-NJSS USA President Mr Anand Bist

जनसम्पर्क समिति अमेरिकाको अधिवेशन-निर्वाचन मार्च २०२० सम्म हुन्छ-सभापति बिष्ट

Hollywood Khabar September 02,2019 Comments

कृष्ण के सी/अमेरिका/९/३/१९

नेपाली जनसम्पर्क समितिहरुको हुन् बाँकी अधिवेशन र निर्वाचन आगामी ६ महिना भित्रमा सम्पन्न गर्न नेपाली काँग्रेसले निर्णय गरेको छ।

सेप्टेम्बर २-३, २०१९ मा भएको नेपाली काँग्रेस पार्टी केन्द्रिय समितिको निर्णय अनुसार विदेश स्थित रहेका नेपाली जनसम्पर्क समितिहरुको अधिवेशन र निर्वाचन अध्याबधिक कार्यसमिति मार्फत गर्न निर्णय भएको छ। सो कुरा नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति तथा नेपाली कांग्रेसका आमन्त्रित केन्द्रिय सदस्य आनन्द बिष्टले हलिउडखबरसंगको कुराकानीमा जानकारी दिएका हुन्।

अब निर्णय भैसकेको छ, आज प्रवक्ताले निर्णय सार्वजनिक गर्नुहुनेछ। त्यसपछि निर्देशन आउँछ, त्यो निर्देशन अनुसार तयारी गर्दै अधिवेशनको र निर्वाचन तोकिएको समयमै सम्पन्न गरिनेछ। मोटामोटी रुपमा हेर्दा आगामी मार्च २०२० सम्ममा अधिवेशन सम्पन्न भएर नयाँ नेतृत्व आउनेछ, बिष्टले भने।

नेपाली जनसम्पर्क समितिको अमेरिकामा 501C मा दर्ता भएको बिधान अनुसार अधिवेशन हुनेछ। पहिला च्याप्टर अधिवेशन र अन्तमा केन्द्रको अधिवेशन हुनेछ। यसका लागि कानुनी रुपमा अमेरिकामा रहेका नेपाली मुलका व्यक्ति जसले नेपाली काँग्रेसको आस्थालाई मान्दछन उनीहरुले नेपाली जनसम्पर्क समितिको सदस्यता लिन पाउनेछन। तर नेपाली काँग्रेस पार्टीको क्रियाशील सदस्यताको लागि आवेदन भने नेपाली नागरिकले मात्र भर्न पाउने छन।

सभापति बिष्टका अनुसार नेपाली मुलका व्यक्ति जसले अमेरिकी नागरिकता लिएका छन् उनीहरुले पनि नेपाली जसंपर्क समिति अमेरिकाको सदस्य बन्न र निर्वाचनमा उम्मेद्वार हुन पाउने छन। केवल क्रियाशील सदस्यता लिन मात्र नेपाली नागरिक हुनुपर्छ। तर जनसम्पर्क समितिको निर्वाचित व्यक्तिले पनि महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य हुन नपाउन सक्छन। क्रियाशील सदस्यले मात्र सो पद धारण गर्न पाउने हुनाले सो पाउन नेपाली नागरिक हुनुपर्छ।

अब के हुन्छ भन्ने जिज्ञासामा सभापति बिष्टले भने- पार्टीको निर्णयको निर्देशन कुर्ने, त्यसपछि जनसम्पर्क समितिको बैठक बस्ने र अधिवेशन संबन्धि आवश्यक निर्णय गरिनेछ। अधिवेशन अध्यावधिक कार्यसमितिले गर्नेछ, बिष्टले भने।