राजदुत नियुक्ति:राष्ट्रिय लज्जा

Hollywood Khabar February 24,2017 Comments

उच्च गरिमा नैतिकता र प्रतिष्ठा बोकेको व्यक्ति राजदुत बन्न लायक हुन्छ तर सरकारले हालै सिफारिस गरेको १४ राजदुत मध्ये आधा जसोमा ती योग्यताको अभाव रहेको देखिन्छ।

शर्मिला अधिकारी-बिराटनगर
उच्च गरिमा नैतिकता र प्रतिष्ठा बोकेको व्यक्ति राजदुत बन्न लायक हुन्छ तर सरकारले हालै सिफारिस गरेको १४ राजदुत मध्ये आधा जसोमा ती योग्यताको अभाव रहेको देखिन्छ। निष्कलन्क र कुनै आरोप नलागेको व्यक्ति हुनुपर्नेमा उल्टै ठगीको आरोप लागेका, देश निकाला भएका समेतलाई राजदूत बनाएको देख्दा कहिँ यो मुलुकमा इमान्दार र स्वच्छ छवि बोकेका व्यक्तिहरुको खडेरी नै परेको त होइन भन्ने प्रष्न उठेकोछ। 

राजदुत सिफारिस आशा लामा जसमाथी २३ व्यक्तिले ठगिएको मूल्य समेत खुलाएर निवेदन पेश गरेका छन् अनि शर्मिला पराजुली ढकाल जसलाई मलेसिया सरकारले डिपोर्ट गरेको थियो। त्यस्ता व्यक्ति पनि राजदूतमा सिफारिस गर्नु राष्ट्रिय लज्जाको विषय हो।

राम्रा मानिस राजदूत बन्न लायक नेपालमा अनगिन्ती छन् तर राम्रा भन्दा हाम्रा चाहिने गलत अभ्यासले आज नेपालमा ठगीमा संलग्न व्यक्तिहरू समेत ठुलो पदमा पुग्न सफल भएका छन्। ठुला दलका ठुला नेताले नैतिकता इमानदारी बिर्सिदा नै आज नेपालमा योग्यता र विद्वत्ताको कदर हुन छोडेको छ।

दोष लामा र पराजुली राजदुत बन्ने भन्दा पनि त्यस्तालाई सिफारिस गर्नेको हो। यश यर्थमा परराष्ट्रमन्त्री र उनलाई मन्त्री बनाउने शेरबहादुर देउवाले लिनुपर्छ। गलत व्यक्तिलाई सिफारिस गर्नु राष्ट्रको छवि धमिल्याउनु हो। अझ पनि समय छ, संसदिय सुनुवाइमा यस्ता दाग लागेका  व्याक्तिहरुलाई अस्विकार गर्न सक्नुपर्छ। जनभावनाको कदर गर्ने हो भने दागी राजदुतहरुलाई रोक्न सक्नु पर्छ।
यसैगरी स्पेनमा दुतावास खोल्ने निर्णय गरेर राष्ट्रलाई करोडौं भार थप्ने काम गरिएको छ। यसमा पनि जनताको ध्यानाकर्षण चाडै होस्। गरिव देशको पैसा यसरी अनावश्यक काममा खर्चगर्नु कुनै हालतमा उचित छैन भन्ने लाग्छ मलाई।

यो निर्णय माथी पनि एकपटक गम्भीर ढंगले पुन:विचार गर्नु जरुरी छ। परराष्ट्रमन्त्रीको विवादास्पद गतिविधिले राष्ट्रको करोडौं नोक्सान हुन किमार्थ उचित छैन। मैले यहाँ पार्टी भित्रको गलत प्रवृत्तिको खुलेर बिरोध गरेकी छु। हामीहरुले यस्ता गलत क्रियाकलापलाई समर्थन गर्दै गयौं भने चोरले हामीलाई बाहिर राखेर हाम्रै घर ताल्चा लाउने स्थिति आउने छ।