दिपक कुमार बिष्ट

शहरभित्रको यात्रा

Hollywood Khabar August 06,2019 Comments

एक दिन साँझ पख असनको अन्नपूर्णको मन्दिर अगाडी एउटा साथीलाइ पर्खिदै गर्दा एक किसीमको छुट्टै अनुभुति भयो । यो काठमाण्डौंबारे मनमा धेरै कुराहरु दौडीए । मेरो एक तमासले पौडदै गरेको मनस्थितीलाई झस्काउदै केही वार्तालापका आवाजहरु कानमा ठोक्किन आइपुगे : ल हेर्नुस त मानिसहरुको ताल’ एक जना पहाडिया जस्ता देखिने अधवैंसे पुरुष आफुसङ्गै आएका अर्का व्यक्तिलाई भन्दै थिए, तछाड मछाड छ, भागम भाग छ, लम्केका छन् दौडेका छन,उछिना उछिन छ सबैलाइ छिट्टै पुग्नुछ कोहि कसैसङ्ग एक मिनेट फुर्सद छैन । अर्का व्यक्ति भन्दै थिए ‘यो शहर हो नि दाई । शहर मा नभागेर दौडादौड नगरेर कहा गरुन त बिचराहरु । ‘खै के हो? के हो? दिक्क लागी सक्यो? यो ठाउँ छोडेर कतै जाम भन्ने पो सोच्दै छु त भाई म त ।’शहरिया जस्ता देखिने ती व्यक्ति दिक्क मानेर बोल्दै थिए । ‘तर तपाईं सक्नु हुन्न यो शहरबाट भाग्न पनि । यो एउटा माकुरोको जालो हो, तपाईं यो जालो रुपी पासोमा हुनुहुन्छ तपाईं चाहेर नि त्यो पासोबाट फुत्केर टाढा जान सक्नु हुन्न ’ ती अधवैंशेले भने । खै यस्तै रहेछ क्यारे, केहि गरुँला भनेर २० वर्षअघि नेपाल खाल्डो छिरेको म, आज होला कि, भोली होला कि भन्दाभन्दै उमेरले नेटो काटीसक्यो ’ उनको मुखमा बिरक्ती झल्किदै थियो । ‘दिनभरी शहरका धुलाम्मे गल्ली र सडकमा भागदौड, सुत्नुअगाडि भोलीको योजना, भालेको डाकसङ्गै उठेपछि फेरि उहि दैनिकी उहि अर्थहीन दौड अनि फोस्रो व्यस्तता । शहर भनेकै यही त हो दाईं’ उनी भन्दै थिए । 

त्यती कुरा सुनेर हिड्दै हिड्दै रत्नपार्क पुगेर माईक्रो कुर्ने क्रममा दुइ यूवकको कुरा सुनें बेरोजगार जस्ता देखिए पनि लाखौंको कुरा गर्दै थिए ती यूवकहरु । तर कुरा सुन्दा भने छक्क पर्ने थियो ।’ म बानेश्वर तर्फ जाँदै थिएँ माइक्रोमा । सिंहदरबारको  जामले शहरको आलोचना गर्ने वातावरण जन्माएको थियो । शहरको ब्यस्ततामा एकछिन फुर्सद पाएर झर्किने अवसर पाइने ठाउँ । एक सेकेन्ड पनि धैर्यता राख्न नसकी लेन मिच्दा  ट्राफिकको फन्दामा पर्ने नियती । लेन मिच्नु पनि त शहर कै विशेषता हो नि । हाम्रा गाउँमा बरु आनन्द‚ न लेन मिच्नुपर्ने सोच‚ न ट्राफिक जामको टण्टा‚ न धुलो‚ न धुवाँ त्यहिं आनन्द । त्यसो त यो शहर एउटा सुपरमार्केट जस्तै हो, लिफ्ट चढ्ने रहरमा छिरेको मान्छेलाई केही न केही खर्च गर्नै पर्ने बनाइ दिन्छ । सुन्दर र आकर्षक  प्याकेजको उहि पुराना र कम गुणस्तरका सामान उपभोक्तालाई भिडाउन खप्पिस छ काठमाण्डौं । त्यहा मोलतोल हुन्न, गुणस्तरको कुरै हुन्न‚ न कुनै सहि नियमनकारी निकाय‚ केवल यान्त्रिक सम्बन्ध । यस्तैमा जाम खुल्यो र मनमा मन्थन भइरहेका कुराहरु अनायासै विथोलियो मनका सोचहरु बन्द भए ।

