-NRNA Founder President Dr Upendra Mahato and former president Shesh Ghale

एनआरएनमा चरम रुपमा पुग्यो छवि र लवी, क्लासिक रसियन गुट या संस्थागत विकास

Hollywood Khabar September 24,2017 Comments

कृष्ण के सी, अमेरिका

  • पहिलो पटक पोष्ट २ अक्टुवर २०१५
  • दोश्रो पटक पोष्ट २५ सेप्टेम्बर २०१७
  • तेश्रो पटक पोष्ट, अक्टुवर २, २०२१

मैले गैरआवासीय नेपाली संघका बारे लेख्न थालेको ११ बर्ष भएछ। यो बीचमा २०१५ र २०१७ मा लेखेको बिषय आज पुन लेख्नुपर्ने भयो। २०१५ मा रसियन गुटको र तत्कालिन अध्यक्ष शेष घलेको सँस्थागत बिकासको लागि प्रतिस्पर्धा भएको थियो। घलेको दोश्रो कार्यकाल सम्पन्न हुन लाग्दा जमुना गुरुङ अध्यक्षको लागि आकांक्षी भइन। फेरी उही कुरा दोहोरियो। २०१९ को चुनावमा रसियन गुट विभाजित थियो तर मिश्रित राजनैतिक रुपले केहि स्थान पायो।

२०१७ मा भएको एनआरएनहरुको ८ औं बिश्व सम्मेलन नजिकै आउदा गैरआवासीय नेपाली संघको नेतृत्वको कुर्सिमा को बस्ने भन्ने ठुलो सड्यन्त्रपूर्ण चलखेल सुरु भएको थियो। तत्कालिन अध्यक्ष शेष घलेको दोस्रो कार्यकाल समाप्त हुने समयमा घलेको सक्सेसर को हुने भन्ने भन्दा पनि एनआरएनएलाई कसले दास बनाउने भन्ने प्रवृतिको विकास भएको थियो। जसको कारणले गुट बन्दीको चरम शिखरमा पुगेको एनआरएनए फेरी सिण्डिकेटको पन्जामा फस्यो।

अध्यक्ष शेष घलेले चार बर्ष सम्म आफ्नो गोजीको पैसा र गैरआवासीय नेपालीहरुको चन्दा दानले दिएको पैसाले एनआरएनएलाई ३ करोड नेपालीको मन मन्दिरमा आशा र भरोशाको केन्द्र बिन्दु बनाएका थिए। एनआरएन फेरि पनि सिण्डिकेटको रुपमा केही सुकिला मुकिला व्यक्तिहरूको चंगुलमा फसेर मुठ्ठी भरका ठुला बडाको कमाई खाने भाडो हुने सम्भावना बढेर गएको थियो।

एनआरएनएको विधानले २ कार्यकाल भन्दा धेरै एकै पदमा निर्बाचित हुने ब्यबस्था नभएकोले तत्काललीन अध्यक्ष शेष घलेले आफुले सुरु गरेका कामहरु पुरा गर्न नपाउदै उनको कार्यकाल समाप्त भयो। दुवै कार्यकालमा लोकतान्त्रिक पद्धतिबाट निर्वाचित भएका घलेको कार्यकालमा एनआरएनएको उचाई शिखरमा पुगेको थियो। हरेक नेपालीको दु:खको साथ एनआरएनए बनेको प्रमाणित गरेकका थिए। तर घलेको बिदाईसंगै उनले सुरु गरेका मेगा योजनाहरु लामो समय सम्म अलपत्र परे। एनआरएनएको आफ्नो भवन र भुकम्प पिडितलाई निर्माण गरिने एनआरएनका नमुना बस्तीका ५०० घरहरु बन्लानकी नबन्लान भन्ने शंकाको घेरामा सबै थिए।

