै केहिदिन अघि मुस्ताङ जिल्लामा नेकाको केन्द्रीय सदस्य एवं वाणीज्यमन्त्री माननीय रोमी गौचन थकालीलाई ढुंगा प्रहार गरी आक्रमण गरेको तथा नेकाको केन्द्रीय सदस्य एवं बन तथा भू-संरक्षणमन्त्री माननीय शंकर भण्डारीलाई आफ्नै गृह जिल्ला तनँहुमा दुर्व्यवहार गरी आक्रमण गरेको प्रति पनि नेपाली जनसम्पर्क समिति अमेरिका घोर निन्दा र भर्त्सना गर्दछ ।
यी र यस्ता कुरालाई नियाल्दा एमाले लोकतन्त्र प्रति स्खलित बन्दै गएको कुरा प्रष्ट बुझिन्छ । यसले भिन्न विचार र पार्टीलाई स्विकार्न नचाँहेको कुरा प्रस्ट्याउदैछ। जसले गर्दा मुलुकमा लामो समय पछि प्राप्त गरेको उपलब्धि, व्यवस्था र संविधानलाई कार्यान्वयन र व्यवस्थापन गर्नका लागि हुदैगरेको यो स्थानीय निर्वाचनलाई ठुलो अवरोध पुग्दैछ।
त्यसैले सम्पूर्ण देश विदेशमा रहेका आम नेपाली नागरीकलाई शान्तिपूर्ण ढंगले चुनाव गराइ प्राप्त उपलब्धिलाई जोगाउँनका लागि संविधान कार्यान्वयनको पक्षमा सबै राजनीतिक पार्टीहरूलाई एकजुट बनाउँनका लागि दबाव सृगना गर्न नेपाली जनसम्पर्क समिति अमेरिका हार्दिक अनुरोध गर्दछ ।
धन्यवाद, जय नेपाल!
मुनिन्द्र नेम्बाङ
महासचिव
नेपाली जनसम्पर्क समिति अमेरिका
सिफारिस
व्यासका अध्येता न्यौपानेको अशून्यम् लोकार्पण
झापाको बिर्तामोडमा चैत्र १२ गते टुबोर्ग होलि हङ्गामा हुने
बागलुङ सेवा समाज र बलेवा समाज अमेरिकाको संयुक्त आयोजना, न्यूयोर्कमा चै...
कम्युनिष्टको आदेशले फसेका गृहमन्त्री लामिछाने संचार क्षेत्रको बिरोधले...