-Tirtha Raj Adhikari

प्यारो छ नेपाल यो

Hollywood Khabar April 30,2020 Comments

तीर्थराज अधिकारी

१)

छानो भव्य हिमालको छ सुकिलो छन् टल्कने चाॅंदनी

पोत्छन् हर्दम स्वच्छ धार जलले छाॅंगा परी मोहिनी

आभा दिव्य कहाॅं छ तुल्य भवमा स्रष्टा कला शिल्पको

यात्री अन्तरचेतका चरणमा प्यारो छ नेपाल यो ।

२)

नानी तुल्य छ रूपमा मृदुल यो मोती छ यो मोलमा

तारा तुल्य छ ज्योतिमा कुसुमको हो बाग भूगोलमा

बाढी मत्त उठी कुनै लहरले तानेर तानिन्न यो

आस्थाको छ विशाल भाव जगमा प्यारो छ नेपाल यो।

३)

डाॅंफे रंग तरंग ताल कति छन् , छन् गीतका किन्नरी

ल्याई घाम सजाउने हृदयमा छन् दूधका पोखरी

चोखो मूल अनन्त कल्कल कला सुक्दैन , लुक्दैन यो

यात्री सागर ज्वारको , लहरको प्यारो छ नेपाल यो।

४)

हिंसा , मार र काटका छल यहाॅं आफैं गली ढल्दछन्

सच्चा देव दया यतै मनुजका छाती खुली बल्दछन्

होला रात प्रभात काल नहुॅंदा अन्योल क्यै त्रासको

न्यानो घाम उदाउॅंदा जगतकै प्यारो छ नेपाल यो ।

५)

भो ! भो ! हेर्न कदापि सक्दिनॅं कतै संग्राम यो ग्रामको

भो ! भो ! सुन्न कदापि सक्दिनॅं कतै दुर्नाम यो धामको

उम्लेका मनका कुनै जहरले डामेर झर्दैन यो

यै लाखौॅं बुटीको अपार थल हो प्यारो छ नेपाल यो ।

६)

आंखा, नाक, गला, कला फरक छन् - राम्रो भयो सृष्टि यो

पेसा , भेष , छटा , थला फरक छन् - शृंगारले चम्किलो

नेपाली थर - जात हो सकलको सम्मान सद्- भावको

गुम्बा ,मस्जिद भेद छैन मठमा प्यारो छ नेपाल यो ।

७)

होलान् बास सुदूर पूर्वतिर क्वै , होलान् कुनै उत्तर

होलान् पश्चिममा र दक्षिण कुनै , हो मृत्तिका यै भर

मिल्दा आपसमा कला सकलका नौलो छ यो रूपको

माली हात चलाउने जतनमा प्यारो छ नेपाल यो ।

 

८)

त्यागी पूर्वजका अदम्य बलका सत्कर्मका पाखुरा

जस्तै बन्न सके उदार मनका फुल्छन् यिनै टाकुरा

तापै- ताप फलाउने असुरको माटो कुनै हैन यो

ज्ञानी ज्ञान सजाउने रहरमा प्यारो छ नेपाल यो ।

९)

जन्मे जीवन ज्योतिमा प्रबल भै सत्काव्यका साधक

जन्मे वीर यतै यसै प्रकृतिमा जन्मे महानायक

माटो रंग फुलाउने हृदयमा साॅंच्चैं कलाकार हो

उच्चा उर्वर प्राणका नजरमा प्यारो छ नेपाल यो ।

१०)

प्यारा सन्तति दूरका रहर क्यै मेट्दै फिरून् द्वारमा

बत्ती स्वागतका निमित्त उनकै बल्नेछ संघारमा

चोथो हैन यहाॅं कथा कहरको खाॅंचो छ उत्सर्गको

लाग्ने सिर्जन मार्गमा अकलको प्यारो छ नेपाल यो ।

***गोरखा, लप्सीबोट. हाल-सरस्वतीनगर, काठमाडौॅं - ६***