NRNA अमेरिका:उम्मेदवारका जोडघटाउ, गन्थन, मन्थन र समर्थन:शिखरमा थापा

Hollywood Khabar July 15,2017 Comments

कृष्ण के सी/क्यालिफोर्निया/७/१५/१७
गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको २०१७-२०१९ कार्यकालको नेतृत्वका लागि आगामी अगस्ट ११ र १२ मा मतदान हुँदैछ। निर्वाचन आयोगमा हाल सम्म ५ जना अध्यक्षका प्रत्यासीहरुले आफ्नो उम्मेदवारी दर्ता गराएको कुरा सार्वजनिक गराएका छन्।
तर निर्वाचन आयोगको प्राइमरी लिस्ट भने आएको छैन।आयोगले जुलाई ८ सम्म इमेलबाट नोमिनेशन गरिसक्नु पर्ने र सोको सक्कल डकुमेन्ट मेलबाट जुलाई १३ सम्म पुग्नेगरी पठाइसक्नु पर्ने समय दिएको अवधी पनि समाप्त भएको छ।
हालसम्म प्रचारित बयान अनुसार ५ जनाले अध्यक्षका लागि आफ्नो उम्मेदवारी दर्ता गराएका छन। डा केशब पौडेल, कृष्ण पोख्रेल, रबिना थापा, राम पोख्रेल र गौरी जोसी। गौरी जोसी बाहेक सबैजना वर्तमान कार्यसमितीका अध्यक्ष, बरिष्ठ उपाध्यक्ष र उपाध्यक्षहरु हुन् भने जोसीले हाल सम्म NRNA को कुनै पनि कार्यसमितिमा काम गरेको रेकर्ड छैन।
निर्वाचन आयोगले प्राप्त उम्मेदवारीहरु प्रति जुलाई १६/१७ तारिक सम्ममा योग्यता र मापदण्ड पुगेका आधारमा प्राइमरी लिस्ट निकाल्ने संभावना छ। त्यसपछि उम्मेदवारहरु विरुद्ध दावी-बिरोधको अवधि रहन्छ। जुन कुरा आयोगको पुर्व सुचना अनुसार जुलाई १९ सम्म हुनुपर्ने हो।
तर टेक्सासकै मात्र १२०० मतदाताको छानविन गर्न परेको दावी बिरोधमा भने आयोगले जवाफ नै दिएको छैन। ती दावीमा परेका १२०० मतदाताहरु मध्य एउटै नामका १०/२० फरक थरका छन्। अनि ति सबै टेक्सासमा मात्र छन्।
अध्यक्षका लागि उम्मेदवारी दिएका भनिएका ५ जना मध्य तीन जनाको मात्र नाम चर्चामा छ। कसैलाई नैतिकता त कसैलाई बैधानिकताको प्रश्न खडा भएको चर्चा त छँदै छ। डा पौडेललाइ दोश्रो पटक उम्मेदवार हुन नैतिकताको अड्चन आउनु पर्ने कुरा एक उम्मेदवारले भनेका छन्। उसै पनि डाक्टर पौडेलको हातबाट नतिजा बाहिर गइसकेको छ भन्ने प्रमाण उहाँका लागि सपोर्ट गर्ने टीम नपुग्नु र भएका पनि अन्त जानुले पनि गर्दछ। यसको कारण उहाँ आफै हो।
उहाँका समर्थक उम्मेदवारहरु धमाधम रिसाउँदै धोका भयो भन्दै बाहिर निस्केका छन्। हरिश हमाल प्यानलमै नपारेकोले, सुर्य लम्साल महासचिव बाबुराम लामा होइन तपाईं नै हो भनेर अन्तमा नदिएकोले, सर्वज्ञ वाग्लेकै अगाडि पूर्णचन्द्र बानियाँलाइ आफ्नो टिमबाट उपाध्यक्ष आउने हो भने सर्वज्ञलाइ फाल्दिन तयार भएकोले, डिल्ली भट्टराइलाइ मच्चाएर-मच्चाएर बरिष्ठमा दिन्छु भनेर सुनील शाहलाइ बोकेकाले लगायत धेरैजना सबै भित्रभित्रै रुष्ट छन्। ती सबैजना निर्वाचनमा गएकाले केही भनेका छैनन तर भित्र-भित्र भुसको आगो भएका छन्।
