-सोनी शर्मा

तिम्रो जस्तै दशैं तिन करोडलाई आओस् 

Hollywood Khabar October 11,2018 Comments

अघिल्ला बर्ष जस्तै गरि यसपटक पनि आयो दशैं 
मालश्रीको धुन संगै गुन्जदै छ गाउँ अनि शहर। 
अँ साच्चैं तिमि त शहरको हुनेखाने मान्छे 

तिम्रो खुशीको खुब चर्चा छ बजारभरि
शुरु भैसक्यो तिम्रो घर आँगनमा 
यहि दिनको पर्खाइमा थियौ तिमि होइन र ?
पोहोरको गाडीमा के सशुराली जानु
टिकाको साइत भन्दापनि प्यारो 
नँया गाडीको साँचो हात पर्ने दिन  
तिमि त शहरको हुनेखाने मान्छे। 

दशैंका तिम्रा खुशी छारिदै छन् रे बजारमा 
ठुला सपिङ्ग मलमा डेविड कार्डले स्वीप गर्दै  
बुटिक अनि हिराका पसलमा चेक काट्न आतुर छौ तिमि। 
छिमेकिको अगाडी इज्यतकै सवाल 
८४ संगै  ब्यन्जन सोमरसको चुस्की 
तिमि त सहरको  हुनेखाने मान्छे। 

हिमाली भेगको जरिबुटि खाएको 
च्याङ्ग्राको परिकार संगै
कालोमार्शी,लंगग्रेन बासमती के के हो केके 
अझै लेकको जौ र फापरको ढिंडो 
तिम्रो रहर पनि क्या छ यार 
तिमि त शहरको हुनेखाने मान्छे।  

तिम्रो जस्तै दशैं तिन करोडलाइ आओस् 
सबैको मुहारमा हासो खुशी छाओस् 
मत तिम्रो खुशीमा पनि रमाउन सक्ने 
म त गाउँको साधारण मान्छे। 

यसपटक पनि आयो दशैँ गाउँमा पनि 
शहरमा तिमीलाई आएकै दिनमा 
तिमी खुशीले गद् गद भएको बेला  
मलाई हनहनी ज्वरो निकाल्ने गरि 
म त गाउँको साधारण मान्छे। 

पोहोरको ऋण तिरेर नसक्दै फेरी थपिदै छ। 
एक सरो नँया लुगा किन्दिन पाए देखि 
कति  खुशी हुन्थे होलान् नानाभुना 
म त गाउँको साधारण मान्छे। 

अरव बाट छोराले पठाएको 
१५ हजार र यौटा मोबाईलले 
बुहारी खुशी हुन नसके पनि 
छोरो औधि खुशी छ खाडीमा भएपनि 
टिकाको दिन भिडियो कल गर्ने आशामा 
हेर त कति फरक छ तिम्रो र मेरो दशैं। 
म त गाउँको साधारण मान्छे। 

मेरो कमिज सद्देनै छ पोहोरकै 
बुढीमाउलाई यौटा फरिया किन्दिन पाए 
तिन दिनलाई पुग्ने घाँस एक्कै दिन काटेर 
फुर्किदै सातकोष परको माइत जान्थी होला बरै।
म त गाउँको साधारण मान्छे। 

धान पाकेदेखी,मोटा चामल किन्न पर्दैनथ्यो
दशैंको दक्षिणाले आफन्त घटायो
मासुमा घिरौला मिसाएर भएपनि 
पाहुनालाई मासु खुवाउने है बुढा 
कमेरोलाइ कुचोमा डुबाएर 
भित्तामा छयाप्प छेप्दै 
भन्दै थिई मेरी बुढीमाउ 
म त गाउँको साधारण मान्छे। 

रातोमाटो र गोबरमा खरको कुशुम मिसाएर 
घर टाल्दै  बुहारि भन्छिन् 
बस समात्ने कि नानाभुना ?
माइत नजिक जंगल पनि छ  
कतै निर्मलाको ताल त हुदैन ?

येस्तै पिडामा छ हजुर हाम्रो दशैं 
म त गाउँको साधारण मान्छे।

-विजया दशमीको अवसरमा हजुरहरु सम्पूर्णमा सुख शान्ति र दिर्घायुको मंगलमय शुभकामना।