एनआरएन अब ठुलो संस्था भइसकेको छ। त्येसैले यसलाई एउटा सानो एनजीओको जस्तो बनाएर सिमित व्यक्तिको पन्जाभित्र नबनाई विश्वको ८ दशक मुलुकमा रहने लाखौँ लाख नेपालीहरुको साझा संस्था बनाउन पर्दछ भन्ने हेतुले शेष घलेले सामुहिक नेतृत्वको विकास र संघको धरातलीय बिकासको लागि भिजन २०२० एण्ड बियोण्डको अवधारणलाई एनआरएनए ९ औं क्षेत्रीय सम्मेलनमा बिष्तृत छलफल भएको थियो। यो नै रसियन चंगुलबाट निकालेर संघलाइ सँस्थागत बिकासमा लाग्ने पाटो थियो।

सबै सदस्य राष्ट्र एनसीसीहरुलेको मुख्य भाग (आइसीसी) रहने गरी संयुक्त राष्ट्रसंघको ढाँचामा एनआरएनएलाई विकास गरी सबै संरचनालाई बिष्तृत गर्ने योजना र कार्यक्रम “भिजन २०२० एण्ड बियोण्ड” रहेको घलेले सधै बताउदै आएका थिए र छन। तर बिरोधिहरुको आरोपले गर्दा घलेले त्यसलाई पास मात्र गराउन सके। उसो त उनलाई जातभातको नाममा चलायो भन्ने ठुलो आधार नभएको आरोप लगाउने पनि थिए। आरोप लगाउनेहरुले संघलाई परम्परागत भावनात्मक रुपमा संचालन गर्ने तर संघको संरचनालाई जस्ताको तस्तै राख्ने भन्ने अडिकमा बसेका थिए र छन। यसको परिणाम नै २०१९ का डा हेमराज शर्मा र गौरी जोशीहरु हुन्।

एनआरएनएलाई कमाई र ठगी खाने माध्यम बनाउन आलो पालो प्रथाको विकास गर्ने सोचमा रहेका उपाध्यक्षद्वय भबन भट्ट र कुमार पन्त रहेको देखिन्थ्यो। दोस्रो कार्यकालका उपाध्यक्ष रहेका भबन भट्ट कुमार पन्तका नजिकको नातेदार रहेकोले एकले अर्कोलाई सघाउने आलो पालोबाट एनआरएनएको नेतृत्वमा पुग्ने अति भद्र सहमति हुन पुग्यो। भट्टलाई आगामी कार्यकालको लागी पन्तले धेरै सहज बनाई दिएका थिए। तर पन्तको स्थान के हुने भन्ने भट्टले अझै निर्धारण गरेका थिएनन्।

भट्टले पन्तलाई सेफ ल्यानडिङ्ग गर्न सक्दछन वा सक्दैनन भन्ने दुविधा थियो। तर एनआरएनएको निर्बाचन सम्म पुग्दा भट्ट दोश्रो कार्यकालमा जान पाएनन। माथिल्लो तामाकोसी प्रोजेक्टमा कुरा नमिलेपछि केपी ओली शरकाराले उनलाई उछिट्याइ दियो, कुमार पन्त बने अध्यक्ष।

एनआरएनमा भट्टले आज सम्म म कुनै पार्टी बिशेषमा सम्बन्ध राखेको छैन भन्दछन। नेपालको राजनीति देखि धेरै टाढा रहेको न्युट्रल व्यक्ति भन्ने गरेका थिए। तर उनलाई सधै नेपाली कांग्रसको भातृसंगठन नेपाली जनसम्पर्क समिति र कांग्रसी नेताहरुको पुरा साथ सहयोगको भर हुनपुग्यो। एनआरएनका सबै निर्बाचन जित्दै आईरहेका थिए उनि। तर २०१९ मा भने कुमार पन्तले आफ्नो नातेदारको संगतले एमाले नेता सुरेन्द्र पाण्डे, भिम रावल र केपी ओलीको शक्ति लगाएर भट्टलाइ दोश्रो कार्यकालमा जना रोके। राप्रपाको कमल थापा र केपी ओलीको पाउमा पुगेता पनि भबन भट्टलाइ २०१९ को निर्बाचन जितेर अध्यक्षको कुर्सीमा आसन हुन् सजिलो भएन।