पछिल्लो पटक रविना थापाको समर्थन गर्दै बरिष्ठ उपाध्यक्ष उठेका गजेन्द्र अर्याललाइ जसरी पनि जिताउँछु, मेरो टिममा बरिष्ठ आउनु पर्यो भन्ने फोन डा पौडेलले गरे पश्च्यात डा पौडेलकै टिममा सोही पदका लागि दावेदार भनिएका सुनील शाह डा पौडेलसँग चिडिनु भएको छ भनेर बजार भरी छताछुल्ल नआएको होइन। शाहलाई फकाउन शुक्रबार डाक्टर पौडेल टेक्सास सवार भएको करा पनि चलेको नै हो।
यति मात्र होइन गौरी जोसीलाइ बिधानले नदिने थाहा हुँदा-हुँदै उकास्ने पनि डा पौडेल भएको कुरा त प्रमोद सिटौलाको फेसबुकमा कोल्टायर हेरे अझै कथाहरु पाइएलान। रबिना थापालाई तीन-तीन पटक आफु उम्मेदवार नहुने भनेर अगाडि जान गरेको प्रतिबद्धता त न्यूयोर्कको प्रेसीडेण्ट डिबेटमा नै थापाले डा पौडेलको अगाडि लाइभमै भनको भिडियो हेर्दा देखिन्छ। कृष्ण पोख्रेल र राम पोख्रेललाइ पनि त्यसैरी नै झुक्याएको कुरा त स्वयम पोख्रेल ढ्वोयले बताउँछन्।
यसरी एकपछि अर्को गरेर हरेकलाइ झुक्क्याएर अन्तमा कोसँग साथ लिने हो, किन मरिमेट्ने त्यो भने थाहा हुन सकेको छैन। उता प्रवासी मंचले डाक्टर पौडेललाइ हराउन नै गौरी जोसीलाइ बोक्यो भने जनजाति महासंघले बाटो कुरेर बसेको छ, जसको अवस्था राम्रो हुन्छ, डाक्टर पौडेलको विपक्षमा जो जित्न सक्छ समर्थन दिने भनेर।
अर्को कुरा, हरेक उम्मेदवारलाइ डा पौडेलले सोही प्रकारको कुरा फोनबाट गर्ने गरेको बजारभरि आएको मात्र होइन उहाको फर्मुलाको राज खुलेको छ। त्यसै कारण एकपछि अर्को गर्दै ती सबैले डा पौडेललाइ छोड्दै गएका छन। उता उपाध्यक्षकी उम्मेदवार राधा पौडेल र आइसीसी सदस्यकी उम्मेदवार बन्दना कोइराला आफ्नो झोकको पोको खोल्न मौकाको खोजी गर्दै क्यूमा छन्। उनीहरुको उपाध्यक्ष र आइसीसी सदस्यमा सहयोग गर्ने सर्तमा रबिना थापा तर्फको टिममा प्रशताब आएता पनि छलफल नगरिएको कुरा थापा निकटका एकजना टेक्सास निवासीले बताएका छन्।
यो सबै नियाली रहेका तर रबिना थापा या डा केशब पौडेल मध्य जो बलियो हुन्छ उसैलाई मत दिने भनेर बसेको एउटा काँग्रेसी जमात छ। यो पंक्ति लेख्दै गर्दा तिनै मध्यका पाँच जनासँग कुरा भयो। उनीहरु संगठन भन्दा बाहिर गएर मत दिन मान्दैन मात्र होइन जान्दैनन पनि। जे संगठनको हितमा छ तेसै गर्छन। कुनै समयमा उनीहरुले भनेका थिए, समय आएपछि नेपाली काँग्रेसको इतिहासमा साथ दिएका रबिना थापा या डा केशब पौडेल मध्य जो बलियो छ, एकजना छान्ने छौ। जसको माहोल राम्रो हुन्छ, उसैलाई मत दिने छौ।  
त्यसैगरी काँग्रेसकै बिल्ला जोडिएका कृष्ण पोख्रेल र राम पोख्रेलको प्रतिस्पर्धा धेरै पछाडी भएको नियाल्दै त्यो काँग्रेसी नेटवर्कले यो पटक आफ्नो मत खेर नहाल्ने मात्र होइन अन्य पदमा पनि डेमोक्र्याट्स मध्यकाहरुलाइ जिताउने, प्राथमिकता दिने नै निर्णय गरेको बताउँछन्।
