Hollywoodkhabar advertisement

एनआरएनए यूएईका उपाध्यक्ष शेर्पा र महासचिव दाहाल निलम्बित-माइन्यूट र पत्रसहित

-एनआरएनए यूएईका उपाध्यक्ष शेर्पा र महासचिव दाहाल निलम्बित-माइन्यूट र पत्रसहित
0
shares

काठमाडौं, जुलाई २१, २०२१

गैरआवासीय नेपाली संघ, यूएईले कार्य समितिका उपाध्यक्ष पासाङ शेर्पा र महासचिव निश्चल दाहाललाई पदबाट निलम्बन गरेको छ। एनसीसी यूएईले शेर्पा र दाहाललाई निलम्बन गरिएको कार्य समितिको निर्णयबारे संघका आइसीसी अध्यक्ष कुमार पन्तलाई जानकारी गराएको छ।

उपाध्यक्ष शेर्पा र महासचिव दाहालले कार्य समितिका केही सदस्यहरुको हस्ताक्षर अवैधानिक तवरले संकलन गरेको र हस्ताक्षर संकलनबारे सदस्यहरुले नै कार्य समितिमा उजुरी गर्दा त्यसको प्रयोजन पुष्टि गर्न नसकेको कार्यबाहक अध्यक्ष निरन्जन सिलवालले जानकारी दिएका छन्।

सदस्यहरुको उजुरीपछि कार्य समितिको बैठक बसेको थियो भने प्रयोजन खुलाउन दुवै पदाधिकारीहरुलाई समय दिइएको थियो।तर, दुवै पदाधिकारीहरुले अधिवेशनको प्रयोजनका लागि हस्ताक्षर लिइएको जवाफ दिएका थिए । कार्य समितिको निर्णय बिना नै सदस्यहरुको हस्ताक्षर किन संकलन गरियो ? भन्ने प्रश्नको जवाफ भने उनीहरुले दिन सकेनन्।

सोही विषयमा छलफल गर्न सोमबार (जुलाई १९) मा आयोजित कार्य समितिको बैठकमा पनि ती पदाधिकारीले उपयुक्त जवाफ नदिएको र उल्टै बैठकमा हल्ला खल्ला गरी अवरोध सिर्जना गर्न खोजेकोले तत्कालैदेखि लागू हुने गरी निलम्बन गरिएको कार्यबाहक अध्यक्ष सिलवालले आइसीसीलाई लेखेको पत्रमा उल्लेख छ ।

कार्य समितिका सदस्यहरु मान खाती, शम्भु पोखरेल र रमेश ढकालले आफूहरुबाट उपाध्यक्ष शेर्पा र महासचिव दाहालले लिएको हस्ताक्षर खारेजीको माग गर्दै एनसीसीमा निवेदन दिएपछि शेर्पा र दाहाल विवादमा तानिएका हुन् ।

शेर्पा दोश्रो पटक कारबाहीमा

सन् २०१९–२०२१ का लागि उपाध्यक्ष चयन भएका शेर्पा निलम्बनमा परेको यो दोश्रो पटक हो। पाँच महिना अघि पनि उनी निलम्बनमा परेका थिए ।

कोभिडबाट प्रभावित कामदारहरुका लागि आइएलोको सहयोगमा एनआरएनले सन्चालन गरेको सहयोग, राहत तथा पुनस्थापना परियोजनामा अनियमितता गरेको भन्दै युएईका अध्यक्ष प्रकाश कोइराला र उपाध्यक्ष पासाङ शेर्पा कारबाहीमा परेका थिए ।

अध्यक्ष प्रकाश कोइरालालाई पूर्ण रुपमा दोषी ठहर्याई आइसीसीले उनलाई जरीवाना नै तिराउने निर्णयसहित निलम्बन अनुमोदन गरेको थियो भने शेर्पालाई भने निलम्बनबाट फुकुवा गरेको थियो। कोइराला हालसम्म पनि निलम्बित नै छन्। सोमबार बसेको एनसीसी यूएईको बैठकमा मध्यपूर्व उपसंयोजक, कार्य समितिका सल्लाहकारहरु, आइसीसी सदस्यहरुको समेत सहभागिता रहेको थियो।

निर्वाचन समिति गठन

कार्य समिति बैठकले एनसीसीको अधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आइसीसी सदस्य ठाकुरप्रसाद ढुंगानाको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ । समितिको सदस्यमा मणि भुर्तेललाई मनोनयन गरिएको छ भने बाँकी एक सदस्य पछि मनोनयन गरिने जनाइएको छ ।

त्यसैगरी बैठकले एमआइएस प्रणालीबाट संघको सदस्यताका लागि आवेदन गरेका मध्ये १ हजार ८ सय ८७ जनाको पञ्जीकृत सदस्यता स्वीकृत गरेको छ । यिनै मध्येबाट दश जना बराबर एक जनाको दरले महाधिवेशन प्रतिनिधि चयन गर्ने निर्णय पनि कार्य समितिको बैठकले कार्यवाहक अध्यक्ष सिलवालले जानकारी दिएका छन् ।

कार्यसमितिले आफ्ना निर्णयबारे अध्यक्ष पन्तसहित महासचिव हेमराज शर्मा, मध्यपूर्व संयोजक प्रवीण गुरुङ, उपसंयोजकद्वय मनोज श्रेष्ठ र जोन अर्याललाई पनि जानकारी गराएको छ। एनआरएनए आइसिसीको निर्णय अनुसार यही जुलाई ३१ भित्र सबै एनसीसीहरुले अधिवेशन गरिसक्नुपर्नेछ।

ADVERTISEMENT-----