-NRNA:गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठक पोखरामा हुँदै

NRNA:गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठक पोखरामा हुँदै

Hollywood Khabar December 21,2019 Comments

गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय समन्वय परिषद्को प्रत्यक्ष बैठक यही २०१९ को १८ र १९ मा गण्डकी प्रदेशको पोखरामा आयोजना गरिने भएको छ।

हिजो २१ डिसेम्बरका दिना भएको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको विद्युतिय बैठकले उक्त निर्णय गरेको हो । अन्तर्राष्ट्रि समन्वय परिषद्को पोखरा बैठकले संघको समिति र कार्यदलको कार्य विभाजन गर्नुका साथै संघको आगामी कार्य योजनालाई समेत अन्तिम रुप दिने छ । उक्त २ दिने बैठकले संघको विशेष महाधिवेशनको मिति र स्थान समेत तोक्ने अपेक्षा गरिएको छ । यस कार्यकालको अन्तर्राष्ट्रिय समन्वय परिषद्को पहिलो बैठकले संघको निर्वाचन प्रक्रिया लगायत विधानमा समसामयिक सुधारका लागि विशेष महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

हिजोको बैठकमा संघको काम कारवाही र लेखा प्रणालीलाई बढि चुस्त र पारदर्शि बनाउने र संघको विद्युतिय सूचना प्रणालीको सुरक्षा सम्बन्धित विशिष्टिकृत कंपनीबाट परिक्षण (Security Audit) गराउने समेत निर्णय गरेको छ । साथै हिजोको बैठकमा ग्रिसको पुरानो राष्ट्रिय समन्वय परिषद्लाई तदर्थ समितिका रुपमा कायम गर्दै क्षेत्रीय संयोजक र उपसंयोजकहरुको रहोवरमा राष्ट्रिय समन्वय परिषद्को महाधिवेशन गर्न अनुमति दिने निर्णय समेत गरेको छ । साथै उक्त बैठकले विभिन्न राष्ट्रिय समन्वय परिषद्हरुमा देखिएका समस्या समाधानका लागि पहल गर्ने निर्णय समेत गरेको छ । बैठकमा संघको मानार्थ परिषद्का सदस्यहरुको मनोनयन बारे व्यापक छलफल भएको थियो र मानार्थ परिषद्लाई पोखरामा आयोजना गरिने अन्तर्राष्ट्रिय समन्वय परिषदको बैठकबाट अन्तिम रुप दिने निर्णय गरेको छ । बैठकले विभागिय प्रमुख उपाध्यक्षहरुलाई आफ्नो कार्य क्षेत्रको आगामी योजना तयार पार्न निर्देशन समेत दिएको छ ।

हिजो नै अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयका सदस्यहरुको राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष एवं महासचिवहरुसंग विद्युतिय बैठक आयोजना गरिएको थियो । बैठकमा संघका अध्यक्ष कुमार पन्त द्वारा संघको अन्तर्राष्ट्रिय समन्वय परिषद्ले हालै लिएका निर्णयहरु बारे जानकारी गराईएको थियो । उहाँले बलिया राष्ट्रिय समन्वय परिषद् भए नै संघ बलियो हुने धारणा राख्नु भएको थियो । साथै उहाँले संघको विभिन्न परियोजनाको संक्षिप्त विवरण समेत दिनु भएको थियो । उहाँका अनुसार गत कार्यकालको ३ ठूला परियोजना प्राय सम्पन्न भएको जानकारी दिनु भयो । बैठकमा अध्यक्ष पन्तले अन्तर्राष्ट्रिय समन्वय परिषद्ले काठमाडौं महानगरपालिका संग सल्लाह गरी काठमाडौंको केही स्थानमा आधुनिक र सफा सौचालयको विकासका लागि पहल गरिरहेको र यसमा विभिन्न राष्ट्रिय समन्वय परिषद्लाई स्थान चुनेर सहयोग गर्न अनुरोध गर्नु भयो ।

अत्यन्त सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको उक्त सम्बाद कार्यक्रममा सहभागी राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष एवं महासचिवहरुले राष्ट्रिय समन्वय परिषद्संगको सम्बाद कार्यक्रम राखिनु सकारात्मक पहल भएको धारणा राख्नुका साथै अन्तर्राष्ट्रिय समन्वय परिषद्का गतिविधिहरु बारे चासो राख्नु भएको थियो । उहाँहरुले संघको विभिन्न मुलुकबाट संघको परिषद्, समिति, कार्यदलका सदस्य एवं संयोजकहरु मनोनित गर्दा राष्ट्रिय समन्वय परिषद् संगको सल्लाहमा हुनु पर्ने धारणा राख्नु भएको थियो । उहाँहरुले अन्तर्राष्ट्रिय समन्वय परिषद् पहलमा सधै नै साथ दिएको र संघलाई बढि पारदर्शि एवं व्यवस्थित बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । साथै उहाँहरुले आफ्नो क्षमताले भ्याए सम्म संघले आत्मसाथ गरेका परियोजनामा सहयोग गर्ने बचन बद्धता समेत प्रकट गर्नु भयो ।

डि.बि क्षेत्री

प्रवक्ता,

अन्तर्राष्ट्रिय समन्वय परिषद् गैरआवासीय नेपाली संघ