-Dilli Ram Timilsina

सरांगकोट गाउँ पंचायतको प्रांगणमा बिकासी राँगो

Hollywood Khabar January 24,2020 Comments

डिल्ली राम तिमल्सिना/१/२५/२०

सरांगकोट गाउँ पंचायतको प्रांगणमा आज रमिता छ। पन्चे बाजाको तालमा कोहि नाचेका छन भने कोहि ताली पिटेका देखिन्छन। फूलमाला सहित गाउँलेहरु बढो उल्लासकासाथ आफ्नो आर्थिक उपार्जन गराइदिने विकासे राँगो नामक अजिब प्राणीको दर्सन र यसको स्वागत सत्कारमा जुटेका छन।

गाउँका प्रधानपन्च पाण्डु प्रसाद आज मख्ख छन्। आफुले गाउँको मुहार फेर्नको लागि भरपूर प्रयास गरेर छिमेकी राष्ट्र भारतको हरियाणा बाट भित्रिएका मुर्रा भैंसीको एउटा राँगो आफ्नो गाउँमा पार्न सफल भएकोमा भाग्यमानी सम्झेको र अब यो राँगो गाउँका भैंसीपालक किसानको लागि बरदान साबित हुने कुरो बढो फुर्ति साथ बताउंदै भासण गरिरहँदा तालीको वर्षा र गरिब किसानको अनुहारमा केहि हर्ष देखिएको छ।

भारतको हरित र स्वेत क्रान्ति जस्तै नेपालमा पनि केहि गर्ने उदेस्यले भित्रिएको त्यो अजिब राँगो पनि नयाँ ठाउं, हावापानी, मानिस र बाताबरण हेर्दै दङ्ग थियो । अजंगको जिउ,नाकमा नत्थी लगाएको, कान छेडेको जहाँ रबरको एउटा लकेट जस्तो फुन्द्रोमा उसको परिचय हो वा के हो ?

२०४६ लेखेको स्पस्ट देखिएको थियो।कालो छाला र राता आँखा गरेको र कुनै यौबन अबस्थाकी सुकुमार कुमारीले कपाल घुङ्ग्रि पारे जस्तो साना चुटुक्कका सिङ्ग, हात्तीका जस्ता मोटा खुट्टा भएको विकासे राँगो थुर्र-थुर्र गर्दै नाकबाट सेतो सासको मुस्लो निकालेर घरि माथि टाउको उठाएको देखिन्थ्यो भने घरि घरि कुनै बिदेसी पर्यटकले एकोहोरो उत्तरतर्फको कुमारी हिमाल हेरेर बसे जस्तै देखिन्थ्यो। कोहि गाउँले मनुवाहरू नजिकै आएर राँगोको सरिर मुसारेका थिए भने कोहिले त गाउँका गन्नेमान्नेलाइ लगाइदिने माला पनि लगाइदिए। पाण्डु प्रसाद आफुले राष्ट्रिय पंचायत देखि जिल्ला र अञ्चलसम्म गरेको ज्यु हजुरी र चाकडीको कुरा लुकाएर, उनले आफ्नो पहुँच र शक्ति माथिसम्म रहेको हुनाले अन्य गाउँ पंचायतले ल्याउन नसकेको कुरा आफुले पार्न सफल भएको कुरागर्दा जनस्तरबाट ठुलै तालीको आवाज आयो।

हाम्रो प्रधानपन्चज्यु जिन्दाबाद ! भन्दै नजिकै बसेको कटुवाल बुढाले स्वर निकाले अरु गाउँलेहरुले थपे ! चुनाबको बेलामा गरेको बाचा अनुरुप गाउँको उन्नति र गरिब तथा किसानको दिनचर्या फेर्ने कुरोको भासन गरे। गाउँको सभाले प्रधानपन्चको नेतृत्वमा राँगो सम्रक्षण समिति गठन गर्यो। उक्त समितिमा बस्नको लागि ठुलै रस्सा कस्सि भयो, टोल, भेक, छिमेक र जाति पाती, नाता गोत्र, मित्र र हरेक प्रकारका चरित्र समेटेर एउटा ९ सदस्यीय मूल समिति तयार पारियो। नौ वटा वडामा पून: ५/५ सदस्सिय बलिया बाङ्गा हरुको पनि उपसमिति तयार भो । १५ दिनका दरले हरेक किसानलाई पहुँच हुने गरि विकासे राँगोलाइ गाउँ र टोलमा घुमाइने निर्णय पनि पारित गरियो।