जनसम्पर्क समितिका अध्यक्ष र संगठन बिभागका प्रमुख समेतको एक टुकडीले एमालेको प्रवासी मंचका उम्मेदवार गौरी जोसी बोकेर हिंडेका बेला आफुहरुले भने नेपाली काँग्रेसको धर्म निभाउने बताउँछन् उनीहरु। तर एमालेको प्रवासी मंचका उम्मेदवारलाइ बोक्ने जनसमर्क समितिका अध्यक्ष र उहाँका केहीहरुप्रति भने उनीहरुको ठूलो गुनासो र कटाक्ष छ। नेपाली काँग्रेसको भात्रीसंस्था प्रमुख भन्ने अनि बोकेर चाँहि एमालेको प्रवासी मंचका आधिकारिक उम्मेदवार हिंड्ने। एकजना ट्रेड यूनियन काँग्रेसका पुर्व नेताले त भन्नुभयो- “यो त राजनैतिक संस्कार र चरित्र नै भएन।” हो हामी जान्दछौ यो NRNA भनेको गैर राजनैतिक संस्था हो तर नेपाली काँग्रेसको आस्थावान सक्षम साथीहरु हुँदा-हुँदै अन्त जानु राम्रो होइन। साधारण व्यक्तिलाई त ठीकै हो तर जनसम्पर्क समितिको प्रमुख व्यक्तिको नैतिकता भनेको आफ्ना सदस्य र समर्थकहरुलाई जिताउनु थियो त्यो भएन।
यो नेटवर्कका काँग्रेसीहरू अब जुर्मुराएका छन। यति मात्र होइन उनीहरु सबै उम्मेदवारहरुको बिगत र वर्तमानको योगदान र क्षमताको मुल्यांकनमा समेत जुटेका छन्। बिशेषगरी दोश्रो कार्यकालमा आउनेहरुको कार्यसंपदान पनि हेर्ने कुरा गर्छन।
अध्यक्षका प्रत्यासी पोख्रेल ढ्वोयको अवस्था सहज छैन। डा पौडेलको अन्तिम अवस्था हेर्दा नाजुक छ,  हरेक सिटीमा सहयोग गर्ने साथीहरु छैनन, साथ दिने भन्दा सर्वत्र बिरोध छ, हाम्रो समेत इज्जतको सवाल आइसकेकोले उनीहरुको भनाइमा डा पौडेल आफु माथि गएर रबिना थापालाई समर्थन गर्न अन्तिम सल्लाह दिने अन्यथा विकल्पमा मत दिने ठहर ति पाँचै जनाले बताए।
स्मरणिय कुरा के छ भने यो समूहले आसन्न जनसम्पर्क समितिको निर्वाचनलाइ समेत असर गर्न सक्छ। किन कि उनीहरु बाहिर आएका छैनन् तर नेपाली काँग्रेस पार्टी र अमेरिकामा रहेका नेपाली काँग्रेसका सम्बद्धहरुसंग राम्रो र सम्मानित हैसियत राख्दछन। ति मध्य एकजना त पार्टी सभापति शेर बहादुर देउबाको सामिप्य काम गरेका व्यक्ति छन्।
उसै पनि नेपाली जनसम्पर्क समति अकेरिकाका पदाधिकारीहरुमा अध्यक्षकी प्रत्यासी रबिना थापाको योगदानको प्रसंसा बढ्दो छ। सोही कुरा समितिका पुर्व संयोजक स्वयम बिष्णु सुवेदीले पनि नगरेको होइन। सुवीदीले पनि स्वीकारेको कुरा के हो भने आफु र आफ्नो टिमलाई लाइनमा बसेर जनसम्पर्क समितिमा जिताउन टेक्सासमा मत माग्ने डा पौडेल, कृष्ण पोख्रेल र राम पोख्रेल भन्दा पनि रबिना थापा नै हो। जनसम्पर्क समिति अमेरिकामा बिष्णु सुवेदीको कार्यकालमा हर तरहले सफल बनाउन सहयोग गर्ने नारायण थापा र रबिना थापा नै हो। यो अर्थमा पनि अन्तत सुवेदीले बाटो काट्ने अवस्था छैन, बरु बक्तब्य दिने दिन नजिकै छ भन्छन सुवीदी निकटकाहरु। तर सुवेदीसंग सम्पर्क गर्न खोज्दा २० सेकेण्ड मात्र कुरा सक्यो उहाँ व्यस्त हुनुहुन्थ्यो बिषयगत कुरा हुन सकेन।  
