यस वर्ष देशभर एक करोड वृक्षरोपण गरिने

Hollywood Khabar September 18,2021 Comments

सरकारले राष्ट्रसेवक कर्मचारी वृक्षरोपण अभियानअन्तर्गत यस वर्ष देशभर गरी एक करोड वृक्षरोपण गर्ने अभियान सञ्चालन गरेको छ । सरकारले निजामती कर्मचारीका साथै नेपाली सेना, प्रहरी, सार्वजनिक संस्थानमा कार्यरत कर्मचारी लगायत सबै राष्ट्रसेवक कर्मचारीलाई सामाजिक कार्यमा क्रियाशील गराउन र वातावरणलाई हरियाली प्रवर्धन गर्ने उद्देश्यले चालू आर्थिक वर्षमा एक करोड वृक्षरोपण गर्न लागेको हो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार गत भदौ १६ गते प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडाँै महानगरपालिका–१३ स्थित ताहचलको विष्णुमती करिडोर क्षेत्रमा वृक्षरोपण गरेर राष्ट्रसेवक कर्मचारी वृक्षरोपण अभियानको शुभारम्भ गर्नुभएको थियो । त्यस्तै भदौ २३ गते मुख्यसचिव शङ्करदास वैरागीले गोकर्णस्थित निजामती पार्कमा वृक्षरोपण गर्नुभएको थियो । वन तथा वातावरण मन्त्रालयका सचिव डा। पेमनारायण कँडेलले राष्ट्रसेवक कर्मचारी वृक्षरोपण अभियानअन्तर्गत अहिले पनि देशका विभिन्न स्थानमा वृक्षरोपण कार्य भइरहेको जानकारी दिनुभयो ।

निजामती सेवा दिवसकै सेरोफेरोमा वन मन्त्रालयको समन्वयमा जनकपुरमा दुई हजार बिरुवा रोपिएका छन् । सरकारले निजामती सेवा दिवसको सन्दर्भमा सुरु गरेको वृक्षरोपण कार्य संविधान दिवस, प्रजातन्त्र दिवस, शिक्षा दिवसलगायतका विभिन्न महìव पूर्ण दिनमा सबै राष्ट्रसेवकले अभियानकै रूपमा सञ्चालन गर्नेछन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव तुलसीप्रसाद दाहालले कर्मचारीलाई सामाजिक कार्यप्रति लाग्न उत्साहित गर्दै थप सिर्जनशील बनाउने गरी राष्ट्रसेवक कर्मचारी वृक्षरोपण कार्यक्रम सुरुवात गरिएको बताए  ।

वन तथा वातावरण मन्त्रालयअन्तर्गत ४८ वटा डिभिजन वन कार्यालय, १४ वटा भू–संरक्षण कार्यालय, पाँचवटा राष्ट्रपति चुरे संरक्षण कार्यक्रम, विभिन्न स्थानमा भएका नर्सरीलगायत स्थानयबाट र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत सबै मन्त्रालय, सातवटै प्रदेश कार्यालय, ७५३ स्थानीय तहबाट वृक्षरोपण गरिएको तथ्याङ्क लिइनेछ ।