-NRNA:गैरआवासीय नेपाली संघको सूचना आधिकारिकता माथि प्रश्न र पोखरा बैठकका निर्णय

NRNA:गैरआवासीय नेपाली संघको सूचना आधिकारिकता माथि प्रश्न र पोखरा बैठकका निर्णय

Hollywood Khabar January 19,2020 Comments

कृष्ण के सी/अमेरिका/१/२०/२०

गैरआवासीय नेपाली संघको अक्टुवर १७, २०१९ देखि यो कार्यकाल सुरु भएको पनि ९० दिन कटेछ। संघका कुनै पनि कुराहरु प्रवक्ताबाट सार्वजनिक हुनुपर्ने कुरा विश्वब्यापी बिधि नै हो। तर यो कार्यकालमा एक पटक बाहेक त्यसो भएको छैन।

अक्टुवर देखि जनवरी सम्म यो तीन महिनाको अबधिमा संघले प्रवक्ताको नियुक्ति गरे पनि प्राय सूचनाहरु महासचिवबाट आउने गरेको थियो। प्रवक्ताको मौन अबधि पोखरा बैठकबाट अन्त हुने सुनिएको थियो।

यसै जनवरी महिनाको १८-१९, २०२० मा पोखरामा आयोजित बैठक पनि सम्पन्न भयो भन्ने कुरा पदाहिकरिहरुको फेसबुकबाट देख्न सकिन्छ। यसबाहेक के के निर्णय भयो भनेर संघको लाइक पेजमा पोष्ट गरिएको स्क्रिन शट फोटो देख्न पनि पाइन्छ। तर त्यो फोटो अपडेटमा कुनै आधिकारिकता या पदिय जिम्मेवार व्यक्तिको उल्लेख छैन। यो पोष्ट कसले गरेको हो त्यो थाहा हुँदैन। अनि संघबाट विगतमा आउने गरेका आधिकारिक इमेलबाट पनि कुनै जानकारी आएको छैन।

सो निर्णयको जानकरी लिन महासचिव डा हेम राज शर्मा र प्रवक्ता डिबी क्षेत्री दुबैजनासंग सम्पर्क हुन सकेन। यसबाहेक प्रयास गर्दा पनि सचिव गौरी जोशीसँग समेत सम्पर्क हुन सकेन। अब संघले सूचना प्रणालीमा लापारबाही गर्ने या जिम्मेवारी लिने त्यो बिषय भने प्रश्नकै रुपमा रहेको छ।

संघको फेसबुक लाइक पेजमा पोष्ट गरिएको स्क्रिन शट फोटोको टाइप गरि यहाँ दुरुस्तै पोष्ट गरिएको छ। यसको आधिकारिकताको विवाद आएमा संघको लाइक पेजमा पोष्ट गर्ने व्यक्ति नै जिम्मेवार हुने कुरा सबैमा जग-जाहेर छ।

निर्णय नम्बर ९ चाहिँ हलिउडखबरमा प्रकाशित आर्टिकल-अध्यक्ष पन्तको आफ्नो २० कार्ययोजना छाडेर सम्पन्न महानगरमा चर्पी बनाउने योजना र म्यादीको ताली शिर्षकलाइ हेरेर सुधार गरिएको देखिएको छ। सो संबन्धि लेखिएको आर्टिकल हेर्न यो लिंक क्लिक गर्नुहोस: https://www.hollywoodkhabar.com/kumar-pant20-toiletkath

पोखरा बैठकका निर्णय:

१) नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन संघले सक्रियातापुर्वक विभिन्न कार्यक्रमको सुरुवात गरिसकेको छ । यसलाई अझै घनीभूत बनाउन संघका राष्ट्रिय र अन्तर्राष्ट्रिय समन्वय परिषद्को वार्षिक कार्यक्रमको रणनीतिक योजनासहित एकमुष्ट विवरण आगामी १ महिनाभित्र सार्वजनिक गरिनेछ।

२) बैठकमा बृहत छलफल पश्चात २०१९–२०२१ कार्यकालका लागि विस्तृत कार्ययोजना तयार पारिएको छ । संघका सबै विभागहरुको कार्ययोजनाको विवरणको पुस्तिका १ महिनाभित्र प्रकाशन गरिनेछ ।

३) एनआरएन विश्व सम्मेलनलाई प्रभावकारी बनाउनका लागि संघको अन्तर्राष्ट्रिय महाधिवेशन नभएको वर्ष, विज्ञ सम्मेलनको साथमा आयोजना गरिने छ ।

४) नेपाल सरकारको साझेदारीमा अक्टोवर २०२० मा दोश्रो एनआरएन विश्व विज्ञ सम्मेलन गरिनेछ। सम्मेलनलाई परिणाममुखी बनाउन नेपाल सरकारका विभिन्न मन्त्रालयका प्रतिनिधिहरु र संघबीच एक संयुक्त समिति निर्माण गरिनेछ ।

५) बैठकमा परोपकारी एवं मानव कल्याणकारी कार्यका लागि स्थायी प्रकृतिको श्रोत परिचालन गर्नका लागि स्थापना गर्न लागिएको NRNA Foundation को अवधारणापत्रमा बृहत छलफल गरिएको छ। उक्त फाउण्डेसन स्थापना गर्न केही वैधानिक तथा कानूनी कठिनाई समेत पहिचान गरिएकोले यसको समाधान लागि नेपाल सरकारको सम्बन्धित निकायसँग परामर्श तथा संवाद गरिनेछ। साथै अक्टोवर २०२० भित्र NRNA Foundation दर्ता प्रक्रिया समेत अगाडि बढाइनेछ ।

