-एनआरएनएले डायस्पोराका नेपालीहरुको गजल संग्रह प्रकाशन गर्ने, रचनाको लागि आब्हान

एनआरएनएले डायस्पोराका नेपालीहरुको गजल संग्रह प्रकाशन गर्ने, रचनाको लागि आब्हान

Hollywood Khabar April 25,2020 Comments

नेपाली भाषा, साहित्य, संस्कृति तथा सम्पदालाई माया गर्नुहुने विश्वभर छरिएर रहनुभएका समस्त डायस्पोराका नेपाली तथा नेपाली भाषी मित्रहरूमा न्यानो साहित्यिक अभिवादन।

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) को भाषा, साहित्य, संस्कृति तथा सम्पदा प्रवर्द्धन समितिद्वारा गरिँदै आएका विविध कृति प्रकाशनका कार्यलाई अझ बढि विकसित, व्यवस्थित र विशिष्ट बनाउँदै लाने क्रममा सदा झैँ यस वर्ष(२०२० मा) पनि एउटा पृथक किसिमको संयुक्त गजल संग्रह कृति प्रकाशन गरिने भएको र उक्त कृतिमा विश्वभर छरिएर रहेका गैरआवासीय नेपाली साथै नेपाली भाषी समस्त गजलकार स्रष्टाहरुलाई समेटने उद्देश्य राखिएको कुरा सगौरव जानकारी गराउँन चाहन्छौँ।

यस गजल संग्रहमा समावेश हुनका लागि यसै सूचनासँग(तल) राखिएको फोटोमा रहेको ईमेल ठेगानामा आफ्नो संक्षिप्त परिचय र पासपोर्ट साइजको एक प्रति फोटो सहित आफूले लेखेका उत्कृष्ट दुईवटा गजलहरू पठाईदिनु हुन तपाईं समस्त प्रवासी नेपाली गजलकारहरूलाई हार्दिक अनुरोध गरिएको छ।

यो गजल संग्रह सम्बन्धी आधारभूत नियमावली निम्नानुसार रहेकोछ:

नियम:

१. यो प्रवासमा बस्ने नेपालीहरुको विशुद्ध खुल्ला संयुक्त गजल संग्रह भएकोले यस संग्रहमा समावेश हुन कुनै उमेर, लिङ्ग, राष्ट्रियता आदिको हदबन्दी लाग्ने छैन। सबै नेपाली भाषामा गजल लेख्ने प्रवासी गजलकारहरु खुल्ला रूपमा यस संग्रहमा समावेश हुन सकिनेछ।

२. यस संग्रहका लागि पठाइएको गजल आफैँले मौलिक रचना गरेको र आजभन्दा अगाडि कुनै पनि अर्को संग्रह अथवा कृतिमा प्रकाशित नभएको हुनुपर्ने छ (सामाजिक सञ्जालमा बाहेक)। साथै प्राप्त गजलको प्रतिलिपि अधिकारको जिम्मेवारी गजलकार स्वयंमा रहनेछ, सम्पादन मण्डल र प्रकाशक प्रतिलिपि अधिकार सम्बन्धमा कुनै जवाफदेही हुने छैन।

३.गजलका आधारभूत सिद्धान्त अनुसार लेखिएका गजलहरू मात्र संग्रहमा समावेश गराइनेछन्।

४.यो संग्रहमा समावेश हुन चाहने स्रष्टाहरुले यो सूचना प्रकाशित भएको मितिदेखि २०२० जुलाई महिनाको अन्तिम दिन(July 31, 2020) सम्ममा आफ्ना दुईवटा गजल, आफ्नो संक्षिप्त परिचय र एक प्रति पासपोर्ट साइजको फोटो सहित आफु बसेको सम्बन्धित महादेशका क्षेत्रिय संयोजकलाई तल(फोटोमा) दिईएको ईमेल ठेगानामा पठाईसक्नु पर्नेछ।

५. यो गजल संग्रह एक पृथक संग्रह भएको र प्रकाशकले आफ्नो गजलसंगै गजलकारको संक्षिप्त परिचय पनि प्रकाशन गर्ने भएको हुनाले बिना "संक्षिप्त परिचय" प्राप्त भएका गजलहरूलाई मान्यता दिईने छैन।

६. संग्रहमा समावेश हुनको लागि छनौटको प्रारम्भिक मापदण्ड गजलको भाव, काव्यपक्ष, लय, भाषागत शुद्धता आदि हुनेछ।

७. अन्तिम छनौट, सम्पादन तथा प्रकाशन अधिकार "सम्पादन मण्डलमा" निहीत हुनेछ। यो प्रक्रियासम्म आइपुग्दा कुनै पनि गजल प्रकाशन गर्न अयोग्य ठहरिएमा त्यस्ता गजललाई संग्रहमा प्रकाशन गर्न संपादन तथा प्रकाशन मण्डल बाध्य हुने छैन।

८. यस सम्बन्धी कुनै अस्पष्टता, जिज्ञासा एवं प्रश्नहरू भएमा आ-आफ्नो महादेशका सम्बन्धित क्षेत्रीय सम्पादन संयोजकलाई सम्पर्क गर्न सकिनेछ।

पूनश्च:

अन्त्यमा, हाम्रो यो कार्यमा यहाँहरू सबैको साथ, सहयोग र सहभागिता रहनेछ भन्ने पूर्ण आशा एवं विस्वासका साथ, तपाईं सम्पूर्णमा अग्रिम शुभेच्छा व्यक्त गर्न चाहन्छौँ ।

धन्यवाद!

नमस्कार !

गजल संग्रह प्रकाशन मण्डल,

गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद, भाषा, साहित्य, संस्कृति तथा सम्पदा प्रवर्द्धन समिति २०२०-२०२१)