-राष्ट्रिय सभाका सदस्य प्रकाश पन्थ

४ वेद १८ पुराणका रचयिता वेदव्यासको जन्मभुमि भ्रमण गर्न सांसद प्रकाश पन्थकोआग्रह 

Hollywood Khabar January 19,2020 Comments

६ माघ, काठमाडौं ।राष्ट्रिय सभाका सदस्य प्रकाश पन्थले वेद व्यास वाज वर्न इन नेपाल, पिलिज हेल्प एण्ड भिजिट दिस एन्सिन्ट प्लेस इन योर लाइफ"भन्दै ४ वेद १८ पुराणका रचयिता वेदव्यासको पवित्र जन्मभुमि व्यासनगरको भ्रमण गर्न आग्रह गरेका छन्।सोमबार राष्ट्रिय सभा बैठक मार्फत सांसद पन्थले वेदव्यासको जन्मभुमिलाई धार्मिक पर्यटकीय र वैदिक दर्शनका हिसावले संसारमा चिनाउन वेदव्यासको १०८ फिटको मूर्ति स्थापनामा सरिक हुन सबैलाई आग्रह गरेका हुन्।राष्ट्रिय सभाका सदस्य  प्रकाश पन्थले राष्ट्रिय सभा बैठकमा वेदव्यासको जन्मभूमिको  बारेमा गरिएको सम्बोधन जस्ताको तस्तै :
 
सम्माननीय अध्यक्ष महोदय,
आज म यो सम्मानित राष्ट्रिय सभा मार्फत राजनैतिक भन्दा पनि अलि फरक तर मुलुक र नेपालीका लागि पौराणिक महत्व बोकेको वेदव्यासको जन्म भुमि र यसको धार्मिक पर्यटकीय महत्वका दृष्टिले आफ्ना केहि भनाइहरु राख्दै सबै तहका सरकार समेत सम्बन्धित सरोकारवालाहरु सबैमा ध्यान आकर्षण गराउन चाहान्छु । सहयोगका लागि अनुरोध गर्न चाहान्छु ।

वेद, पुराण, उपनिषद, महाभारत आदि ग्रन्थ लेखी ज्ञान सर्वत्र फैलाउनेलाई वेदव्यास भनिन्छ । यो उपाधि हो र २८ औं व्यासको नाम श्रीकृष्ण द्वैपायन हो । वेदव्यासको जन्म हाम्रै देश नेपालको तनहुँ जिल्ला, व्यास नगरपालिकाको दमौली स्थित शुक्ला र माहेन्द्री (हाल सेती र मादि भनेर चिनिने) नदीको संगम द्वीपमा आजभन्दा करिब ५ हजार ३ सय वर्ष अगाडि द्वापर युगको अन्ततिर भएको थियो । उक्त कुरा स्कन्द पुराणको हिमवतखण्ड अन्तर्गत गण्डकी माहात्म्यको परिशिष्ट भागमा समेत स्पष्ट उल्लेख गरिएको छ र यस सम्बन्धमा अन्य थुप्रै तथ्यहरु समेत प्राप्त भएका छन ।

पवित्र सप्तगण्डकी नदीहरुले सिञ्चीत भइ पौराणिक सभ्याताको समेत विकास भएको यो क्षेत्र, हाल उत्तरमा मुक्तिनाथदेखि देवघाट हुँदै दक्षिणमा त्रिवेणीधामसम्म फैलिएको छ । हालको गण्डकी प्रदेश पौराणिक कालदेखि नै पवित्र गण्डकी क्षेत्र धामका रुपमा नै स्थापित थियो र हाल पनि कायम छ ।हामी सबै यही गण्डकी प्रदेशको तनहुँको व्यास नगरीमा रहेको वेदव्यासको पवित्र जन्मभुमि जहाँ ४ वेद १८ पुराण समेत रचिएका थिए ।

यसै पौराणिक र वैदिक क्षेत्रलाई धार्मिक पर्यटकिय दृष्टिले थप विकास गर्न प्रयास गरिरहेका छौं । ०४६ सालको ऐतिहासिक परिवर्तनसँगै यसै नाउँबाट व्यास नगरपालिकाको समेत स्थापना र नामाकरण भएको थियो । नेपाल सरकार, प्रदेश सरकार, व्यास नगरपालिका र स्थानीय तनहुँवासी लगायत विभिन्न संघसंस्था तथा सरोकारवालाहरु समेतको सहयोग प्रयासमा यसको अनुसन्धान र विकासमा लगातार कामहरु भैरहेका छन ।

