मेरी आमाको साथमा म

कविता मेरी आमा

Hollywood Khabar April 21,2020 Comments

मेरी आमा मलाई गर्भमा लिएर,
बिहानीको झुल्के घामको पहिलो किरणसँगै, 
मेरो भविश्यको परिकल्पना तयार गर्दै,
त्यतिखेरैदेखि मेरो सुस्वास्थ्यको कामना गर्दै,
कोईलीको गीत र मयुरको मन्त्रमुग्ध पार्ने नाच हेर्दै,
खोला नाला र सौरघारीका सुसेलीहरुसंग माया गाँस्थिन् रे
मेरालागि उनेर थुप्रै सपनाहरु,
स्वच्छ र निर्मल हिम श्रङ्खलाहरु पग्लिए झै,
मेरो धर्ति आगमनको अकल्पनिय आतुरतामा 
चञ्ञल र चुलबुले हुदै रमाउँथिन रे मेरी आमा !
रेडियोमा बज्ने देशभक्तिका सुन्दर गीतहरु
मलाई सुनाउन आमा रेडियोसंगै टाँसिएर बस्थिन् रे !
छहराका छङ्गछङ्ग सुनेर प्रकृतिको काखमा
साना-साना खुशीहरुले पनि उनलाई 
मेरो आगमनको त्यो मिठो अनुभुतिले 
आल्हादित हुन्थिन रे मेरी आमा ।


ऽऽऽऽऽऽऽऽऽऽऽ
मेरो तोतेबोलीसंगै जिस्किदै ,
मेरा लागि मायाको बर्को ओढाउँथिन रे !
टुकुटुकु हिड्दा मेरा लागि जमिन थरथराउँदा,
औंला समाई तातेताते गर्दै खेलाउँथिन् रे!
सकिनसकि हिड्न खोज्दा लडिहालेभने म ,
हरेशिव मेरो बाबा भन्दै सुम्सुम्याउँथिन् रे !
ममताले ओतप्रोत हुदै मेरा ती कोमल गालामा,
ममताका म्वाइँहरु बर्साउँथिन रे उनी,
साँझपख किरकिर गर्दै ,
किरा फट्याङ्ग्राले दिने मिठो संगितमा,
हाउगुजी भन्दै मिठो भाकामा त्रास पनि भर्थिन् रे उनी,
तब म आमाको फरियाको फैर समाउँदै वरिपरि झुम्मिएर,
पुतलीहरुले वत्तिलाई घरेझै घेरिरहन्थे रे ।
मेरी आमा तल्लो गरा र माथ्लो गरा गर्दै,
कम्मर भाँचिनेगरि श्रम गर्दै,
मेरो सुन्दर भविश्यका लागि पसिना चुहाईरहदा पनि,
विशाल पहराझैं छाती भएकी मेरी आमा ,
रमाउँदै असारको हिलोसंगै,
अनि चैत्र बैशाखको धुलोसंगै ताली बजाउँथिन रे 
प्रकृतिकी चेली मेरो पहिलो गुरुआमा मेरी आमा
हरेक मेरा कदमहरुको सफलताको कामना गर्दै
आफना सपनाहरुलाई मेरो सपनामा रुपान्तर गर्दै
मेरा हरेक पाईलाहरुमा आफ्ना सपनाहरु 
साकार भएको देख्ने उनी हुन मेरी आमा।

ऽऽऽऽऽऽऽऽऽऽऽऽऽ 
मेरो सारा धर्ती बनेर उनी
सधैंसधैं मेरो सुन्दर धर्ती बनेर
कहिल्यै वर्ण गरेर नसकिन मेरी आमा
ठूलठूला अजङ्गका रुख झै स्थिर
जति पूजे पनि कम हुने प्रकृतिको आँगनमा
सहर्ष मेरो र मेरो सपनाका खातिर आराधना गरिरहने
मेरो जीवनको हरेक तालमा ताल मिलाउँदै
धर्तीसित माया लाउँदै
मेरा लागि सदा सर्वदा आशिष बर्षाईरहने
मेरो सुन्दर भविश्यका लाग जपतप 
अनि पुजा अर्चनामा हरपल लिन भईरहने 
मेरो आँखाको नानी दिलको धड्कन जीवनको लक्ष्य
ति महान नारी सर्वत्र पूजनिय
मेरो नशानशामा बगिरहने 
उनै मेरी जिन्दगी मेरी आमा प्रति
सदा नतमस्तक हुदै सादर प्रणाम 
अनि आमाका ति चरण कमलमा साष्टाङ्ग दण्डवत्।
अभिमन्यु दिपक
२०७७।०१।११।५