Hollywoodkhabar advertisement

पीपलका पातहरू

-Tirtharaj Adhikari
0
shares

-तीर्थराज अधिकारी, गोरखा, लप्सीबोट; हाल:सरस्वतीनगर, काठमाडौँ-६/१०/२९/२०

सानो बीज
फैलिइन्छ - निरन्तर
सङ्घर्षले
माटो गालेर
ढुङ्गो फोरेर
भूगर्भ यात्रमा
जराहरू लम्किइरहन्छन् ।

शिर उठाई
उचाइ घटाइरहन्छ - आकाशको
हजारौँ वर्षको
शीत/तापको
आरोह/ अवरोहको
शताब्दी शताब्दीको
सृष्टि/ प्रलयको
साक्षी बनेको छ
मौन तपस्वी !

वसन्त
हरित वस्त्रले सजाओस् कि
शिशिर
पूरै नङ्ग्याओस्
कुनै उमङ्ग र उत्पीडनका
प्रतिक्रियाशून्य छ
मौन तपस्वी !

तपस्वी
शीत झार्छ - इन्द्रेणी झुलाउन
तपस्वी
तल्लीन छ - नजरहरूमा रङ्ग सजाउन !

पूजित छ - भक्तहरूको
विनाभेद काख लिन्छ
मानव/ मानवेतर ।

तपस्वी
उपकारको विनाविज्ञापन
झरीमा ओत
गर्मीमा शीतल
दिन्छ निरन्तर ।

तर तिनै सङ्घर्षले खारिएका
जराका रस निलेर
तपस्वीकै जिउमा पलाएका पातहरू
खै ! किन हो ?
मौसमी भाका मिलाउने
मान्छेका ओठहरूसित पो
मित लगाउँछन्
सानै हावासित तिर्मिराएर
तिनकै तालमा फिर्फिराएर
'पीपलपाते' कहलाउँदै
तपस्वी अस्तित्वमै
क्षणक्षण सङ्कट ल्याइरहन्छन् !!