-एनआरएनए यूकेको सदस्यता ९ हजार भन्दा धेरै आवेदन समय सकियो

एनआरएनए यूकेको सदस्यता ९ हजार भन्दा धेरै आवेदन समय सकियो

Hollywood Khabar June 10,2021 Comments

लण्डन, जुन ११, २०२१

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) यूकेले जुन १० सम्मको लागि खुला गरेको सदस्यताको लागि आवेदनको दिने म्याद सकिएको छ।

मार्च २२, २०२१ मा बसेको एनआरएनए एनसीसी यूकेको बैठकले २०२१-२०२३ कार्यकालको लागि निर्वाचन प्रयोजनार्थ १ अप्रिलदेखि १० जुनसम्म सदस्यता आवेदन खुला गरेको थियो। कार्य समितिले खुला गरेको सदस्यता आवेदनको म्याद जुन १०, २०२१ अर्थात बिहीबार मध्यरातदेखि सकिएको छ।

तोकिएको म्याद सकिए पनि एनआरएन एनसीसीले भने औपचारिक रुपमा म्याद सकिएको घोषणा गरेको छैन। नेतृत्वले म्याद थप गर्ने प्रयास स्वरुप पटक-पटक बैठक आह्वान गरे पनि कुनै सहमति हुन सकेको छैन। अध्यक्ष पूनम गुरुङले दुईदिन अघि नै म्याद थप्ने प्रस्ताव बैठकमा राखे पनि सहमति हुन सकेको थिएन। बिहीबार साँझ पनि गुरुङले बैठक राखेकी थिइन्।शुक्रबार बिहान सम्म चलेको उक्त बैठकमा पनि म्याद थप गर्ने विषयमा सहमति जुट्न सकेन। सहमति नजुट्दा समेत सदस्यता आवेदनको मिति सकिएको सूचना भने एनसीसीले जारी गरेको छैन। सदस्यता आवेदनका लागि तोकिएको वेबसाइट पनि बन्द गरिएको छैन।

यसैबीच, सदस्यता आवेदनको म्याद समाप्त भएको सूचना जारी गर्न र तत्काल आवेदन रोक्न माग गर्दै कार्य समितिकै पाँच जना उपाध्यक्षहरुले एनसीसी यूकेकी अध्यक्ष पुनम गुरुङ र एनआरएनए यूरोप क्षेत्रीय संयोजक नारायण आचार्यलाई पत्राचार गरेका छन्। उपाध्यक्षहरु प्रेम गाहा मगर, सुनीलबाबु खड्का, रामचन्द्र पोखरेल, नारायण कँडेल र मोहन कार्कीले संयुक्त रुपमा पत्र लेख्दै तत्काल आवेदन प्रक्रिया रोक्न माग गरेका हुन् ।

एमआइएस प्रणालीकै दुरुपयोग हुन सक्ने आशंका

उनीहरुले सदस्यता आवेदनको मिति पटक पटक थप गर्दा त्यसले निर्वाचन प्रक्रियालाई दुषित बनाउन सक्ने, अन्तिम समयमा चलखेल गरेर फर्जी सदस्यको नाममा आवेदन दिने प्रयास हुन सक्ने र एमआइएस प्रणालीकै दुरुपयोग हुन सक्ने आशंका व्यक्त गरेका छन् ।

पाँच उपाध्यक्षहरुले पत्रमा भनेका छन्। एनआरएनए एनसीसी यूकेको चुनाव स्वतन्त्र, निष्पक्ष र विश्वसनीय वातावरणमा सम्पन्न हुनुपर्छ बेलायतस्थित प्रमुख सामाजिक संघ संस्थाहरुको राय समेतका आधारमा अहिले अन्तिम समयमा आएर म्याद थप गर्ने बारे कुनै पनि निर्णय नगर्न हामी आग्रह गर्दछौं।

उनीहरुले आग्रह विपरीत म्याद थपको निर्णय गरिएमा निर्वाचन प्रक्रियाको विश्वासनीयता कायम गर्नका लागि आफूहरु जस्तोसुकै कदम उठाउन पनि तयार रहेको चेतावनी दिएका छन्। उपाध्यक्षहरुले सदस्यता दर्ता गर्न खोलिएको वेवसाइट तत्काल बन्द र गएराति बाह्र बजेसम्म दर्ता भएका बाहेक अन्य आवेदनहरु रद्द गर्न पनि माग गरेका छन् ।

त्यस्तै, यूरोप क्षेत्रीय संयोजक आचार्यलाई लेखेको पत्रमा सदस्यता आवेदनका लागि तोकिएको समय सकिँदासमेत आवेदन लिने काम जारी रहेको भन्दै यसले निर्वाचन प्रक्रिया स्वच्छ र निष्पक्ष हुनेमा आशंका उब्जेको उल्लेख गरेका छन्। उनीहरुले पत्रमा लेखेका छन्, ‘निष्पक्ष निर्वाचन मार्फत नयाँ नेतृत्व चयन गर्ने हामी सबैको चाहनामा यस्तो गतिविधिले ठेस पुर्याएको मात्रै छैन, आधिकारिक निर्णय, विधि र प्रक्रियाको पनि खिल्ली उडाएको छ ।

पत्रमा कार्य समितिको यसअघिकै निर्णय आधार मान्दै तत्काल सिस्टममा नै सदस्यता आवेदन बन्द गर्न माग गरिएको छ ।

९ हजारको आवेदन

गैरआवासीय नेपाली संघ यूकेको सदस्यताका लागि करिव ९ हजार बेलायतवासी नेपालीहरुले आवेदन दिएको जानकारी प्राप्त भएको छ। स्रोतका अनुसार आवेदनमध्ये केहीको भेरिफिकेसन हुन बाँकी छ । गत वर्ष १३ हजार बढी सदस्य थिए।

त्यस्तै, बिहीबार राति १२ बजेबाट सदस्यता आवेदन दिने म्याद सकिए पनि प्रणाली भने खुलै रहँदा शुक्रबार बिहान पनि केही आवेदन परेका छन्। प्रणालीमा नै आवेदनको मिति र समय खुल्ने भएकाले पहिचान गर्न भने समस्या नहुने बताइएको छ।

तर, भेरिफिकेसनको अधिकार प्राप्त केही पदाधिकारीहरुले भने शुक्रबार बिहान पनि म्याद सकिएपछि परेका आवेदनको प्रमाणीकरण गरेको आशंका गरिएको छ।यस वर्षदेखि एनआरएन यूकेमा सदस्यता आवेदनका लागि एमआईएस सिस्टम अनिवार्य गरिएको छ।