राँगोलाई हिड्न गार्होहोला भनेर विकासे बाटो खनियो, बाठाहरुले आफ्नो जग्गा नपरोस भनेर सरकारी र पर्ती तिर खन्ने आदेश दिए भने बोल्न नसक्ने, घरमा छोरा नभएका, श्रीमान प्रदेस लागेका वा नभएकाको हकमा भने बारीका पाटा चिरेर, वा आधा आँगन खारेर भएपनि विकासे राँगोको लागि सहज बाताबरण प्रदान गर्ने हेतुले बाटो खनियो। राँगोलाइ भैंसीसंग संसर्ग गराउंदा पैदा हुने नयाँ स्त्रिलिंगी सन्तानले मनग्य दुध दिने र उक्त दुध नजिकैको बजारमा बेचेर किसान स्वाबलम्बी, धनि र सिधै नगद आर्जन गर्ने हुँदा यो विकासे राँगोको धेरै फाइदा दिने कुरा सुन्दा किसानहरु राँगोसंग भैंसी मिसाउन निकै आतुर र लालायित देखिन्थे।

सुरुमा राँगो प्रधानपंचको घरमा बडो सान र बानको रुपमा भित्रियो। राँगोको हेरचाह र देखवाल गर्न स्थानीयहरु लागिपरे, कसैले कलिलो घाँस, कसैले घिउ, कसैले ढुटोपिठो, कसैले कुखुराको अन्डा दिने हुंकार गरे । यसै अनुरुप उक्त राँगो गाउँको किसानको प्यारो सम्पति त पाडी र भैंसिहरुको दम्पति बन्दै गयो। आफ्नो भैंसीले राँगो खोजोस र विकासे राँगोको सन्तान पाल्न पाइयोस भनेर कतिपयले स्थानीय जडिबुटी, चिजबिज, कुखुराको अण्डा वा घिउ भैंसीहरुलाई जबर्जस्ति बाँसको ढुङ्ग्रोद्वारा खोच्याएको परिदृस्यहरु टोल टोलमा देखिन थाले।

अब स्थानीय राँगाहरु कि त अपहेलित थिए वा पाँचबलिमा लगेर मन्दिरमा काटिन थाले । आफ्नो भैंसीले प्रथम विकासे राँगोको मिश्रण भएको पाडी पाएको खबर सुनाउंदा तोरिपाने कान्छोको घरमा ठुलै कचहरी लागेको थियो। सबैले मेरो भैंसीले पनि पाडी पाओस प्रभु भन्दै कतिले त गोठ पुजा गर्दा धजा र पाती पनि अर्पण गरे।

करिब एक बर्षपछि एकदिन एकाबिहानै गाउँको पँधेरामा अनौठो खबरको प्रसार भयो र उक्त खबर एक कान दुइ कान मैदान हुँदै गाउँघर र गोठमा फैलियो । कुरो के रहेछ भने गाउँमा धतुरेको एक मात्र गर्भिणी भैंसी पाडो निकाल्न नसकेर मरेछ। धतुरेको परिबारको दाबी अनुसार उक्त तेस्रो बेते भैंसी अघिल्ला दुइ बेतमा सजिलै ब्यायको र यसपाली विकासे राँगो लगाउँदा पाडो ठुलो हुनाले यो घटना हुन गएको भन्ने रहेछ।

धतुरेको भैंसीको अकस्मात मृत्युले आज विकासे राँगोको चकचकी र बग्बगीमा मात्र दाग लागेको होइन, गाउँमा नौलो प्राणी भित्र्याएर गरिब मास्न खोजेको भन्दा बिपक्षिले पाण्डु प्रसाद माथि औंला ठड्याउन लागेको कुरा सुनियो। भैसी मारा, बलात्कारी, विकासे राँगो हामीलाई चाहिदैन, पाण्डु प्रसादले हाम्रो घरगोठ उडाउने भए भन्ने आवाज सुनिन थाल्यो ।

