-NRNA:महासचिव डा बद्रि के सीको उपाध्यक्ष पदमा उम्मेदवारीको लागि घोषणा पत्र

NRNA:महासचिव डा बद्रि के सीको उपाध्यक्ष पदमा उम्मेदवारीको लागि घोषणा पत्र

Hollywood Khabar September 18,2019 Comments

गैरआवासीय नेपाली संघको उपाध्यक्ष पदमा उम्मेदवारीको लागि मेरो घोषणा पत्र

आदरणीय अग्रजहरु,

गैर आवासीय नेपाली संघका सहकर्मी मित्रहरु तथा प्रवासी दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक नमस्कार।

आफ्नो देश आफैंले बनाउनु पर्दछ र संसारको जुनसुकै कुनामा बसेपनि बिदेशमा बस्ने नेपालीको देशप्रतिको कर्तव्य र दायित्व अझ बढी हुनुपर्छ। यहि अभिप्रायले प्रेरित भएर देश संक्रमण कालमा गुज्रेकै वेला सन् २००३ अक्टोबरमा विश्वका १६ देशका प्रतिनिधिहरुको उपस्थितिमा पहिलो अधिबेशन सम्पन्न भएको थियो। नेपालीका लागि नेपाली भन्ने मुलमन्त्रका साथ स्थापना भएको गैरआवासीय नेपाली संघले १६ बर्ष पार गरिसकेको छ।

१६ वर्षको यो यात्रामा ८१ देशहरुमा राष्ट्रिय समन्वय परिषद स्थापना गर्न सफल भएको हाम्रो संगठन, संसार भरि छरिएर रहेका नेपालीहरुलाई आफ्नो पहिचान जोगाउने, मातृभूमिको समृद्धि र प्रगतिको लागि एकजुटहुने साझा चौतारीको रुपमा स्थापित भएको छ।

राजनीतिक तटस्थता अपनाउनु, वर्ण, रंग, लिंग, जात र समुदाय जस्ता साँघुरो परिधिबाट माथि उठनु र ८१ देशमा छरिएर रहेका नेपालीहरुलाई साझासंजालमा समेटेर एकताको विकाश गर्न सक्नु नै हाम्रो विशेषता तथा आकर्षण रहेको छ।

गत १६ वर्षको कार्यकालमा हाम्रो संगठनले गैरआवासीय नेपालीहरुको माझमा आफ्नो गरिमामय परिचय दिई आफ्नो औचित्य तथा अपरिहार्यता प्रदर्शन गर्न सफल भएकोछ। देशमा महाभूकम्पको वेलामा होस् अथवा बाढी-पहिरोले क्षति पुर्याएको अवस्थामा होस्, देश बिपतमा पर्दा संसारको बिभिन्न कुनाबाट तत्कालै उपस्थित भएर प्रत्यक्ष रुपमा राहत कार्य तथा स्वास्थ्य शिविरमा हाम्रो संलग्नतालाई नेपाली जनता तथा नेपाल सरकारले उच्च मुल्यांकन गरेको छ।

आदरणीयमित्रहरु;

संघको अवधारणा तैयार पार्दादेखि नै संस्थाका अग्रजहरुसंगको संगत तथा विभिन्न पदमा रहेर काम गर्न पाउनु मेरो लागि सबभन्दा ठुलो सौभाग्य हो। मैले अहिलेसम्म पाएको जिम्मेवारी यस प्रकार छ:

