साङ्केतिक तस्बिर

सुदूरपश्चिमका थप तीन जनामा कोरोना संक्रमण देखियो: नेपाल कोरोना संक्रमणको दोस्रो चरणमा प्रवेश

Hollywood Khabar April 03,2020 Comments

२२ चैत, काठमाडौं।सुदूरपश्चिमका थप तीन जना नेपालीमा कोरोना संक्रमण देखिएको र यो संक्रमण नेपालभित्रै रहेका एक व्यक्तिबाट अर्को व्यक्तिमा सरेको पाइएकाले लकडाउनलाई अझै कडाइका साथ पालना गर्न सरकारले आग्रह गरेको छ।सरकारले घरभित्रै बसिदिएर कोरोना रोकथाम तथा नियन्त्रणमा सघाउन सबैलाई पुनःआग्रह गरेको छ।१४ दिन क्वारेन्टाइनमा बसिसकेकाहरुलाई पनि अझै केही दिन क्वारेन्टाइनमा बसिदिन सरकारले आग्रह गरेको छ।

शनिबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कैलाली र कञ्चनपुरका तीन व्यक्तिमा कोरोना पोजेटिभ देखिएको घटनाले नेपाल संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको बताए।

पछिल्लो पटक जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ४१ र २१ वर्षका दुई जना पुरुष तथा ३४ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ।४१ र २१ वर्षका पुरुषहरु भारतबाट आएका हुन् भने ३४ वर्षीया महिला कैलालीस्थित घरमै रहेकी थिइन्।उनीहरुलाई आ–आफ्ना जिल्लाको क्वारेन्टाइनमा बसेको बेला नमूना लिएर परीक्षण गर्दा तीनैजनामा संक्रमण पोजेटिभ पाइएको हो।उनीहरु सबैको अहिले सेती अञ्चल अस्पताल धनगढीमा उपचार भइरहेको छ।कैलालीकी ३४ वर्षीया महिला अर्का एक युवककी भाउजू हुन् । यसले नेपालमै रहेको एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना सरेको पाइएकाले नेपाल कोरोना संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको डा. देवकोटाले बताए।१४ दिन क्वारेन्टाइनमा बसेकाहरुलाई पनि पुनःपरीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको पाइएकाले क्वारेन्टाइनको अवधि बढ्न सक्ने उनले बताए।