वेदव्यासको जन्मभुमिलाई थप विकास गरी व्यास जन्मभुमिलाई धार्मिक पर्यटकीय र वैदिक दर्शनका हिसावले संसारमा चिनाउने, आन्तरीक र बाह्य पर्यटनको विकास र पर्वद्धन गर्ने उद्देश्यका साथ १०८ फिट उचाईको पूर्णकदको वेदव्यासको उभिएको मूर्ति स्थापना गर्ने संकल्पका साथ तनहुँवासीहरु जुटिरहेका छन । जसबाट संसारको ध्यान आकर्षण हुनेछ । आन्तरीक र बाह्य पर्यटकहरुको यथेष्ट आगमनले स्थानीय स्तरमा समेत रोजगारीका अवसरहरु वृद्धि हुनेछ।मुलुककै समृद्धिको यात्रालाई टेवा पुग्नेछ । विस्तारै तनहुँ र गण्डकी प्रदेश हुदै नेपालकै आकर्षण धार्मिक पर्यटकिय गन्तव्यका रुपमा विकास हुने देखिएको छ । विस्तारै जनकपुर र लुम्बिनी जस्तै गण्डकी प्रदेश हुँदै विश्वभर नै यो आकर्षणको केन्द्र हुनेछ र दीर्घकालिन रुपमा राज्यलाई समेत टेवा पुग्ने देखिन्छ।भविष्यमा पुरातात्विक एवं सांस्कृतिक महत्वका यस्ता धरोहरले समाजलाई सुसभ्य र सुसंस्कारित बनाउदै वैदिक दर्शनप्रति अभिप्रेरित गर्नेछ ।

राष्ट्रिय पुरातात्विक महत्वका यस्ता विरासत स्थापना गर्नाले एकातिर वैदिक दर्शनका प्रणेताप्रतिको श्रद्धा एवं सम्मान हुनेछ भन्ने अर्कातिर भविष्यमा यो क्षेत्र वैदिक दर्शनको अध्ययनका लागि एउटा प्रभावकारी केन्द्र बन्न सक्नेछ ।यो गौरवपूर्ण कार्यलाई सम्पन्न गर्ने जिम्मेवारी राज्य र हामी सबै नेपालीको काँधमा आएको छ र हामी सबैको कर्तव्य पनि हो । यस कार्यमा सहयोग पुर्याइदिनु हुन म यस सम्मानित राष्ट्रिय सभा मार्फत सबै नेपाली दाजुभाइ दिदीबहिनीहरु, संघसंस्था, सहयोगदाता एजेन्सीहरु सहित नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारहरु सहित सम्बन्धित सबै सरोकारवालाहरुमा हार्दिक अनुरोध गर्दछु ।

व्यासक्षेत्र शिवपाञ्चायन विकास कोषले यस सम्बन्धमा विभिन्न कार्याहरु गरिरहेको छ।विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) एवं गुरुयोजना समेत तयार गरिएको छ । स्थानीय, प्रदेश र नेपाल सरकार सहित सम्बन्धित मन्त्रालयहरुमा प्रतिवेदनहरु पेश गरिएको छ । नोपल सरकार संस्कृति तथा पर्यटन मन्त्रालय र माननीय मन्त्रीज्यूलाई समेत भेटेर कुराकानी छलफलहरु भएका छन । सहयोगहरु माग गरिएका छन । वेदव्यासको विराट मूर्तिका अतिरिक्त अन्य संरचनाहरु सम्पन्न गर्न ६४ करोड रुपैयाँ लाग्ने प्राविधिक अनुमान लागत आएको छ ।

भगवान वेदब्यास अवतरित हुने मूहुर्तका लागि निमित्त बन्नु भएका महर्षि पराशर र सत्यवती भेट भएको क्षणमा महर्षि पराशरले कुहिरोको सृष्टि गर्नु भएको प्रसङ्ग महाभारतको आदि पर्वमा उल्लेख छ । यी सबै झलक एवं अन्य प्रसङ्ग एवं सन्दर्भहरुलाई समेत मूर्तरुप दिने गरी ब्यासको प्राकट्य भूमिको परिसरमा ब्यासको १०८ फिट उचाइको मूर्तिका अतिरिक्त विवध आध्यात्मिक संरचनाहरु निर्माण सम्पन्न गर्ने योजना समेत डिपिआरमा स्पष्ट पारिएको छ ।उक्त पौराणिक र वैदिक महत्वको योजना सम्पन्न गर्न जनस्तरबाट पनि सहयोग सङ्कलन गर्ने उदेश्यले यही ०७६ माघ २० देखि २८ गतेसम्म श्रीमद् भागवत सप्ताह बिराट ज्ञान महायज्ञ सञ्चालनको तयारी समेत भइरहेको छ ।

सम्माननीय अध्यक्ष महोदय,
अन्त्यमा म यस सम्मानित राष्ट्रिय सभा मार्फत फेरी तीनै तहका सरकारहरु, सम्पूर्ण नेपालीहरु, सहयोगदाताहरु लगायत सम्बन्धित सरोकारवालाहरु सबैमा यो ऐतिहासिक र पौराणिक जिम्मेवारीमा सहयोग पुर्याइदिनु हुन अनुरोध गर्दछु र विश्व समुदायलाई भन्न चाहान्छु कि "वेद व्यास वाज वर्न इन नेपाल, पिलिज हेल्प एण्ड भिजिट दिस एन्सिन्ट प्लेस इन योर लाइफ"धन्यवाद, जय नेपाल ।