  • २०१५-२०१९ दुई कार्यकाल महासचिव, अन्तर्राष्ट्रिय समन्वय परीषद
  • २०१५-२०१९ दुई कार्यकाल कार्यसमिति अध्यक्ष, नीति निर्माण समिति, अन्तर्राष्ट्रिय समन्वय परिषद
  • २०१३-२०१५ कोषाध्यक्ष, अन्तर्राष्ट्रिय समन्वय परिषद
  • २०१३-२०१५ कार्यसमिति अध्यक्ष, आर्थिक सुदृढता समिति, अन्तर्राष्ट्रिय समन्वय परिषद
  • २०११-२०१३ केन्द्रीय सदस्य, अन्तर्राष्ट्रिय समन्वय परिषद
  • २०११-२०१३ कार्यसमिति अध्यक्ष राष्ट्रिय उत्पादन प्रवर्धन समिति, अन्तर्राष्ट्रिय समन्वय परिषद
  • २००९-२०११ केन्द्रीय सदस्य, अन्तर्राष्ट्रिय समन्वय परिषद
  • २००९-२०११ कार्य समिति अध्यक्ष राष्ट्रिय उत्पादन प्रवर्धन समिति, अन्तर्राष्ट्रिय समन्वय परिषद
  • २००९-२०११ निर्देशक, नेपाल भवन निर्माण समिति, मस्को रुस
  • २००९ देखि हालसम्म कार्यकारी निर्देशक नेपाल भवन,कालुगा रुस
  • २००७-२००९ महासचिव राष्ट्रिय समन्वय परिषद, रुस
  • २००३-२००७ साधारण सदस्य राष्ट्रिय समन्वय परिषद, रुस

शैक्षिक योग्यता

  • १९९६ इन्जिनिएर (बायो-टेक्नोलोजिस्ट), मस्को रुस
  • २००१ पी. एच. डी. (बायो-टेक्नोलोजी), मस्को रुस
  • २००९ EXECUTIVE MBA, Moscow state university of management

मित्रहरु;

गैरआबासीय नेपाली संघको स्थापनाकाल देखिनै यस संघको विभिन्न पदहरुमा कार्यरत रही छैठौं विश्व सम्मेलनबाट कोषाध्यक्ष र सातौं तथा आठौं विश्वसम्मेलनबाट महासचिवमा यहाँहरुले सुम्पनु भएको जिम्मेवारी अन्तर्राष्ट्रिय समन्वय परिषद्मा सफलतापूर्वक निर्वाह गर्न सकेकोमा म गौरवान्वित छु।

सबै कार्यकालहरुमा मलाई सल्लाह सुझाव दिनुहुने, मार्गदर्शन गर्नुहुने संपूर्ण अग्रजहरुप्रति आभार व्यक्त गर्न चाहन्छु। कोषाध्यक्षको कार्यकालमा संघलाई आर्थिक पारदर्शी एवं सशक्त बनाउन मैले अथक प्रयास गरे, जसको फलस्वरूप बर्सौं देखि नउठेको अन्तरास्ट्रिय समन्वय समितिको सदस्यता शुल्क चुक्ता भयो।

क्षेत्रीय तथा अन्तरास्ट्रिय भेला तथा सम्मेलनको हिशाब समयमानै फर्श्यौट गराई संघको आम्दानी बढन थाल्यो। संघमा संचित रकमलाई टेन्डर मार्फत बढी ब्याज आउने बैंक खातामा जम्मा गराई ब्याजमा उल्लेखनीय कमाई भयो।

सन् २०१४ मा जापानको तातेसिमामा आयोजित क्षेत्रीय सम्मेलनमा संघको दिर्घकालिन आर्थिक सुदृढताको लागि मैले प्रस्तुत गरेको १० बर्षिय कार्ययोजना अन्तर्गत संघले उल्लेखनीय प्रगति गर्न सकेकोमा गौरवान्वित छु।

देशमा महाभूकम्प जाँदा संयोगवश म नेपालमा नै थिएँ। हामीले संघको तर्फबाट बिपतमा परेका नेपाली दाजुभाई दिदीबहिनीहरुलाई प्रत्यक्ष रुपमा सहयोग गर्ने निर्णय कार्यन्वयन गर्दा पहिलो दिनदेखि करिब एक महिनासम्म सामाग्री व्यवस्थापन एवं स्वयं सेवक व्यवस्थापनमा संलग्न हुनपाउनुलाई देश र देशबासीको सेवा गर्ने ठुलो अबसरको रुपमा लिएको थिएँ। भलै त्यो अत्यन्तै दु:खद घटना थियो।

