-नवौँ गैरआवासीय नेपाली विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन असोज २८–३० गतेसम्म (१५–१७ अक्टोबर २०१९)

नवौँ गैरआवासीय नेपाली विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन असोज २८–३० गतेसम्म (१५–१७ अक्टोबर २०१९)

Hollywood Khabar October 13,2019 Comments

मिति : २०७६/०६/२७

नवौँ गैरआवासीय नेपाली विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन असोज २८–३० गतेसम्म (१५–१७ अक्टोबर २०१९)

गैरआवासीय नेपाली संघ यतिखेर नवौँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने चरणमा छ ।

विदेशमा छरिएर रहेका गैरआवासीय नेपालीहरूलाई संघको संजालमा गोलबन्द गर्दै नेपालीका लागि नेपाली अभियान अघि बढाउन संस्थागत संरचनाले सहयोग गरिरहेको छ । सन् २००३ देखि २०१९ सम्म आइपुग्दा नेपालीहरूको उपस्थिति भएका ८० भन्दा बढी मुलुकमा संघको राष्ट्रिय समन्वय परिषदहरू गठन भएर अभियानमा सकृय छन् ।

विदेशमा रहनु भएका दिदीबहिनी दाजुभाई र दोस्रो पुस्ताका गैरआवासीय नेपालीहरूमा समेत नेपालको समृद्धिमा क्षमता अनुसारको भूमिका निर्वाह गर्ने गहिरो चाहना र आत्मविश्वास देख्दा सन् २००३ मा हामीले देखेको त्यो सपना साकार भएको महसुस गरेका छौँ। लामो राजनीतिक, सामाजिक संक्रमणको अन्त्यपछि मुलुकले नयाँ संविधान मात्रै पाएको छैन काँचुली नै फेरेको छ, समृद्धिको यात्रा सुरु गरेको छ । यस ऐतिहासिक समयमा हुन गइरहेको गैरआवासीय नेपाली विश्व सम्मेलनलाई हामीले विशेष महत्वका साथमा लिएका छौँ। देशका सबै राजनीतिक दलहरू, सरकारी र गैरसरकारी संघसंस्था सहित सिङ्गो देश नै

समृद्धिको नविन यात्रामा जुटेको अवसरमा हामीले पनि सहकार्य गर्ने मौका पाएका छौँ, जसले हामीलाई मातृभूमिप्रति थप अपनत्व र जिम्मेवारीबोध गराएको छ । संसार भरि छरिएर रहेका हामी सबै नेपालीहरू एकैसुत्रमा समाहित भई उत्साहका साथ हातमा हात मिलाएर सबै हात एकै साथ भन्ने मूल भावका साथ नेपालको समृद्धिको यात्रामा जोडिएका छौँ । यो सम्मेलनले नेपालको यसै समृद्धिको यात्रामा दिशानिर्देश हुने एजेण्डामा बृहत छलफल गरी महत्वपूर्ण निष्कर्ष निकाल्नेमा हामी विश्वस्त छौँ ।

नवौँ विश्व सम्मेलनले सबै गैरआवासीय नेपालीलाई एकताबद्ध गराई सहकार्य र सकारात्मक कार्य गर्न उर्जा प्रदान गर्दै ‘नेपालीका लागि नेपाली’ भन्ने मूल मन्त्रलाई सार्थक साबित गराउने अपेक्षा राखेका छौँ । “म, मेरो एन आर एन ए र मेरो नेपाल“ मूल विषयमा आधारित भएर यस वर्षको नवौं गैरआवासीय नेपाली विश्व सम्मेलन तथा गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय महाधिवेशन २०७६ असोज २८–३० गतेसम्म अर्थात १५–१७ अक्टोवर २०१९ मा काठमाडौंमा आयोजना गरिने भएको छ । यस वर्षको विश्व सम्मेलन पनि विगतमा झैं नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासंघ र गैरआवासीय नेपाली संघको संयुक्त आयोजनामा हुन गइरहेको छ । सम्मेलनको समुउद्घाटन सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुहुनेछ भने समापान सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुनेछ।

उक्त सम्मेलन आयोजनाका लागि नेपाल सरकार परराष्ट्र मन्त्रीज्यूको अध्यक्षतामा एक उच्चस्तरीय आयोजक समितिको गठन भइसकेको छ । उक्त आयोजक समितिमा नेपाल सरकारका प्रतिनिधिहरु र सरोकारवाला संघ संस्थाका अध्यक्षहरू रहनु भएको छ । यसैगरी संघको आन्तरिक आयोजक समिति संघका अध्यक्ष भवन भट्टको अध्यक्षतामा गठन भएको छ । सम्मेलनको मूल विषय “म, मेरो एन आर एन ए, र मेरो नेपाल“ मा आधारित भएर विभिन्न महत्वपूर्ण सत्रहरू चल्ने छन् । सम्मेलनमा नेपाल सरकार, राजनीतिक दल, उद्यमी व्यवसायीहरू, मुलुकको उद्योग व्यवसाय र आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने नागरिक समाज, समाजसेवी र सञ्चारकर्मीहरुको सहभागिता रहने छ ।

सम्मेलनमा ८१ मुलुकका गैर आवासीय नेपाली प्रतिनिधिहरु, स्वदेशी विदेशी सहभागीहरु गरी करिव २ हजार ५ सयको सहभागिता रहने छ । यस वर्ष संघको नयां नेतृत्व समेत चयन हुँदैछ । सम्मेलन काठमाडौको होटेल हायात रिजेन्सीमा आयोजना गरिने कार्यक्रम छ । यस सम्मेलनलाई भव्य र सभ्य रुपमा सफल बनाउन तपाई सञ्चारकर्मी साथीहरुको महत्वपूर्ण सहयोगको अपेक्षा हामीले गरेका छौं । साथै सम्मेलनमा सहभागी हुन आउने सम्पूर्ण सहभागीहरुको सक्रिय र गुणस्तरीय सहभागिताका लागि समेत हामी सबैमा हार्दिक अनुरोध गर्दर्छौ ।

भूषण घिमिरे

प्रवक्ता

अन्तर्राष्ट्रिय समन्वय परिषद्, गैरआवासीय नेपाली संघ ।