विद्यालयबाट स्वास्थ्य प्रवर्द्धन गर्ने विश्व स्वास्थ्य संगठनको निर्णय

Hollywood Khabar September 13,2021 Comments

विश्व स्वास्थ्य संगठन दक्षिणपूर्वी एसिया क्षेत्रका सदस्य राष्ट्रहरूले महामारीका बीचमा विद्यालय संचालनलाई सुरक्षित बनाउँदै प्रत्येक विद्यालयलाई स्वास्थ्य प्रवर्द्धन विद्यालय बनाउने संकल्प पारित भएको छ । हालै सम्पन्न विश्व स्वास्थ्य संगठन दक्षिणपूर्वी एसियाली संगठनको  सत्रले यो संकल्प पारित गरेको हो । कोभिड १९ सहित दीगो स्वास्थ्य पद्धतिको विकास गर्न विद्यालय लक्षित कार्यक्रम आवश्यक भएको विषयलाई अंगीकार गरेको हो ।
 
सदस्य राष्ट्रहरूले महामारीले विद्यालयहरू बन्द हुनाले कलिला बालबालिका तथा किशोर–किशोरीहरूको सिकाइ, वृद्धिविकास तथा स्वास्थ्यमा पारेका प्रभावका बारेमा चासो व्यक्त गरेका थिए । यो प्रभाव घटाउन महामारीकै बीचमा सुरक्षित रूपमा विद्यालय संञ्चालन गर्नुपर्ने विमर्श गरेका छन् । भदौ २१ देखि २५ गतेसम्म पाँच दिनसम्म चलेको क्षेत्रीय बैठकको क्रममा सदस्य राष्ट्रहरू विश्व स्वास्थ्य संगठनको विश्वव्यापी लक्ष्य तथा दिगो विकास लक्ष्य २०३० अनुरूप भाइरल हेपाटाइटिस, एचआइभी तथा यौनजन्य सङ्क्रमणका विषयमा एकीकृत क्षेत्रीय कार्ययोजना विकास गर्ने कुरामा सहमत भएको छ ।

क्षेत्रीय कार्यकारी समितिको बैठकको अन्य विशेषताहरूमा सदस्य राष्ट्रहरूले मन्त्रिस्तरीय बैठकमा स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न तथा स्वास्थ्यमा सर्वव्यापी पहुँच र स्वास्थ्य सम्बन्धी दिगो विकास लक्ष्य हासिल गर्न महामारीबाट शिक्षा लिने र स्वास्थ्य प्रणालीको उत्थानशीलता सुदृढ बनाउने गरी घोषणापत्रमा हस्ताक्षर गरको छ । यस्तै विश्व स्वास्थ्य संगठन र दक्षिणपूर्वी क्षेत्रका सदस्य राष्ट्रहरूले भविष्यमा आउनसक्ने स्वास्थ्यका दृष्टिकोणले आपतकालीन अवस्थाहरूका लागि अझ सशक्त रूपमा तयार रहनका लागि स्वास्थ्य आपतकाल सुरक्षा प्रणालीहरूलाई अझ सुदृढ बनाउनुपर्ने कुरामा छलफल भएको छ । बैठक महामारीका कारण लगातार दोस्रो वर्ष पनि भर्चुअल रूपमा आयोजना गरिएको हो ।