देशमा भएको असीम वर्षापछि घरबारबिहिन नेपालीहरुलाई विश्वभरिबाट रकम संकलन गरी राहत वितरण कार्यक्रममा तपाईहरुको प्रतिनिधि भई प्रत्यक्ष रुपमा संलग्न हुन पाउदा आफुलाई गौरवान्वित महसुस गरेको थिएँ|

चारबर्ष अगाडी संघको आर्थिक सम्बृद्धिको दीर्घकालीन रुपरेखा कोरिसकेपछि मैले फेरि संघको ब्यबस्थापनको जिम्मा लिने निर्णय गरें। आदेशले हैन, विधि र विधानबाट संगठन चलाउनुपर्छ, नेतृत्ववर्गले विधानमा रहेको कमजोरपक्षलाई प्रयोग गरेर आफ्नो अनुकूलको निर्णय गर्नेहैन, विधानमा भएका कमजोरीलाई पहिल्याई सच्च्याउनुपर्छ, एकल नेतृत्वले हैन, सामुहिक नेतृत्व र टिमवर्क हुनुपर्छ।

यदि विधान मिचेमा साधारण सदस्य मात्र हैन, नेतृत्ववर्ग पनि अनुशासनको दाएरमा आउनु पर्छ भन्ने मान्यतालाई व्यवहारमा परिणत गर्न मैले बितेको चार बर्षभित्र धेरै मेहनत गरें हाम्रो कलिलो संस्थाको इतिहास जम्मा १६ बर्षको छ। यही छोटो इतिहासलाई पनि आफ्नो अनुकूल पुनर्लेखन गर्नमा पनि रोक लगाएँ।

कोषाध्यक्ष हुँदा र महासचिव हुँदा केहि साथीहरु रुष्ट बन्नु भएको छ। अन्तत:मैले गरेको प्रयास व्यक्तिगत स्वार्थको लागि नभई संस्थाको हितको लागि हो। यस प्रयासले संस्थाले द्रूत गति लिएको छ र संस्थागत विकास दिगो बनेको छ।

मेरो चार बर्षको महासचिवको कार्यकाल सहज रहेन। हाम्रो संस्थाको सङ्ख्यात्मक विकाससंगै गुणात्मक विकास हुन जरुरी छ। मेरो महासचिवको कार्यकालमा थुप्रै सुधारात्मक कामहरु भएको जानकारी गराउन चाहन्छु।

राष्ट्रिय समन्वय परिषद र अन्तर्राष्ट्रिय समन्वय परिषद बिचको समन्वय अझ प्रगाढ भएको छ, सचिवालय मजबुत र साधन सम्पन्न भएको छ, विभिन्न विषयमा १२ ओटा अलग अलग विनियमहरु तयारभइ अन्तरास्ट्रिय समन्वय परिषदबाट अनुमोदनभइ कार्यान्वयन भएका छन्। संघको सांगठनिक ढाँचालाई समय सापेक्ष बनाउन १४ वटा स्थायी समितिहरु तैयार भइ सक्रिय भएका छन। अस्थायी प्रक्रियाका समस्याहरु समाधानका लागि कार्यसमितिहरु तैयार भयका छन्। धेरै समय अघि शुरु भएका मेगा प्रोजेक्टहरु यहि कार्यकालमा सम्पन्न भएका छन्।

पंजीकृत सदस्यहरु संस्थाका आधार हुन्। जग हुन, MIS SYSTEM (Information management system) लाई पूर्ण रुपमा प्रयोजनमा ल्याई प्रत्येक देशको पंजीकृत सदस्यहरुको Authentic Record राख्ने परिकल्पना पूर्ण भएको छ। बाह्रै महिना चौबिसै घण्टा Online मार्फत सदस्यता नवीकरण तथा प्रमाणीकरण गरी राष्ट्रिय तथा अन्तरास्ट्रिय समन्वय समितिको निर्वाचन पारदर्शी तथा ब्यबस्थित हुने वातावरण तैयार भएको छ।