२०१९ को निर्वाचनमा एनआरएनएमा ठुलो बर्चश्व भएको जनसम्पर्क समिति कोहि कुल आचार्यतिर त कोहि कुमार पन्ततिर पुगे। नेपालको राजनीतिक त्यो समय एमाले र कांग्रेसको ठुलो लडाई चलिरहेको थियो। त्येसैले कांग्रेस समर्थक जनसम्पर्कहरुले भट्टको बिकल्प खोजे। समयमा नै वामवाला हथौडा मारे एमालेवालले। एनआरएनएमा आफ्नो सिन्डिकेट कायम राख्न चाहने एकातिर थिए। बहिस्कार गरेका संस्थापक अध्यक्ष डा महतो पनि मेरियाटमा भएको बैठकमा देखिएका नै हुन्। यथास्थिति भनौ या रसियन क्लासिक अग्रजहरु जुटेका थिए।

२०१७ मा भबन भट्टको गन्ध सम्म मन नपराउने जिबा लामिछानेले शेष घलेको बिरुद्धमा भबन भट्टलाई गुहार्न नपुगेका पनि होइनन। घलेले जातीबाद फैलाएको आरोप त थियो नै। भट्टसित मिल्नुको बिकल्प नरहेको बताई भट्टलाई आफ्नो प्रभावमा पारेको सबैलाई थाहा नै छ। पछिल्लो गठजोडले अर्को पाटो पनि देखाएको थियो। कुमार पन्त दोश्रो पटक उपाध्यक्ष हुने, कुल आचार्य र सपिला राजभण्डारीले टिम भरिएपछि यूकेमा उपाध्यक्ष उम्मेदवारी घोषणा गरेका सोनाम लामालाइ यूरोप पुग्दा-नपुग्दै जिल्ल पारेका थिए।

संघलाइ परंपरागत रुपमा अर्थात क्लासिक रुपमा भ्याकेशन नेपालको रुपमा एउटा गुटमै फर्काउने सोच पछिल्लो पटक भबन भट्टबाट स्वीकृति हुनुसंगै संस्थागत विकासलाइ ४ वर्षसम्म जोड दिएका अध्यक्ष घलेको योगदान हेर्दै २०१७ मा जमुना घले गुरुङलाइ अगाडी सारेका थिए। तर त्यसको परिणाम अर्कै भयो।

२०१९ मा डा महतो बहिस्कारको नाममा लुकेर गुट गरेको यो लेखनदासलाइ पनि स्पष्टै रुपमा थाहा छ। तर पनि मुखमा चाहिं पुर्वअध्यक्ष जीवा लामिछाने नै थिए। गठजोड मिल्यो कुमार पन्त अध्यक्ष भए तर उनलाई पनि भित्रको गुटले घुमाउन सम्म घुमायो। कहिले चर्पी बनाउन उकास्ने, कहिले मन नपरेका एनसीसी सखाप पार्न लगाउने त कहिले आइएलओमा हिनामिना गरेर दुख दिने।

अन्तमा पुग्दा इतिहासमा नै नभएको स्थितिमा मन्त्रालय सम्म पुग्यो एनअरएन। यति मात्र होइन पहिलो पटक प्याट्रन काउन्सिल एक्टिभ बनाइयो। अब बिधान अनुसार प्याट्रन काउन्सिलले स्थिति नियन्त्रणमा लिएर सहज रुपमा लैजाने विश्वास सबैको रहेको छ। तर पनि क्लासिक ग्रुप आफ्नो बर्चश्व कायम गर्न भएभरको शक्ति खर्च गर्दैछ। ठाडो रुपमा पत्र लेख्ने, भएनभएका बखेडा झिक्ने देखिका सबै प्रपन्च गर्दैछ। तर पनि आफ्नो कार्यकाल सफलापूर्वक सम्पन्न गर्न अध्यक्ष कुमार पन्तको शक्ति कता खर्च हुने हो त्यो हेर्न बाँकी छ। अझै पनि पुर्व अध्यक्ष घलेबाट सँस्थागत विकासका लागि गार्जेंशिप होस् भनेर अपेक्षा गर्नेहरु धेरै छन्।