६) संघको सदस्यता वितरण र व्यवस्थापन, अन्तर्राष्ट्रिय र राष्ट्रिय समन्वय परिषद्का निर्वाचन लगायतका गतिविधीहरुलाई अत्याधुनिक डिजिटल प्रविधिमैत्री बनाउनका लागि प्रस्ताव गरिएको ‘Smart NRNA परियोजना’ ६ महिनाभित्र सम्पन्न गरिनेछ ।

७) Smart NRNA परियोजना र NRNA Foundation स्थापनाका लागि विधानमा संशोधन गर्न आवश्यक विषयहरु १ महिनाभित्र पहिचान गरी संघको विशेष महाधिवेशनको मिति समेत तय गरिनेछ।

८) बैठकमा संघको आर्थिक अवस्था, संघको वित्तिय प्रतिवेदन र तेश्रो पक्षबाट गराइएको डीडीए र आन्तरिक लेखा परिक्षणको प्रारम्भिक प्रतिवेदनमाथि बृहत छलफल गरिएको छ । आवश्यक सबै प्रक्रिया पूरा गरी उक्त प्रतिवेदन यथाशक्य छिटो सार्वजनिक गरिनेछ। संघको वित्तिय विवरणहरु हरेक ३ महिनामा सार्वजनिक गर्ने प्रतिवद्धता अनुसार पछिल्लो ३ महिनाको विवरण १ साताभित्र संघको आधिकारिक वेवसाइटमार्फत सार्वजनिक गरिनेछ। राष्ट्रिय समन्वय परिषद्हरुलाई पनि ३–३ महिनामा आर्थिक वित्तिय विवरणहरु सार्वजनिक गर्न यसै बैठकमार्फत निर्देशन दिइन्छ ।

९) बैठकले काठमाडौं महानगरपालिकासँग समन्वय गरी नमूना सार्वजनिक शौचालय निर्माणको काम अघि बढाउने औपचारिक निर्णय गरेको छ। उक्त योजनाका लागि बैठकमा सहभागीहरुबाट रु ४० लाखको सहयोग संकलन भएको छ । बैठकले छात्रा शौचालयको समस्या भएका विकट तथा ग्रामिण क्षेत्रका विद्यालयसँग सहकार्य गरी शौचालय निर्माणको काम अघि बढाउने निर्णय गरेको छ ।

१०) बैठकले वैदेशिक रोजगारीका समस्या, समाधान र सम्भावनाको पहिचान गरी ६ महिनाभित्र एक श्वेतपत्र तयार गर्न विज्ञहरुको कार्यदल गठन गर्ने निर्णण समेत गरेको छ । साथै वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिको सीप र क्षमताको सदुपयोग गर्नका लागि उनीहरुको विवरण संकलनका लागि सरकारले अघि सारेको श्रम बैंक कार्यक्रममा सहकार्य गर्ने निर्णय गरिएको छ ।

११) गैरआवसीय नेपाली संघद्वारा प्रस्तावित र नेपाल सरकारले पनि घोषणा गरिसकेको तर कार्यान्वयनमा नआएको वैदेशिक सामाजिक सुरक्षा कोषको यथाशीघ्र कार्यान्वयन गर्न, तथा महिला कामदारहरुको समस्या समाधान लगायतका विषयमा नेपाल सरकारका सम्बन्धित निकायसँग पहल गर्ने निर्णय गरिएको छ ।

१२) संसदमा विचाराधीन नागरिकता ऐन संसदको यसै हिँउदे अधिवेशनबाट पारित गरी संविधानमा व्यवस्था गरिए अनुरुप गैरआवासीय नेपाली नागरिकतालाई कार्यान्वयन गर्न यो बैठक नेपाल सरकारको ध्यानाकर्षण गराउँदछ । यस्तै लगानी, सम्पत्ति र गैरआवासीय नेपालीको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसँग जोडिएको गैरआवासीय नेपाली सम्बन्धी ऐनको पुनर्लेखन गर्न र त्यसमा संघले पेश गरेका सुझावहरु समेत समेट्न यसै बैठकमार्फत नेपाल सरकार समक्ष यो संघ विशेष अनुरोध गर्दछ ।

१३) संघको संरचना प्रयोग भई प्रवर्द्धन भई आएका व्यवसायिक कम्पनीहरुको नाफाको निश्चित प्रतिशत संघको कोषमा जम्मा गर्नका लागि सम्बन्धित सबैलाई अनुरोध गर्ने निर्णय यस बैठकले गरेको छ ।

१४) अष्ट्रेलियामा लागेको डढेलोको कारण हुन गएको जनधनको क्षतिप्रति गहिरो दुखः व्यक्त गर्दै मृत आत्माको शान्तिका लागि यो संघ कामना गर्दछ । साथै उद्दार कार्यमा सक्रिय सहभागिता जनाउने राष्ट्रिय समन्वय परिषद् अष्ट्रेलियालाई विशेष धन्यवाद व्यक्त गर्दछ ।

धन्यवाद ।

गैरआवासीय नेपाली संघ,

मिति : २० जनवरी २०२०

कास्की, रुपाकोट, गण्डकी प्रदेश, नेपाल