हरेक राष्ट्रिय समन्वय परिषदका पंजीकृत सदस्यहरुलाई केन्द्रबाटनै समयमै सदस्यताकार्ड वितरण गर्ने कार्यक्रम यसै कार्यकालबाट पूर्ण रुपमा लागु भएको छ। उक्त कार्डबाट नेपाल र नेपाल बाहिर बिभिन्न राष्ट्रिय तथा अन्तरास्ट्रिय सहुलियतहरु प्राप्त हुने पहल भएको छ।

अन्तर्राष्ट्रिय समन्वय परिषद्को केन्द्रिय Web Site लाई थप सरल तथा सहज बनाईएको छ। संस्थाको केन्द्रिय रेकर्डलाई ब्यबस्थित तथा digitalization गरि सुरक्षित गरिएको छ। बिगतका कमि कमजोरीहरुलाई सच्च्याएर दस्ताबेजको नया संस्करणको प्रकाशन पनि गरिएको छ। नया-बन्ने सदस्यहरुको लागि गैरआबासीय नेपाली संघ सम्बन्धि जानकारी मुलक सामान्य ज्ञान (Handbook) तथा बैदेशिक रोजगरिमा जानेहरुको लागि नेपाल भित्र र गन्तब्य मुलुकको जानकारी सहित पुस्तिका प्रकाशित भएका छन्। संस्थाको Corporate Culture विकास गर्नको लागि सम्पूर्ण अन्तरास्ट्रिय पदाधिकारीहरु तथा रास्ट्रिय समन्वय परिषदका अध्यक्ष एबं महासचिबको Corporate mail address प्रयोग गरिएको छ।

गैरआवासीय नेपाली संघ जस्तो सामाजिक संस्थामा व्यक्तिको कार्यदक्षता, विगतका अनुभव, संस्थाप्रतिको लगाव तथा संस्थालाई दिनसक्ने योगदान तथा क्षेत्रीय सन्तुलनको आधारमा केन्द्रीय परिषद्का सम्पूर्ण पदहरुमा चयन गरिनुपर्छ भन्ने मेरो दृढ विचार छ। अबको मेरो यात्रा संघको माथिल्लो नेतृत्व उपाध्यक्ष तिर लम्केको छ। नेपाल भन्दा बाहिरको नेपाल, ५० लाख भन्दा बढी नेपालीहरुको नेतृत्व गर्ने, यो गौरबशाली संस्थालाई अझ प्रभाबकारी ढंगले अगाडी बढाउन मेरो (7 Pillars) सात खम्बे सिद्धान्त यहाँहरु समक्ष प्रस्तुत गरेको छु।

१. बैदेशिक रोजगार (Foreign Employment):

सुरक्षित र मर्यादित बैदेशिक रोजगार हाम्रो अभियान नै हो| बिदेशमा रहेका झन्डै ७०% भन्दा बढी जनशक्ति बैदेशिक रोजगारमा आवद्ध छ र देशको एक तिहाई अर्थतन्त्र बैदेशिक रोजगारले धानेको छ। अबको हाम्रो लक्ष, दक्ष कामदारहरु मात्र विदेश पठाई प्रति कामदार आम्दानी बढाउने, कामदारहरुको उचित बिमा गराउने, बिचौलियाहरु न्युन गराउने, कामदारहरुकोको संचयकोष व्यवस्था गर्ने, प्राबिधिक अध्ययन केन्द्रहरु स्थापना गर्ने, स-साना लगानी कर्ताहरुलाई पनि एकमुष्ठ गरि बैदेशिक रोजगारीमा आवद्ध जनशक्ति सहितको संयुक्त लगानीका कार्यक्रम हरु संचालन गर्ने तथा बिदेशमा ज्ञान सिप सिकेका लागि नेपालमा नै रोजगारी शृजना गर्ने तर्फ लक्षित रहने छ।

