-Santa Sapkota

लगाइदेउ शीतल मलम !

Hollywood Khabar May 09,2020 Comments

-शान्ता सापकोटा खनाल/आरुघाट ८, गोरखा

दिन र रातको भिन्नता नहुने

साधन र सुबिधाले सम्पन्न

उन्मुक्त हाॅंसो छाइरहने

स्वर्गतुल्य !

सपनाका सुन्दर संसारमा

त्रासै त्रासले होस हराएको छ

ती सुकिला अनुहारहरूमा

 

आज

देख्दैमा दिक्क लाग्ने

मलिनता छाएको छ !

त्यहाॅं निरन्तर-

सागरमा पौडिएका कुरा हुन्थे

सगरमा उॅंडिएका कुरा हुन्थे

ग्रह र उपग्रहहरूका कुरा हुन्थे

धर्ती नाघिसकेका कुरा हुन्थे

प्रकृति जितिसकेका कुरा हुन्थे

रोग र उपचारका कुरा हुन्थे

मानव अंग अंगका कुरा हुन्थे

ज्ञानभन्दा अग्ला विज्ञानका कुरा हुन्थे

भाषा नै हराए झैं

 

सबैका ओठहरू बन्द छन्

शोक छ

भोक छ

सबैका आंखा भिजेका छन् !

गए हारेर कति जीवनबाट !

बचेकाहरू पनि सुस्केरामा छन्

थाहा छैन

कतिखेर ? कसमाथि ?

 

हात फैलाउॅंछ - मृत्युले !

सबै सबै भयभीत छन् !

भत्किएर घमन्डका अग्ला पर्खालहरू

जमिनमा असरल्ल छन्

सम्झनामा आउन थालेका छन्

अतीतका वनपाखाहरू !

 

उपहासले कुल्चिएका

बुटी र वनस्पतिहरू !

जप्न थालिएका छन्

बिर्सिॅंदै गएका

राम र कृष्णहरू

बुद्ध, अल्लाह र इसुहरू !

ठान्दै थियो - मान्छे

आफैंलाई सर्वोच्च

आफैंलाई शक्तिशाली

आफैंलाई सर्वज्ञ !

 

प्रकृति माता !

गराएर कम्पन

फुटाएर ज्वाला

उठाएर सुनामी

चलाएर बाढी

तोडिदियौ - उसको सेखी

गलाएर उसलाई

बनाइदियौ - पानी पानी

भो ! अब रोक त्यो खेल

पुछ , अब उसको - आंसु

हटाऊ उसको - भय

बचाइदेऊ उसको - अस्तित्व

पोलिरहेको उसको - छातीमा

लगाइदेऊ

तिमी शीतल मलम !