बिस्तारै राँगोको दाना पनि घाँस र हेरचाह कमि हुँदै जान थाल्यो मानिसहरु उक्त राँगोको लागि बिहानै नयाँ बैंसले उन्मक्त भैंसी लिएर आउन छाडे। प्रधानबुढोले दिनदिनै गाउँलेको राँगोप्रतिको घृणा र आफुप्रतिको कटाक्ष मात्र होइन, उनकै घर परिबारले पनि मुखै फोरेर बितृष्णा पोखेको पनि सहनु पर्यो। दुनियालाई नचाहिएको यो च्वांचे, डाम्नो पालेर के फाइदा सत्रु मात्र बेसाउने माध्यम पाण्डु प्रसादकी धर्म पत्नी बोलिन ।आज उनलाई आफुले गरेको यत्रो कामको मुल्यांकन नभएकोमा पछुतो मात्र होइन , हरेक मानिसले विकासे राँगो प्रति गरेको छुद्र गाली आफुलाई नै गरेको जस्तो लाग्दा पाण्डु प्रसादको निद पातलो भएको छ।

हुक्का तान्दै अनेक उपाए सोचेका छन् राँगो ब्यबस्थापनको लागि। एका बिहानै कटुवाल बुढो दर्सन प्रधान ज्यु भन्दै आयोपुग्यो ।मालिक हजुर किन चिन्ता लिने अब गाउँलेको भलाइको लागि हजुरले विकासे राँगो ल्याइस्यो, अब गाम्ले सबैले जे भंचन त्यहि गर्नेनी कटुवाल बाजे बोले। गाउँको सभामा कोहि कसैले राँगोको जिम्मा लिने र पाल्ने कुरो गरेनन ।

विकासे राँगो पनि दुब्लाएको, खुर फाटेको र माटो चाटेको अबस्थामा देखिन्थ्यो । अब कसैले घर गोठमा पाल्ने र जिम्मा लिने कुरो नगरेपछि विकासे राँगोलाई नाम फेरेर सरकारी राँगो नाम दीयियो। आजका मिति देखि उक्त राँगो सरकारी बन, जंगल, सामुदायिक बन क्षेत्रमा खुल्ला विचरण गर्न पाउने नियमका साथ सुरुमा दोपहरेको बिकाश भन्ने ठाउँमा छोडियो। खासै हिड्न नजान्ने, लामा खुर भएको उक्त राँगो बन पाखामा विचरण गर्न थाल्यो। सुरुमा ज्ञानी राँगो, सबैले घृणा गरेको बुझेर हो कि किन हो खोइ केटाकेटी, आइमाई, भैंसी बाख्रा देख्यो भने पछि लागेर हान्न थाल्यो।

मानिसहरु राँगो कता छ बुझेर मात्र सरकारी जंगल पस्न थाले । राँगोको डरले प्राय मानिसहरु साथमा एउटा लामो लट्ठी बोकेर हिड्न थाले । हिउँद लाग्न थालेपछि उक्त सरकारी राँगो न्यानो र हरियो परियो खोज्दै गाउँ घर र बारीमा पस्न थाल्यो। मानिसहरु उसलाई बेसरी चुट्न थाले, यता बाट चुट्दै लगेर सामुदायिक बन र बिकाशमा छाड्यो फेरी अर्कोकोमा पसेर बालीनाली खाने र जबर्जस्ति गोठ भित्र जाने, आजभोलि मानिसहरु गाउँमा भएका हरेक घटनामा उक्त राँगोको नाम जोड्ने गरेका छन्।

कसैको गोठ भत्केको, कसैको भैसी तुहेको, कसैको छानो चुहेको, कसेको बाख्रा मरेको, कसैको अन्न छरेको, कसैको खरबारी चरेको मात्र कहाँ हो र भैसी र गाईलाई जबर्जस्ति गरेको कथा व्यथा सुनिन थाले। सरकारी राँगो मारियो भने गाउँ बेरिएला, फेरी गाउँको नाम ‘विकासे राँगोमार्ने ठाउँ भनेर फेरिएला भनेर सबै सचेत र डरमा देखिन्थे ।