संविधानको धारा २९१(१) ले काम बिशेषले बिदेशमा बसिरहेका नेपालीहरुको अधिकार कुण्ठित गरेको छ, प्रत्येक नेपालीको मौलिक हक तथा अधिकार हनन नहुनेगरि संबिधानमा सुधार हुनु जरुरि छ। बिदेशमा बसोबास गरिरहेका नेपाली नागरिकले नेपालको निर्बाचनमा भाग लिन पाउने, मतदान गर्न पाउने अधिकार सुनिस्चित गर्न सर्बोच्च अदालतले समेत निर्देशनात्मक आदेश जारी गरिसकेको अबस्थामा यसलाई कार्यान्वयन गराउन संघले बिशेष पहल गर्नुपर्ने आबस्यकता छ।

२. लगानी तथा व्यापार प्रबर्दन (Investment and Trade Investment):

नेपालको राजनीतिक, भौगोलिक तथा सामाजिक कारणले संसारका ठुलो लगानीकर्ताहरुको लागि आकर्षक मुलुक बन्न सकेको छैन र छिटै बन्नसक्ने अवस्था पनि छैन। नेपालमा धेरै क्षेत्रहरुमा ठुला, मझयौला तथा साना लगानीहरु गरि संसारको अन्य क्षेत्रहरु भन्दा आकर्षक मुनाफा लिन सक्ने प्रचुर सम्भावना छ। गैरआबासीय नेपाली हरुले सुरुका दिन देखिनै व्यक्तिगत तथा सामुहिक रुपमा धेरै क्षेत्रहरुमा लगानी गर्दै आइरहेका छन् तर यो प्रयाप्त छैन। संबिधानमा ब्यबस्था गरिए झैँ गैर आबासीय नेपाली नागरिकताको अधिकार ब्यबहारमा परिबर्तन गर्न सकेमा विदेशमा बस्ने नेपालीहरुबाटनै ठुलो लगानी आउने प्रचुर सम्भावना छ। हाम्रो नेपालमा रहेको सम्पतिको पनि कानुनी रुपमा संरक्षण हुनु जरुरि छ| हाल सिमित मुलुकहरु संग मात्र भएको लगानी सम्झौता (Bilataral Investment Promotion and Project Agreement) BIPPA, दोहोरो कर मुक्ति सम्झौता (Double taxation Avoidance Agreement) DTAA र आर्थिक साझेदारी सम्झौता (Economic Partnership Agreement) EPA गैर आबासीय नेपालीहरु रहेका सबै मुलुकहरु संग हुन् जरुरि छ। हाल नेपाली हरुको बढी लगानी अनुत्पादित क्षेत्रमा भइ रहेको छ। स-साना लगानी कर्ताहरुलाई समेत एकमुष्ठ गरि ठुलो लगानी जुटाएर रास्ट्रिय संरचना निर्माणमा लगानी गर्न संघले पहल गर्नु पर्ने छ।

३. गैरआबासीय नेपाली फाउन्डेशन तथा परोपकार (NRN Foundation & Charity):

गैरआबासीय नेपालीहरुको नेपालमा पहिलो र गाढा परिचय परोपकारी काम हरुले नै भएका छन्। परोपकार हाम्रो संस्कृति हो र प्रत्येक नेपालीको रगतमानै परोपकारी भाबना छ। हरेक देशमा बस्ने नेपालीहरुले आ-आफ्नो गाउँ ठाउँमा केहि न केहि परोपकारका कामहरु गरिनै रहेका छन्। यसलाई संस्थागत अभियानको रुपमा एक राष्ट्र एक परोपकारी योजनाको रुपमा धेरै कामहरु भएका छन्। यो अभियानलाई आझ सशक्त रुपमा अगाडी लैजानु जरुरि छ। नेपालमा बाढी पहिरो जाँदा, हुरी बतास आउँदा, आगलागी हुँदा संघले संस्थागत रुपमा सहयोग गर्दै आएको छ। परोपकारी कामलाई ब्यबस्थित र प्रभाबकारी बनाउन संसारका छओटै क्षेत्रहरुमा गैरआबासीय नेपाली फाउन्डेशन (परोपकारी फण्ड) स्थापना गरि सोहि मार्फत सहयोग संकलन तथा वितरण गर्न जरुरि छ। उक्त फण्डमा रकम जम्मा गर्दा सहयोगकर्ताले करमा समेत सहुलियत पाउने छन्।

