-Suchana Timalsina

घाउ बोल्छ मान्छे बोल्दैन, घाउ पीँडा हुँदै आगो बन्छ

Hollywood Khabar July 15,2021 Comments

सुचना तिमल्सिना, ललितपुर, जुलाई १५, २०२१

घाउ शरीरभरि पीँडा बनेर बस्छ। घाउ कोष कोषको डिएनएमा गुण बनेर बस्छ। ऊ रीस ल्याउछ। ऊ डरलाई उजागार गर्छ। ऊ खुशी तुल्याउछ। ऊ भावनालाई उत्रित गर्न हर्मोन बनेर आउछ। ऊ कता कता के–के बनेर बस्छ। घाउ अहमको उद्गम बिन्दु र पश्चातमको बिटोमार्ने चुच्चो पनि हो। ऊ त्यहीबाट आउछ, त्यहीँबाट बिलाउछ। त्यसैले आजकाल मानिसहरु बोल्दैनन् तर सबैतिर घाउहरु बोल्छन्।

मानिसहरु त जालमा छन्। कोही घाउप्रति रीस पोखेर, कोही डर भरेर, कोही घृणा दर्शाएर, कोही असन्तोष बाकेर घाउको खेल खेल्छन्। खोतल्दै र कोतर्दै मानिसहरु घाउ बनाउछन्। अनि शहरभरि गाउँभरि घाउ फिजाउँछन्। कसलाई कति पीडा पर्यो, कसले कति पीडा बोक्यो र कसले कति पीडा दियो त्यसको हिसाब गर्छन। यति मात्र होइन नापतौल र लेखाजोखा गरेर लेख लेख्छन्। नाटक मन्चन मात्र हिन घाउको फिल्म नै बनाउँछन। घाउको कविता कोर्छन्, फेस, इन्स्टा, टिकटक र ट्विट गर्छन। अझै नपुगेर अभिव्यक्तिको माध्यमाबाट पनि घाउ खोजिरहन्छन्, कोट्याइ रहन्छन।

घाउको उपचार गर्न नै भनेर डाक्टर बन्छन्। घाउ घाउ होइन भन्न मानिसहरु जोगी बन्छन्। घाउलाई दबाउन अरु मुल्य मान्यता छान्छन्। घाउको ओखतीको लागी सुख शान्ति चयन खोज्छन्। घाउलाई निको पार्न परिवर्तनको नारा बोक्छन्। आन्दोलन गर्छन, लडाइ र उपद्रब गर्छन। घाउले गर्दा मानिसहरु तलतल औषधीको लागी भौतारिन्छन्। स्वर्गको परिकल्पनामा हराउछन्। घाउले गर्दा आनन्दको खोजीमा कस्तुरीले बिनाको गन्धको खोजी गरेझैं खोजी गर्छन।

हजुरआमा हजुरबुवा हुँदै आमा बुवा भएर छोरा छोरीसम्म घाउ आफ्नो कहानी सुन्दै सुनाउदै पुस्तौ पुस्ता सरिरहन्छ। एक बच्चा घाउ घाउमा जन्मन्छ, घाउमा हुर्कन्छ, घाउ सिक्छ, घाउ पाल्ने बन्छ, घाउ दर्शाउछ र घाउमा नै हुर्केर घाउमा नै ब्रह्मलीन हुन्छ। किनकी बजारभरि घाउको कहानी सजिलैसँग रुपैयाँमा होइन डलरमा पनि बिक्छ।

एउटा घाउ अर्को घाउलाई दुख्ने तरिका सोध्छ। के हुन्छ ? मुटु चस्क्निछ ? वा सहनै नसक्ने गरेर छाती पोल्छ ? घाउ अरु घाउको कहानी सुन्छ। आफ्नै जस्तै प-यो भने पत्याउछ होइन भने त्यो घाउ घाउ नै होइन, त्यो मेरो जस्तो छैन भनेर पत्याउदैन र प्रतिवाद गर्छ। त्यसैले घाउहरुबीच आन्दोलन चलिरहन्छ, एक घाउ अर्को घाउको नकारमा तड्पिन्छ र तड्पाउछ।

त्यसैले यहाँ मानिसहरु बोल्दैनन् चारैतिर घाउहरु मात्र बोल्छन्। भावना भरेर, आँशु झारेर, स्वर कपाएर, हाँसो भरेर, हिक्क र सुँक्क सुँक्क, के-के नाटक र चटक गरेर घाउहरु बोल्छन। हरेक घाउ जहिल्यै पनि अरुलाई सुनाउन चाहन्छ। आफ्नो घाउ अरुको भन्दा ज्यादा भएकोले अरुले बुझोस भन्ने चाहन्छ र अरुको ध्यानार्कषण खोज्छ। अरुको घाउको होइन आफ्नो घाउको मात्र मतलब राख्छ। घाउ आफूलाई हेर्न मान्दैन, हेर्दै हेर्दैन, पटक्कै हेर्दैन र आफूलाई मात्र पीडित ठान्छ।