फाल्गुन महिनाको एकाबिहानै एक हुल युवा हातमा लट्ठी बोकेर राँगो लखेटेको द्रिस्य देखियो खासमा कुरो राँगोले प्रधानबाको मूलाबारीमा पसेर उधुम मचाएछ। रिसको झोकमा प्रधानबाले राँगो खेदेर पोखरा बजार लगेर छाड्न आदेश दिएछन। प्रधानको छोराले राँगो लखेटेको देखेरे वरिपरिका सबैले आफ्नो रीस फेर्नको लागि भए पनि राँगोलाई एक दुइ लाठी हिर्काउन शुरु गरे। राँगो अत्तालिएर भाग्न थाल्यो । पहाडमा हिड्न बानी नपरेको बिचरो प्राणी स्वाँ-स्वाँ अनि फ्वाँ- फ्वाँ गर्दै, लफ्र्याक, लुफ्रुक गरेर खुट्टाका खुर फुकाल्दै जिउ जोगाउन भाग्न थाल्यो।

केटाकेटी रमाइलो मान्दै पछि लागेर भन्न थाले सरकारी राँगो भाग्यो अत्तालिएको राँगो बाटोमा दौडिदै गर्दा खुट्टा बटारिएर न्याउरुङ्ग भन्ने भिरबाट गुल्टियो। सुरुमा एक बर्ल्याङ्ग खाएको उक्त राँगोले उठ्न खोज्दा आफुलाई समाल्न सकेन र झनै ठुलो चट्टानमा बज्रियो। करिब ५० मिटर तल पुगेर उसको जिबनलिला समाप्त भयो । वरिपरि काग कराउन थाले, काग कराएको सुनेर होला कागको मामा गिद्धहरु फन्को मारेर सरकारी राँगोको वरिपरि देखिन थाले। उक्त राँगोको मासु कसैले हेर्दा पनि हेरेन, केहि दिन काग, गिद्ध, स्याल लगायतका मांसाहारी पशुपन्क्षिको सामुहिक दशैं भयोहोला।

जब सरकारी राँगो मरेको खबर जिल्ला सम्म पुग्यो। जिल्लाले राँगो मर्नुको कारण पत्ता लगाउन ५ सदस्शीय छानबिन समिति खटायो र १५ दिन भित्र रिपोर्ट तयार पार्न भनि आदेश गर्यो । राँगो मर्नुको स्थलगत रिपोर्टले राँगो हिड्ने बाटो साँघुरो भएकोले अबका दिनमा नौ वटै वडा र टोलमा अझै धेरै राम्रा र समथल बाटो खन्नु पर्ने लगायतका सुझाब र निर्देशन दियो।

केहि मानिसहरु अझै पनि उक्त भीरको नाम सरकारी राँगो लड्ने भिर भन्दै छन् भने कतिले त भुलिसके। कतिलाई सरकारी मान्छेले दिएको राँगोको दुर्घटना सम्बन्धि प्रतिबेदन मन नपरेकोले आफ्नै धारणा र विचार ब्यक्त गरेको पनि सुनियो। धेरैको धारणा मद्य आजभोलि युवा र सचेत बर्गले राँगो स्थानीय साँस्कृतिक अबधारणासंग मेल खान नसकेको, आर्थिक रुपमा सबैको पहुँचमा नभएको, सामाजिक रुपमा सबैले

अपनत्व लिन नसकेको र स्थानीय स्रोत साधन, विचार र ज्ञान भन्दा बाहिरको आयातित हुनाले मार्नुपरेको हो भन्ने निस्कर्ष निकालेको पाइयो। आजभोली गाउँमा मरेका राँगोका सन्तानहरु छन्।

स्थानीय भन्दा बलिया र उनीहरुका बाउको भन्दा फरक रंग र रूपका राङ्गोहरु यत्र तत्र घुमेका देखिन्छन। सरकारी जग्गा, बन,पर्ती जग्गा मात्र होइन यी क्रस राँगोहरु स्थानीय किसानको घर गोठ, आँगन, घरमै घुसेर उधुम मचाएका छन्। प्राय:यी राँगोहरुको जमात ठुलै भएकोले कसैले लट्ठी हान्न हिम्मत गरेका देखिदैनन। बिचरा किसान, केटाकेटी, आइमाई र अपाङ्ग, दीनदुखी र गरिबहरु कहिलेसम्म यी क्रस ठिमाहा राँगोको डर, त्रास र आतंकमा बाँचनुपर्ने हो त्यो त समयले नै बताउला।