-Shashi Shrestha, Denmark

NRNA:अबको नेतृत्व चयन गर्न प्रतिनिधिले होइन अनलाइन भोटिङ्ग गर्नुपर्छ:शशि श्रेष्ठ

Hollywood Khabar September 30,2019 Comments

भोला लामिछाने/यूरोप/१०/१/१९

यति खेर देश एनआरएनएको चुनावी सरगर्मी बढिराखेको छ। आगामी अक्टोवर १५–१७ मा काठमाडौंमा एनआरएनएको विश्व सम्मेलन हुँदैछ। उक्त सम्मेलनले २ बर्षका लागि नयाँ नेतृत्वको छनोट पनि गर्नेछ।

एनआरएनले हाल विश्वका ८१ वटा देशहरुमा बिभिन्न ईकाईहरुको निर्वाचन पनि सम्पन्न गरिसकेको छ। काठमाण्डौमा सम्पन्न हुने आगामी विश्व सम्मेलनको तयारीमा हाल एनआरएनए जुटिराखेको छ। प्रविधिको यो जमानामा पनि एनआरएनएको चुनावी पद्धति ठीक नभएको भन्दै कतिपय एनआरएनएकै सदस्यहरुले सार्वजनिक रुपमैं असन्तुष्टिहरु पोख्न थालेका छन।

लाखौ लाख एनआरएनए सदस्यहरु भएको एनआरएनएको केन्द्रिय निर्वाचनमा करीब १५०० सयले मात्र सहभागिता जनाए पनि हुने प्रावधान धेरै एनआरएनए सदस्यहरुलाई मन परेको छैन। अबको एनआरएनएले यो सबैले चुनेको नेतृत्व हो भनेर स्वामित्व ग्रहण गराउन सक्नुपर्छ । अहिलेसम्म सदस्यहरुले स्वामित्व ग्रहण गर्न सकेका छैनन्। एनआरएनएको यस्तै निर्वाचन विधिका बारेमा आइसीसीले ध्यान दिनु जरुरी देखिन्छ। समय अनुसार हामी परिवर्तन हुने कि नहुने ? प्रविधिको यो युगमा हामीले प्रविधिको भरपुर उपयोग गर्नै पर्दछ भने मेरो सुझाव हो। साथै सबैलाईसंगै समेटेर अगाडि बढौं भन्ने मेरो धारणा हो। बरु त्यसको लागि मेरो तर्फबाट सकेको सहयोग गर्न म हमेशा तयार छु।

हामीले गर्दै आएको केन्द्रीय एनआरएनएको नेतृत्व छनोट प्रक्रिया अत्यन्तै भड्किलो, खर्चिलो बन्दै गएको छ। बिज्ञान र प्रविधिको यो युगमा पनि प्रत्येक सदस्यले घरमैं बसी बसी एक क्लिकको भरमा आफ्नो उम्मेद्वार छनौट गर्न नपाउनु बिडम्वनाको कुरा हो। सम्बन्धित देश र क्षेत्रका प्रतिनिधिले नेपाल मै गएर भोट हाल्ने ब्यवस्था अबैज्ञानिक र नमिल्दो छ। विश्वभर फैलिएर रहेका नेपाली नागरिक भोट हाल्नकै लागि नेपाल जानसक्ने सम्भावना हुँदैन। प्रतिनिधिलाई भोट हाल्न जानुको साटो बरु अनलाईन भोटिङ सिस्टम मार्फत वैज्ञानिक विधि अपनाउनुपर्छ। रिजल्ट पनि तुरुन्तै आऊने र कसले कति मत पायो सहजै थाहा पनि छ। जसको उदाहरण स्वरुप एनआरएनए डेनमार्कको निर्वाचनमा प्रत्येक सदस्यले अनलाईन भोटिङ सिस्टमको माध्यमबाट भोट दिएर यसको सफल प्रयोग गरि सकेको छ।

एनआरएनए संग भएको MIS सिस्टम मार्फत अनलाईन फर्म भर्न सकिए जस्तै अनलाईन भोटिङ्ग पनि सम्बन्धित देशबाट अनलाईन सजिलै गर्न सकिन्छ। यो विधि अस्ट्रेलियामा पनि सफल प्रयोग भइ सकेको छ । यसो गर्न सकियो भने अरु २ लाख जति थप सदस्यहरु थप हुने पनि पक्का छ। गैरआवासीय नेपालीहरुको बढी सहभागिता रह्यो भने मातृभूमिका लागि अझ बढी उदाहरणीय कार्य गर्न सकिन्छ ।

सम्बन्धित देश र क्षेत्रका प्रतिनिधि चुनेर मात्र नेपाल मा भड्किलो र खर्चिलो चुनाव गराउने होईन कि,बिदेशिएका सबै नेपाली नागरिकलाई एकसाथ एकैदिन सम्बन्धित देशबाट नै मतदान गर्न पाऊनुपर्ने ब्यवस्था आजको अवश्यता हो। त्यसैले एनआरएनको आगामी नेतृत्वले अब चाहिँ जरुर यसबारेमा सोंच्नैपर्दछ।

प्रविधिको जमानामा परम्परावादी हुनुको कुनै तात्पर्य देख्दिन । समय अनुसारको निर्वाचन विधी गर्न सके र बढीभन्दा बढी सहभागिता रह्यो भने मात्र योग्य ब्यक्ति चुन सम्भव हुनेछ ।

जुन उद्देश्यका लागि संस्था स्थापना गरिएको छ त्यो उद्देश्यको परिपूर्ति गर्नका लागि सहज हुन्छ । यो समावेशी विधिबाट गर्दा दसौ लाख सदस्यहरुले छनोट गरेका व्यक्ति नेतृत्वमा आउँछ। खर्च जोगिन्छ र नेतृत्व चुन्ने फोहोरी खेलबाट बच्न सकिन्छ ।

यो कुरा एनआरएनको हकमा मात्र होईन कि, नेपालको सरकारले पनि बिदेशमा रहेका लाखौ नेपाली नागरिकमाझ अनलाईन भोटिङ्गको ब्यवस्था गरेर आफ्ना नागरिकलाई मतदान गर्न पाऊने अधिकारबाट वन्चित गर्नुहुँदैन। संसारभरि प्रविधिको प्रयोग गरी अनलाईन भोटिङ्ग प्रविधिको विकास गर्नमा आफू लागी परेको र एनआरएन मात्रै नभएर नेपाल सरकारले पनि यस्ता खाले प्रविधिलाई आत्मसात गर्नै पर्दछ।

पेशाले आईटी ईन्जिनियर शशि श्रेष्ठ लामो समयदेखि डेनमार्कमा बस्दै आऊनु भएको छ। डेनमार्कमैं रहेर आईटी आऊटसोर्सिङ्ग बिजनेस संचालन समेत गर्दै आएका श्रेष्ठ डेनमार्कमा हालै सम्पन्न एनआरएनएको निर्वाचनमा युवा संयोजको पदमा उहाँ २०१९-२०२१ का लागि निर्विरोध हुनुभएको थियो ।