अन्तत सम्पूर्ण परिबन्धले उसै पनि नम्बर एकमा रहेकी रबिना थापा अब भने निर्विकल्प रुपमा बिजय उन्मुख देखिएको हो। यसको कारण डा पौडेल साख बचाउन पछाडी हटेर थापालाई समर्थन गर्ने संभावना व्हात्तै बढेको छ।परिवन्धले कोल्टे फेरेको छ अनि ध्रुवीकरण अब चुम्बकीय रुपमा बिपरित धारमा नभएर गणितिय रुपमा एकाघरका एकातिर जोडिने अवस्था आएको छ।
यही कुराको पुर्व संकेत संदेश नै “साथीहरुले चित्त बुझाए आफु निर्वाचनमा नजाने” भन्ने आसय टेक्सासबाटा जाँदै गर्दा एक मिडियालाई दिएको डा केशब पौडेलको उक्ति हो। यसो गर्दा ७०/८०% भन्दा ठूलो संख्याको काँग्रेसी जमात खुसी हुनेछ। यसैको लागि कांग्रेसी नेटवर्क, NRNA राष्ट्रिय र अन्तराष्ट्रिय नेटवर्क अनि अमेरिकी अभियन्ताहरुको दवाब नियमित रुपमा छ। यो गठजोडको ठूलो प्रभाव अमेरिका मात्र होइन आगामी काठमाण्डौको बिश्व अधिवेशन तथा सम्मेलनमा नेतृत्वका लागि आकांक्षीलाइ समेत असर पार्नेछ।
यसै प्रसङ्गमा एउटा अनलाइनले गौरी जोसीलाइ जीवा लामिछाने, डा बद्रि के सी, कुमार पन्त लगायतको समर्थन छ भनेर लेखेको कुरा पढ्दैमा धेरैजनाको हाँसोको कुरा यो पंक्तिकारलाई भन्नेहरु पनि लस्करै थिए। किन कि उहाँहरुले त्यसरी समर्थन कसैलाई पनि गरेको छैन। स्वयं आइसीसी उपाध्यक्ष कुमार पन्तले आज सदस्य बनेर भोली अध्यक्ष हुने सपना देख्ने कुरा एकदमै राम्रो होइन, आफु पनि जर्मनमा च्याप्टर देखि आइसिसि महासचिव हुँदै उपाध्यक्ष सम्म भएको बताएको कुरा पन्तजीसँगै जोडिएको कुर्चीमा बसेर गरेको रेकर्ड मसंग अझै छ। त्यो कुराको गवाइदिन सक्ने व्यक्ति एलएका एकजना पत्रकार पनि हुनुहुन्छ।
त्यसैगी डा बद्री के सीलेको नाम भजाउनेहरु पनि छन्, आजकाल अमेरिकामा। जबकी चुनावको कुरा नै उठाउनु भएको छैन डा के सीले भने समर्थन र बिमर्थनको त कुरै छाडौ। उल्टै उपाध्यक्ष ढ्वोय भबन भट्ट र कुमार पन्तलाइ समेत निर्वाचन प्रचारको गतिबिधि रोक्न सल्लाह दिने व्यक्ति नै महासचिव के सी हो। जुन कुरा यो पंक्तिकारसँगको कुराकानीमा केही महिना पहिला बताउनु भएको थियो।
अब निर्वाचन आयोगले लिस्टमा एस र नो हेरेर योग्य र अयोग्यको निर्णय कहिले दिने हो त्यो भने बाँकी छ। यो पटक बरिष्ठ उपाध्यक्षमा रबिना थापा प्यानलका गजेन्द्र अर्याल र डा पौडेल प्यानलका सुनिल शाहबीच प्रतिस्पर्धा हुनेछ। उपाध्यक्षमा भने चर्चाको शिखरमा रबिना थापा प्यानलका भुबन आचार्य, सुमन बुढा मगर र नारायण बन छन् भने गौरी जोसी प्यानलका उमा थापा कार्की, संजीव श्रेष्ठ प्रमुख प्रतिस्पर्धी हुन् भने डा केशब पौडेलको प्यानलमा पुगेर पछाडी परेका राम सुवेदीलाइ काँग्रेसीहरुले बढी मन पराउँछन्। स्वतन्त्र उठेको भए राम सुवेदीलाइ सबै भन्दा बढी मत प्राप्त हुने र चर्चाको शिखरमा पुग्ने मौका थियो।  