माइतीघरमा फ़ेरि जाम । म चढेको माईक्रो भन्दा अघिको माइक्रो बसले जेब्रा क्रसमा हिडिरहेका यात्रुलार्इ ठोकेछ । यो पनि शहरकै विशेषता भनौ, माइक्रोले नकुदाउने हो भने अर्कै माइक्रोले प्यासेन्जर लुछिदिन्छ । बिचरा जेब्रा क्रस । अस्पतालको पिढीमा खर्च नभएर पल्टिएको बिरामी जस्तै । छन त छ, तर अस्तित्व छैन । पैदल यात्रुहरुका लागि बनाएको हो भने जेब्रा क्रसमा हिडेकै बेला किन कुल्चिइन्छन् उनीहरु ? सोचनिय बिषय । ‘के पाउने होला कुन्नी यसरी भाग्दौड गरेर ?’ शहरका नियम कानुन तथा राष्ट्र निर्माणको ठेक्का लिएका ठेकेदारहरु बस्ने सिंहदरबारको पर्खाल साक्षी राखेर मन मनै गुनगुनाएँ । ‘खै दाइ, मर्दा त त्यै आर्यघाट न हो सबै जाने, लाशमा कसैले बढी फूल राख्लान, कसैले एक्लै काधमा लैजालान, तर चितामा जो पनि नाङ्गो नै सुत्ने हो’ कि कसो आफैले आफैलाई प्रश्न तर्स्याएँ । अझ भनुँ  मलाई पनि एक किसीमको निराशा र  विरक्तिले घेरी सकेको थियो । यतिकैमा  बानेश्वर पुगेँ । 

‘जति लुछेपनी, एकमाथी अर्कोले टेकेर जति दौडिए पनि, सम्पत्ति, मान, हैसियतको जति धाक लगाए पनि आखिर अन्तिममा त्यही मृत्यु र चिता नै अन्तिम सत्य हो ’ मैले फेरि  मनमनै भने । मलाइ लाग्यो– कम्तीमा चिताका लागि भने शहरका नियम लागु नहुने रहेछ संविधान सभा भवनको दक्षिण ढोका आइसकेको थियो । म टक्क  अडिएँ र संघिय संसद तिर हेर्दै मनमनै गुनें रोगी नेताका उपचार गर्दा गर्दै र यीनलाइ पाल्दा पाल्दै राष्ट्र निर्माण गर्ने बजेट जति सकिने भो राज्यको ढुकुटी । मान्छे एकसरो लुगा र टाउको लुकाउने छत नपाएर खुल्ला आकाशमुनि रात बिताईरहेछन् । एउटा सिटामोल नपाएर मरिरहेछन् जनताहरु‚ उपचार खर्चका नाममा राज्यको ढुकुटी ध्वस्त पार्ने नेतालाइ शरण दिने यो निर्दयी काठमाण्डुले म जस्तालाई फुटेका आँखाले नि हेर्दैन । र मैले आशा गर्नु पनि निरर्थक हुन्छ । गरिब र निमुखाका लागि होइन यो निर्दयी काठमाण्डु ।यस्तै यस्तै कुरा मनमा खेलाउँदै कोठामा पुगेको थाहै पाईन।बरु हिडेर आको भए हुन्थ्यो होला गाडी चढेर आउँदा झनै पो थाकेछु।जुत्ता खोलेर आराम गर्ने सोचले डङ्ग्रङ्ग ओछ्यानमा पल्टिएँ।