घाउ किन आफूलाई हेर्न मान्दैन ? किनकी घाउलाई थाहा छ जुन दिन आफूलाई हेर्न सुरुवात गर्नेछ त्यो दिनबाट उसको अस्तित्वको नास हुन थाल्नेछ। तर घाउ आफ्नो अस्तित्व नास हुन दिन चाहदैन, पालीरहन चाहन्छ। त्यसैले आफ्नो चक्रमा मानिसलाई पारिरहन्छ। सबै कुरा हराएर जालान तर पनि यो भूमण्डलबाट घाउ हराउँदैन।

मानिस घाउलाई सोझै चिन्दैन, जान्दैन र बुझ्दैन। ऊ ईन्द्रियहरुको सहायताले समस्या खोज्छ र समस्या खोजेर घाउ बनाएर ल्याउछ। आफैँ घाउ खोजेर आफैं समस्या आयो भनी दुखी बन्छ। समस्या आफैँले बनाएको नबुझेर समाधानका लागी छट्पटिन्छ। समाधान हुँदा पनि रन्थनिन्छ। अब अर्को समस्या आउछ भनेर घोत्लन्छ। फेरी समस्याको चक्र खडा गर्छ। अनि वास्तवमा नै आफूलाई निको नहुने मनचिन्ते क्यान्सरवाला माउ घाउ भएको ठान्छ।

घाउले जहिले पनि रीसालु हुन्छ, डर देखाउँछ, असन्तोष ब्यक्ति गर्छ, उप्रद्रव मच्चाउँछ, धर्म-कर्म र बिधि-बिधान विपरितको आरिस पोख्छ र त्यसलाई उजागर गर्नेगर्छ। कहिले काहिँ त भगवानलाइ पनि तँ भगवान भनेर गाली गर्छ। फेरी रीस, डर, असन्तोष घाउ उजागर गर्छ। त्यसैले त घाउ चर्किरहन्छ आवाज बनेर, पसिना छुटेर, पीँडा बनेर।

जबसम्म घाउ कराउछ, सुनाउछ तबसम्म घाउ अञ्जानमै घाउ बनिरहन्छ। जब घाउले आफैँलाई हेर्छ, आफ्नो परिवर्तन स्वरुप पाउछ। प्रत्येक घटनामा निहुँ पारेर आएको देख्छ। त्यसरी नै भावना बहकिन्छन् घाउ हुँदा दुखित बनेर !

घाउलाई भुल्दा खुशी भएर फेरी विचार मडारिन्छ। किन खुशी ? तत्काल घाउ आफू सम्झन्छ। विचार, भावना र घाउ आपसमा तानातान गरिरहन्छन् एक अर्कालाई। मानिस पनि त्यही घाउ चक्रभित्र छिर्छ र आफूलाई त्यही चक्रको अभिन्न भाग ठान्छ। त्यसैले धेरै मानिस घाउका दास हुन्छन।

वास्तवमा घाउ के हो ? घाउ शरीरभित्र रहेको आगोको स्वरुप हो। जब घाउ हेर्दै गइन्छ तब घाउ पीँडा हुँदै आगो बन्छ। घाउलाइ बढी महत्व दिंदै जाँदा घाउ आफ्नै शरीरको तापक्रम बन्छ।

आगो के हो ? शरीरकै पञ्चतत्वमध्ये एक तत्व हो आगो। दिमाग आफ्नै स्वरुपदेखि तर्सिरहेको छ। जब घाउ बढाउन थालिन्छ तब शरीरको तापक्रम बढेर जान्छ। भावना र विचारको अभिव्यक्तिले मात्र घाउ घाउ बनेको हो। नत्र घाउ जहिले पनि मिथ्या हो। त्यसैले घाउ अभिव्यक्त गर्ने भावना र विचारका भ्रम हुन। त्यसिले त “वेद” घाउ र अहमलाई आगोमा स्वाहा भनेर होम गर्छ।

नोट:मैले यो लेखमा मात्र शब्द समायोजन गरेकी हुँ। यस लेखभित्र रहेको अर्थ अध्यात्मिक किताब र गुरुबाट साभार गरिएको हो।

सुचनाका अन्य लेखहरु

मन पराउनेहरु मन पराउन नपराउनेहरु नपराउन अड्केका, गन्तव्य एउटै बाटो नमिलेर विचारहरु विचारमग्न

मन पराउनेहरु मन पराउन नपराउनेहरु नपराउन अड्केका, गन्तव्य एउटै बाटो नमिलेर विचारहरु विचारमग्न

भ्यालेण्टाइन डे बिशेष: हेल्लो देअर

कहिलेकाहीँ कपाल छाडेर फोटो खिच्न मन लाग्छ, कहिले पुरै चिन्डे बनाएर काटिदिउ झैँ

उपद्रो मन

कहिलेकाहीं म लेख्दा लेख्दै अड्कन्छु, अर्कोको पछि लाग्दा अर्काकै घर पुगिन्छ

कहिलेकाहीँ कपाल छाडेर फोटो खिच्न मन लाग्छ, कहिले पुरै चिन्डे बनाएर काटिदिउ झैँ