Hollywoodkhabar advertisement

साँढ र समय

-Tirtharaj Adhikari
0
shares

-तीर्थराज अधिकारी, गोरखा, लप्सीबोट; हाल:सरस्वतीनगर, काठमाडौँ- ६/१०/२३/२०

भेडाहरू हरियो चउरमा चर्दै छन्
खोरको नवनिर्माण नहुन्जेल
दाम्लाहरूमा पयो नथपिउन्जेल
साँढहरू तिखा सिँगहरूको
प्रदर्शन गरिरहनेछन्
बच्चा र बूढाबूढीहरू
भयले घरको झ्याल-ढोका थुनिरहनेछन् ।

खोरको निर्माणसँगै
दाम्लाहरूको पयो पूरा हुनासाथ
क्यानभासभरि रङ्गहरू जुट्नेछन्
कलमभरि अक्षरहरू उम्रिनेछन्
भेडाहरू कदापि बाघ देखिनेछैनन्
ताल्चाभित्रका नियति
ताल्चाभित्रै उँघिरहनेछन् ।

भ्रमहरू च्यातिनेछन्
इन्द्रेणी फुलाएर घाम टल्किनेछन्
बादल फाटेजस्तै
मनका सन्त्रासहरू हट्नेछन् ।

भेडा खुट्टाले खोस्रिएका
खाल्डाखुल्डीहरू सम्याउँदै
केटाकेटीहरू भाँडाकुटी खेल्नेछन्
बूढाबूढीहरू लठ्ठीमा चिउँडो अड्याउँदै
ती कलिला अनुहारभरि
आफ्नो इतिहास पढ्नेछन् ।

समय -
पर्खनुको मात्र पीडा हो
खोरको निर्माणसँगै
दाम्लो बाटिनुको
ढिलाइको मात्र पीडा हो
सिर्जना बोकिरहने माटो
अलिकति रोकिनुको मात्र पीडा हो ।

तिखा सिँगहरू
कहाँ लहराका थाँक्रा हुन सक्छन् र ?
विचार -बिहानी
अझै यथार्थ
नखुल्नुको मात्र पीडा हो ।
****