तस्बिर साभार वेब

राजपुर बमकाण्डका आरोपी सांसद तथा पूर्वमन्त्री मोहम्मद आफ्ताब आलमलाई अदालत पेश:७ दिनको म्याद थप

Hollywood Khabar October 14,2019 Comments

२८ असोज,रौतहट।प्रहरी हिरासतमा रहेका रौतहटको राजपुर बमकाण्डका आरोपी निलम्वित सांसद तथा पूर्वमन्त्री मोहम्मद आफ्ताब आलमले दूधको दूध र पानीको पानी छुटिने बताएका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटले म्याद थप गर्न जिल्ला अदालत आएका नेता आलमले यस्तो बताएका हुन्। अरु कुरापछि भन्ने भन्दै नेता आलमले पत्रकारसँग कानुनलाई आफूले सहयोग गर्ने बताए।

यता जिल्ला अदालत रौतहटले घटनाको अनुसन्धानको लागि गत असोज २६ गतेदेखि लागू हुने गरी ७ दिनको म्याद थपेको छ।अनुसन्धानका लागि प्रहरीले थप समय मागेपछि जिल्ला अदालत, रौतहटका न्यायाधीशका चित्रबहादुर गुरुङको इजलासले कात्तिक ३ गतेसम्म अनुसन्धान गर्नका लागि प्रहरीलाई म्याद दिएको हो। १२ वर्षअघि २०६४ चैत २७ गते राजपुरमा बम विस्फोट गराएको अभियोगमा असोज २६ गते आलमलाई इद्रिस गेट नजिकैबाट प्रहरीले पक्राउ गरेको थियो।

निकै कडा सुरक्षा व्यवस्थाबीच अदालत पुर्याउइएका आलमले न्यायाधीशसामू सो घटनाको मुद्दा २०६५ मै नचल्ने निर्णय भएको र अहिले आफूलाई सोही मुद्दाका कारण पक्राउ गरिएकोमा आश्चर्य लागेको बताएका थिए।म्याद थपपछि आलमलाई पुनःजिल्ला प्रहरी कार्यालय, रौतहट प्रर्यााइएको छ।यता आलम पक्राउ परेपछि पीडित परिवारले न्याय पाउने आशा पलाएको बताएका छन्।

जाहेरीकर्ता तथा मृतक त्रिलोकप्रताप सिंहका बुबा ७९ वर्षीय श्रीनारायण सिंहलाई घटनाको १२ वर्षपछि न्याय पाउने आशा पलाएको बताए। ठूलो मान्छेले अपराध गर्दा सजाय हुन्छ कि हुँदैन भन्ने कुरा अब अदालतको निर्णयपछि थाहा हुने उनको भनाई छ। यसैगरी जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक भुपेन्द्र खत्रीले आलम दोषी ठहरिए कानुन बमोजिम कार्वाही हुने बताए।