-सोनी शर्मा 

असल मान्छेले बलात्कार गर्दैन भन्ने कुरा बुझ्दछ उ  

Hollywood Khabar September 26,2018 Comments

तिमि छोरी जन्माउँदा गद्गद् खुशी भएजस्तै 
मेरो मन पनि फुरफुर छ तिम्रो खुशीमा।  
पृथ्वीको सुन्दर बगैंचामा तिमीले छोरी सजायौ 
मैले छोरा सजाएँ। 

तिम्री छोरीले जति शिक्षा र संस्कार 
मेरो छोराले पनि सिकोस् भन्ने चाहन्छु म
तिमीले सिकाएजस्तै गरि तिम्री छोरीले 
सिकेको संस्कार,आदर,सम्मान 
मेरो छोराले पनि सिकेको छ,जानेको छ ।

सबै आमाहरुलाई सम्मान गर्छ मलाई जस्तै गरि 
तिम्री छोरीलाई दिदि बैनीको नजरले देख्छ 
अनि निभाउँछ दाजु भाइको कर्तब्य ।

तिम्री छोरीलाई कसैले नराम्रो बोलोस् त 
मेरो छोराको रगत कसरि उम्लन्छ
दिदि बैनीको रक्षाको लागि।
मेरो छोरालाई कसैले धावा बोलोस् त ? 
दाजुभाइको रक्षाका लागि तिम्री छोरी मन्दिर पुग्छे
हो यहि शिक्षा देउ है तिमि आफ्नी छोरीलाई।

म पनि सिकाउँछु,मेरो छोरालाई 
यौटै कोखमा जन्मेका मात्र दिदीबैनी होइनन् 
भावनाले जोडिने साइनोपनि आफ्नै रगतका जस्तै हुन् 
हो यहि सिक्नेछ मेरो छोराले। 

हो हामि यौटै धरातलमा छौ 
तिमीले तिम्री छोरीलाई अनुशासन सिकाउ 
म मेरो छोरालाई नैतिकता सिकाउँछु। 
तिमि तिम्रो मर्यादाको ख्याल राख  सधैँ 
म पनि आफ्नो इज्यत र कर्तब्य भुल्ने छैन।   
हाम्रो घर अनि समाजले पनि हामीबाट सिकोस् यहि कुरा ।  

तिम्रो दृस्टी सफा भयो भने संसार उज्यालो पाउनेछौ 
यौटा मर्यादित पुरुष बनेर समाजमा छाउनेछौ। 
यी हाम्रा शुन्दर फुल स्वरुप हाम्रा सन्तानले  
बुझ्नेछन् सामाजिक मर्यादा र कर्तब्य। 

मेरो छोराले पनि बुझोस् नारि सृष्टि चलाउन मात्र होइन् 
आफ्नो  सम्पूर्ण जीवन नारि बिना अधुरो हुन्छ। 
नारीले चाहे भने कुनै नँया सृष्टि हुदैन यहाँ 
मेरो छोराले यी सबै कुरा अवस्य बुझ्नेछ। 

आफु पनि यस् धर्तीमा नारीकै माध्यम बाट आएको हो 
नारीको वात्सल्य र ममतामै धर्तिमा आँखा खोल्न पाएको हो । 
नारीको स्तनपानलेनै उसले जीवन पाएको हो 
नारीको सहयोगले नै उसले हरेक कुरा सिकेको हो। 

उ ठुलो भएपछि उ जवान भएपछि
नारिप्रतिका उस्का दृष्टि कु दृष्टिमा परिणत नहोस्। 
उसका शारीरिक र मानशिक परिवर्तनले 
झन् जिम्मेवार र परिपक्व बनोस् उ 
नारीमाथिको सम्मान झन् झन् बढोस् ।

असल मान्छेले बलात्कार गर्दैन भन्ने कुरा बुझ्दछ उ  
उस्को जीवनमा पनि यौटी नारीले प्रवेश गर्नेछिन् 
जीवन साथीका  रुपमा सुन्दर फूल फुलाउने छिन्। 

मेरो घरमा पनि जन्मनेछन् 
शान्तिका पक्षधर चम्किला ज्योतीहरु।  
हिम्सा,हत्या बलात्कारका बिरुद्द 
शिक्षा र ज्ञानको माध्यमबाट 
सभ्य भयरहित् समाज निर्माण गर्ने  
मेरो छोरा जस्तै मर्यादित असल संस्कारी छोराछोरी।