४. ज्ञान, शिप तथा शिर्जनात्मक काम नेपालमा भित्र्याउने (SKI & NRN Academy):

आफुले आर्जन गरेको ज्ञान शिप तथा प्रबिधिको उचित प्रयोजन गर्न तथा संभावनाको खोजीका लागि धेरै नेपालीहरु संसारका ख्यातिप्राप्त बिश्वबिध्यालय एबम संघ संस्थाहरुमा कार्यरत छन्। उनीहरुको दक्षता एबं विज्ञतालाई नेपालको सम्बृध्दीको लागि प्रयोग गर्न गैर आबासीय नेपाली एकेडेमी नै खडा गर्नु जरुरि छ। यस्तो संभावनाको पहिचानको लागि हामीले पहिलो पटक नेपाल सरकार संगको सहकार्यमा प्रथम विज्ञ सम्मेलन २०१८ अक्टोबरमा काठमाण्डौमा सम्पन्न गर्यों। अब हरेक दुई बर्षमा उक्त विज्ञ सम्मेलनलाई निरन्तरता दिनु जरुरि छ।

५. नेपाल पोलिसी इन्स्तिच्युत (Nepal Policy Institute):

बिदेशमा रहेका नेपाली बिज्ञहरुले गैरआबासीय नेपाली संघ सम्बन्धि तथा नेपालको सर्बोपरी बिकाशको लागि बिभिन्न नीति निर्माणमा योगदान दिनको लागि यो अवधारणा ल्याइएको छ। नेपाल पोलिसी इन्स्तिच्युत समितिले बिगतको दुइ बर्षमा नेपाल सरकार रास्ट्रिय योजना आयोग संग सम्झौता गरि बिभिन्न बिषयहरुमा नीति निर्माण गर्नको लागि सुझाब पेश गरिसकेको छ। यस समितिलाई निरन्तरता दिन, बिशेषज्ञहरुले तथस्टताकासाथ काम गर्न तथा संस्थागत रुपमा संचालनको लागि गैर आबासीय नेपाली संघको स्वामित्वमा नेपाल भन्दा बाहिर नेपाल पोलिसी इन्स्तिच्युत (Nepal Policy Institute) स्थापना गर्ने लक्ष्य यस कार्यकालमा पुरा हुन सकेको छैन, यसलाई यथासक्दो छिटो स्थापना गर्नुपर्ने छ।

६. नेपाल प्रबर्धन (Nepal Promotion):

नेपालको भाषा, कला तथा संस्कृतिलाई नेपाल भन्दा बाहिर रहनुहुने नेपालीहरु र बिदेशी बीच फैलाउने काम गैर आबासीय नेपालीहरुको मुख्य काम मध्ये हुन्। सन् २०११ को गणना अनुसार नेपालमा १२३ भन्दा बढी मात्री भाषाहरु छन्। यो हाम्रो सम्पति हो। पुर्खाले हजारौं बर्ष लगाएर सिर्जना गरेको भाषा एक पिढीले नबोलेमा सजिलै संग मासिन्छ। आजको विस्तारति संसारिकरणमा स-साना भाषा संस्कृति जोगाउन ठुलो चुनौती छ। संसारको धेरै ठाउँमा नेपाल भबन (Nepal House) संचालनमा आएका छन्। नेपाली मेला (Nepal festival) आयोजना गर्दै आइरहेका छौं। यसलाई निरन्तरता दिदै नेपाली उत्पादनहरुको बिदेशमा प्रबधन गरेर नेपालमा आर्जन भित्र्याउनु पर्छ। प्राकृतिक सम्पदाले भरपुर संसारकै स्वर्ग मानिने देश, सगरमाथा र बुद्ध जन्मेको देश, पर्यटनको लागि सम्भावना नै सम्भावना बोकेको देश नेपालको संभावनाको पोको खोल्ने काम हामीले गर्नु पर्नेछ। पर्यटन मन्त्रालय तथा पर्यटन बोर्डसंग Visit Nepal 2020 लाई सफल पार्न संघले एक सम्झोता गरेर आगाडी बढेको छ। पर्यटनलाई प्रभाबकारी बनाई नेपालको अर्थतन्त्रलाई मजबुत बनाउन हामीले प्रमुख भूमिका निभाउन पर्नेछ।