अध्यक्ष पछि दोश्रो चर्चाको पद महासचिवको पदमा ४/५ जना व्यक्तिहरुको नाम सुनिए ता पनि प्रमुख प्रतिस्पर्धा भने रबिना थापा प्यानलका महेश मल्ल र डा केशब पौडेल प्यानलका बाबुराम लामाबीच हुने पक्का छ। महेशलाइ न्योयोर्क, क्यालीफोर्निया र डिसि मेट्रो एरियाको ७०-८०% सम्म सपोर्ट छ भने टेक्सासको ५०% समर्थन छ।त्यो नै जित्नको लागी काफी छ।
कोषाध्यक्षमा भने यो पटक NRNA अमेरिकाको मात्र होइन नेपालीहरुको संस्थाकै इतिहास तोडिनेवाला छ। रबिना थापा प्यानलबाट प्राध्यापक डा प्रकाश अर्याल जस्तो बिशिस्ट व्यक्ति पाएको छ NRNA ले । डा अर्यालको प्रतिस्पर्धा गर्ने हैसियत यो पटक बजारमा आएका कुनै पनि उम्मेदवारको पनि छैन।
यस्तै गरी सचिवमा एकै पटक चर्चीत बनेका रबिना थापा प्यानलका टेक बहादुर लामा हो। लामाको अडान र प्रतिबद्ध रहने बानीले जितको नजिक पुर्याएको छ। लामाका पछाडी तामांग समुदायको सिंगो साथ अनि थापा टिममा सबै भन्दा दरिलो नै लामा देखिदै आएका छन् भेन होम गौतमको अवस्था जित्ने हो ता पनि कहिले रबिना थापा, कहिले गौरी जोसी त कहिले डा पौडेल गरेका कारण अब सबैतिरबाट लात मरिन्दै जाँदा गुमेको अवस्था हो।
महिला संयोजकमा रबिना थापा प्यानलकी इन्दिरा त्रिपाठी र गौरी जोसी प्यानलकी लक्ष्मी थापा खरेलको प्रतिस्पर्धा छ। तर डा पौडेलको उम्मेदवार नै नभएको अवस्थामा ती दुवैको मत पाउने इन्दिरा त्रिपाठीको जीत निश्चित प्राय भएको छ। उसै पनि त्रिपाठी NRNA अभियानमा २०१५ देखि सकृय हो।
११ जनाका लागि हुने बोर्ड सदस्य निर्वाचनमा अति चर्चामा र तानातान समेतमा परेका, तान्दा तान्दा शरिर नै च्यातिने अवस्था सम्म परेका छन्। अग्र स्थानका भाग्यमानीहरुमा रबिना थापा प्यानलका मन मोहन वाइबा (मोहन वाइबा) कृष्ण जि सी, कर्ण चन्द, नृपेन्द्र धिताल, प्रकाश शर्मा, भविन्द्र शेर्पुञ्जा, ख्याम लाल भट्ट, पुष्प लता भण्डारी, सबिन्द्र थापा हुन्। गौरी जोसी प्यानलका संजय थापा र डा पौडेल तर्फकी दिब्य के सी ओली अनि स्वतन्त्र रहेकी बिन्दु सापकोटाको चर्चाका कडा प्रतिस्पर्धामा छन्। बाँकीको अवस्था सामान्य छ।
अन्तमा ८ सिटका लागि हुने ICC सदस्यका लागि जित्ने आधार भएका र नाम नै लिने प्रतिज्ञा गरेका व्यक्ति भनेका छिरिङ्ग राप्के लामा, लोक तिवारी, बिष्णु मान प्रधान, बेद राज बस्नेत, प्रकाश सापकोटा, बनिता कतिला, बलराम थापा र सुशील रेग्मी हुन्।   
बजारमा अध्यक्षका प्रतिस्पर्धीले आफ्नो प्यानलकार्ड फाल्ने कार्य जोडतोडका साथ गरेका छन्। उम्मेदवारहरु कहिले कता त कहिले कता झिल्किने, मिल्किने, तिल्किने, चलखेल गर्ने समय चलेको छ। बजार तातेको छ, उम्मेदवारका हार-जित र जोडघटाउ अनि गन्थन, मन्थन र समर्थन बेजोड चलेको छ। फेसका वाल देखि अनलाइन समाचारका लिंक सम्म चर्केको छ NRNA अमेरिका।