Hollywoodkhabar advertisement

पुर्ख्यौली घरबारी

-Ram Prasad Niraula

-रामप्रसाद निरौला, सुकेधारा, काठमाडौॅं, सेप्टेम्बर १२, २०२०

 

बटुवाले जथाभाबी फूल र कोपिला चुॅंडेर

तहसनहस भएको फूलबारी

कान्ला कान्लामा झ्यास बढेर

जताततै फैलिएको काॅंडाघारी

मिलिजुली सम्हाल्न नसकेर

भताभुंग भएको पुर्ख्यौली घरबारी

फुंग देखिने जीर्ण घर

वर्षौदेखि आधुनिक बन्ने रहरले

सुसज्जित बन्न चुपचाप पर्खिरहेछ ।

 

माकुराहरू अनवरत

भित्ताभित्तामा जालो बुन्न डटिरहेका छन्

अरिंगाल र बारुलाहरू भुन्भुनाउॅंदै

गोलो बनाउन खटिरहेका छन्

खजुरा र सर्पहरू प्वालप्वालमा

निरन्तर मुख बाएर

डस्न तयार हुॅंदै सल्बलाइरहेका छन्

जुकाहरू सदावहार ठाउॅं खोजेर

रगत चुस्न चल्मलाइरहेका छन् !

 

यो पुर्ख्यौली घरबारी देख्दा

एकतमासले मन दुखिरहेछ

पारिवारिक सद्भाव भएर पनि

जताततै लथालिंग बनिरहेछ

सिमानाका पुराना बारहरू

मक्किएर जीर्ण बनिरहेछन्

छिमेकीहरू मौका मिलाएर

सिमाना कोतरिरहेछन्

नुन र तेल पैंचो पाउने आशाले

निरीह अभिभावकहरू टुलुटुलु हेरिरहेछन् ।

 

छोराछोरीहरूले विदेशी रमझम बुझे

आफ्नो संस्कृति र राष्ट्रियता बुझेनन्

आधुनिक प्रविधिका सरसुबिधा बुझे

मातृभाषाको वैज्ञानिकता बुझेनन्

शारीरिक सुख र भौतिक समृद्धि बुझे

लोककल्याण र उदारताको पाठ बुझेनन्

अनेकौॅं आविष्कार पनि बुझे

आफ्नै आमाबाबुका परिश्रम र योगदान बुझेनन्

जीवनमा अनुभव गरेका सबै घटनाक्रम बुझे

पुर्ख्यौली घर र आफ्नो स्वाभिमान बुझेनन् !

 

घर पोतिनुपर्छ

भित्ताहरू रंगिनुपर्छ

आफ्नै माटो हराभरा हुनुपर्छ

मभित्र जागिरहन्छन् - यी भावना

तर पसिना सेच्न नसक्ने

यी मेरा सपनाहरूले

ताराहरू सजाएर यस धर्तीको मुहार

कसरी फेर्न सक्लान् ?

जून-घाम सजाएर गराहरूलाई

कसरी झल्मल पार्न सक्लान् ?

जति नै राम्रा भए पनि

सपनामात्रले त

कसरी टालिन्छन् र जीर्ण घरका भित्ताहरू ?

From our sponsors

इतिहास जसरी भयो तेसै गर्नु भनेको मुर्खता हो, खै परिवर्तन राजनीतिमा

3 Years ago

विशेश्वर प्रसाद कोइरालाले प्रजातन्त्रमा राजतन्त्र आवश्यक देखे कांग्रेसका थुप्रैले उनको अनुसरण गरे। मदन भण्डारीले कम्युनिष्ट भित्र प्रजातान्त्रिक रुपमा जान सकिन्छ भन्ने विकल्प दिए तर अधिनायकवादीहरुले खोसेर त्यसलाई समाप्त गरे

ADVERTISEMENT-----