७. युवा, महिला तथा दोस्रो पिढी: (Woman, Youth and Second Generation):

संघले युवा तथा महिलालाई सक्रिय रुपमा आबद्ध गराउन संरचनामै अन्तरास्ट्रिय तथा क्षेत्रीय युवा र महिला संयोजकको व्यवस्था गरि हरेक रास्ट्रिय समन्वय परिषद्मा युवा र महिला संयोजकको व्यवस्था गरेको छ। महिलाहरुको लागि छुट्टै उपाध्यक्ष व्यवस्था गरे जस्तै यस पटक देखि युवा तथा बिशेष गरि दोश्रो पिढीलाई लक्षित गरेर उपाध्यक्षको व्यवस्था गर्नु पर्ने आबस्यकता छ। हालै संघको प्रयासले नेपालमा आयोजित आठौं रास्ट्रिय खेलकुदमा गैर आबासीय नेपालीहरुले समेत भाग लिएर ठुलो सफलता हँसिल गरेका छन्| अमेरिकामा जन्मेर उतै हुर्केका नथम दोर्जे शेर्पाले पहिलो प्रयासमै दुइ वोटा स्वर्ण र एक रजत पदक जितेका छन्। अब उनले नेपालको तर्फ बाट अन्तरास्ट्रिय खेलहरुमा भाग लिन सक्ने छन।

यो उदाहरणले अब गैर आबासीय नेपाली हरु बिदेशमा सिकेको ज्ञान सहित नेपाल भित्रिने क्रम शुरु भएको छ। खेलकुदको माध्यमबाट बिस्व भरका नेपाली युबाहरुलाई एकजुट गर्न, दोश्रो पिढीका युवाहरुलाई नेपालप्रति आबद्ध एबम जिम्मेबारी बहन गराउन। बिदेशमा सिकेको ज्ञान नेपालमा सिकाउन संघले गैरआबासीय नेपाली खेलकुद प्रतिष्ठान स्थापना गर्नु जरुरि छ।

मेरो १६ बर्षको संघमा लगातार आबद्धताको अनुभव (साधारण सदस्य, रास्ट्रिय समन्वय परिषद्को महासचिब, दुइ कार्यकाल अन्तरास्ट्रिय समन्वय परिषद केन्द्रिय सदस्य, केन्द्रिय कोषाध्यक्ष तथा दुइ कार्यकाल केन्द्रिय महासचिब) लाई सदुपयोग गर्दै अब आउने कार्यकालमा उपाध्यक्षको जिम्मेवारी बहन गर्ने निणय लिएको छु। मेरो अनुभब, संस्था प्रतिको इमान्दारिता एबम लगनसिलताको कदर गर्दै फेरी जिम्मेवारी दिनु भएमा माथि उल्लेखीत (७ खम्बा) 7 Pillar strategy लाई अबलम्बन गरि संस्था लाई नया उचाईमा पुर्याउने बाचा गर्दछु।

डा वद्री के सी

उपाध्यक्षको उम्मेदवार,

हाल महासचिब तथा कार्यसमिति अध्यक्ष, नीति निर्माण समिति

अन्तर्राष्ट्रिय समन्वय परीषद

मस्को, रुस

अक्टोबर २०१९