-अनलाइन साहित्यिक सम्मेलनकाे दाेस्राे भाग सम्पन्न

अनलाइन साहित्यिक सम्मेलनकाे दाेस्राे भाग सम्पन्न

Hollywood Khabar April 26,2020 Comments

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाद्वारा गठित नेपाली साहित्य संरक्षण र सम्बर्धन समितिको दाेस्राे अनलाइन साहित्यिक सम्मेलन अप्रिल २६ तारिक आइतबार सम्पन्न भयाे ।

एनआरएन एनसिसि युएसएका उपाध्यक्ष तथा समितिका अध्यक्ष सर्वज्ञ वाग्लेद्वारा स्वागत गरी सुभारम्भ भएकाे कार्यक्रमकाे संचालन समितिका उपाध्यक्ष पीपलमणि सिग्देल तथा एनआरएनए क्यालिफाेर्निया च्याप्टर अध्यक्ष सुरेन्द्र मल्लले गर्नुभएकाे थियाे ।

कार्यक्रममा हरि काफ्लेले छन्द कविता, दिनबन्धु पाखरेलले कविता, सर्वज्ञ वाग्लेले कविता, शान्ता अधिकारी घिमिरेले गजल, राजेन्द्र कार्कीले कविता, सतिश त्रिपाठीले कविता, गीता बजगाईंले कविता, कृष्ण गिरीले कविता र मुक्तक, बाबु आचार्यले गीत, उर्मिला जाेशीले कविता, विष्णुमाया खनालले गीती कविता तथा पीपलमणि सिग्देलले छन्द कविता समेत गरी सहभागीहरुले आ-आफ्ना रचना सुनाउनुभएकाे थियाे ।

अधिकांश कविता, मुक्तक, गीत तथा गजल समसामयिक विषयमा सुनाइएका थिए । काेराेना भाइरसकाे त्रास, कारण तथा बच्ने उपाय र सुझावका विषयमा पनि रचनाहरु बाेलेका थिए ।

हरेक महिनाकाे अन्तिम आइतबार अमेरिकाकाे पूर्वीय समयअनुसार बेलुकी ९ बजे अनलाइन साहित्य सम्मेलन गर्ने निर्माण भए बमाेजिम याे दास्राे कार्यक्रम थियाे । याेग प्रशिक्षक सुरेश भट्टले याेगमहिमाकाे विषयमा समेत चर्चा गर्नुभएकाे थियाे ।

समितिका संयाेजक सर्वज्ञ वाग्लेकाे अध्यक्षतामा केही हप्ता पहिले बसेकाे बैठकले अनलाइन साहित्य सम्मेलन गर्ने निर्णय भएकाे थियाे । साे बैठकमा समितिका उपसंयाेजकहरु पीपलमणि सिग्देल र डा. ईश्वरी पाण्डे तथा सतिश त्रिपाठी, सुनिता बस्नेत थापा, शशी भट्टराई, सूर्यमाेहन तिवारी, रमा खतिवडालगायतका सदस्यहरुकाे सहभागिता रहेको थियो ।

साे पहिलो बैठकमा उपसंयाेजक तथा सदस्यहरुले पनि भावी याेजनाका विषयमा आ-आफ्नो धारणा राख्दै समितिले नेपाली भाषा कक्षाका लागि पाठ्यक्रम आदि निर्माण गरी समन्वय गर्ने निर्णय समेत गरेकाे छ । त्यसैगरी अमेरिकामा रहेका साहित्यकारहरुकाे डाटाबेस तयार गर्ने विषयमा पनि छलफल भएकाे थियाे । बैठकले स्मारिका प्रकाशन गर्ने, साहित्यिक रचनामाला प्रकाशन गर्ने, साहित्यकारका लागि पुरस्कार स्थापना गर्ने, साहित्यिक प्रतियोगिताहरु संचालन गर्ने आदि विषयमा छलफल भएकाे थियाे ।