-NRNA General Secretary Dr Hem Raj Sharma

गैरआवासीय नेपाली संघका अगाडी उभिएका प्रश्न र अग्रगामी एजेण्डाहरु, महासचिव डा शर्मा

Hollywood Khabar August 28,2020 Comments

यहाँ पोष्ट गरिएका प्रश्नहरु गैरआवासीय नेपाली संघका महासचिव डा हेम राज शर्माको फेसबुकबाट साभार गरिएको हो। उहाँको जिज्ञासा बहसमा पुगोस भन्नका खातिर यहाँ दुरुस्त रुपमा पोष्ट गरिएको छ।

कपि: ८/२९/२०

१) स्थापना भएको १७ वर्ष सम्म पनि किन एनआरएनए आम गैरआवासीय नेपाली बीच पुग्न सकेको छैन ? ६० लाख नेपाली बाहिर छन् भन्ने मान्ने हो भने जम्मा १.२५% गैरआवासीय नेपालीहरु मात्र संघका पञ्जिकृत सदस्य छन् । यी मघ्ये कति जना स्वस्फुर्त सदस्य बनेका छन् ? सदस्य बनाउन उम्मेदवारहरुको पकेट कति रित्तिन्छ ? एकेडेमिक क्षेत्रका गैरआवासीय नेपालीहरुले किन एनआरएनबाट टाढा छन् ? खाडीको नेपालीले किन एनआरएन भएको महसुस गर्दैन ?

२) संघमा दोश्रो पुस्ताका गैरआवासीय नेपालीको सहभागिता किन शुन्य छ ? महिला र युवाको सहभागिता किन नगन्य छ ?

३) एनआरएनएको नेतृत्वमा पुग्न किन व्यवसायी हुनु पर्छ ? एकेडेमिक वा पेशागत व्यक्ति किन पुग्न सक्दैनन् ?

४) संघमा राजनीति र पैसा किन हावी छ ? निर्वाचनमा किन राजनीतिक दलका नेताहरुले हायत होटलमा अड्डा जमाउँछन्? केन्द्रीय निर्वाचनमा कतिको पकेट भरिन्छ? एनआरएनमा दशौँ वर्ष योगदान गरेर उम्मेदवार बनेका (कुनै दलको सदस्यता नलिएका) कुमार पन्त र कुल आचार्यलाई यो वा त्यो दलको बिल्ला भिराएर हराउने वा जिताउने खेल किन खेलिन्छ ?

५) नेपाल सरकारलाई सभ्यताको पाठ सिकाउने हामीलाई हायत होटलमा किन प्रहरीले लाठी बर्साउनु पर्छ ?

६) सम्माननीय प्रधानमन्त्रीज्यू एनआरएन विश्व सम्मेलनमा अनुपस्थित हुनु पर्ने स्थिति किन आउँछ ?

७) राष्ट्रिय समन्वय परिषदमा शव उठाउनेदेखि गैरआवासीय नेपालीहरुको सुखदुखमा साथ दिने पदाधिकारीहरु (नेपाल जान नसकेकै कारणले) किन केन्द्रीय चुनावमा भाग लिनबाट वञ्चित हुन्छन् ?

८) प्रविधिको जमानामा बोरामा सदस्यता फाराम उठाएर ग्यारेजमा थन्काउने परिस्थिति किन बन्छ ? काठमाडौँमा मतदाता परिचयपत्र प्राप्त गर्न र मतदान गर्न किन घण्टौँ लाईनमा किन बस्नु पर्छ?

९) खाडीमा प्रत्येक दिन दुई नेपालीको मृत्यु हुँदा हामी किन मुखदर्शक छौँ? स्वदेश फर्केका नेपालीहरुको सीप किन सदुपयोग हुन सकेको छैन ?

१०) खाडीका कामदारले बचाएको थोरै पैसा लगानी गर्ने वातावरण किन बन्न सकेको छैन?

११) नेपालमा भुकम्म, बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपमा सहयोगका लागि संघका पदाधिकारीको पकेटबाट मात्र किन भरपर्नु परेको छ ?

१२) ग्लोवल वार्मिङ्ले नेपाललाई पारेको समस्या, सीमा विवादलाई किन अन्तर्राष्ट्रिय करण गर्न सक्दैनौँ?

१३) डा उपेन्द्र महतोले देख्नु भएको समृद्ध नेपाल बनाउने सपना र डा शेष घलेको United Nation of Nepalese बनाउने सपना साकार बनाउन सकौलाँ ? राजनीति र पैसाबाट एनआरएनए खुला रुपमा बलात्कृत हुँदा ‘द्रोपतीको चिरहरणमा भिष्म पितामह र गुरु द्रोण जस्तै’ किन विवश छन् पुर्व अध्यक्षहरु ? एनआरएनएको अस्तित्वमाथि प्रश्न खडा हुँदा अभियन्ताहरुलाई किन पोल्दैन ?

यी सबै प्रश्नहरु जुन यतिबेला तपाई सबैको मनमा जवाफको खोजीमा छन् तीको खोजीमा हामीले आमुल परिवर्तनको एजेण्डा अगाडी सारेका छौँ(सदस्यता देखि निर्वाचन पद्दती सम्म)। आउने चुनौतीमा खुला छलफल गरौँ, तर परिवर्तनका लागि खुट्टा नकमाऔ साथीहरु। हामीले नगरे कसले गर्छ? अहिले नगरे कहिले हुन्छ परिवर्तन ? Together we can- हामी मिलेर नै परिवर्तनको बिगुल फुक्ने हो त्यसैले मिलेर अघि बढौँ।