-Sundari Lama

डायस्पोराका महिला फरक छन, हक अधिकार भन्दा भएका कानुनको कार्यान्वयन मुख्य कुरा

Hollywood Khabar March 06,2021 Comments

-सुन्दरी लामा, म्याड्रिड, स्पेन, मार्च ७, २०२१

महिला हिंसा अनि बलात्कार पछि हत्याका घटनाहरु बृद्धि हुदै गएका कुरा हरेक दिनको बिभिन्न समाचारहरूले सम्प्रेषण गरेकै छन्। नेपालमा मात्र होइन डायस्पोराका नेपालीभित्र पनि नारीहरूको अबस्था सबै ठाउँमा सहज भने छैन। घरेलु हिंसा त त्यो रुपमा नहोला तर समाज र संघ-संस्थामा भने महिला भएकाले गरिने नैतिक हिँसा, लैंगीक विभेद, क्षेमतालाइ कम आँक्ने कुरा भने हावी छ।

आफ्नै अधिकार र निर्वाचनको सर्वमान्य कुरा त जोगानुना नसकेको नेपालको वर्तमान स्थितिमा नेपाली नागरिकहरुको हात र हित होला भन्ने अपेक्षामा निराशा बढेको छ। नेपालमा पछिल्ला केहि वर्षहरुमा हत्या-बलत्कार बढेर न्याय नपाएका केश एकातिर छन् अर्कातिर त्यस्तो घटनाका अपराधिलाइ राजनैतिक र अन्य क्षेत्रबाट जोगाएर उन्मुक्ति दिने काम भएको छ।

यहाँनेर एउटा प्रश्न उठ्ने गएको छ, के हाम्रो नेपाली समाजमा सोच, परीबेश अनुसार समाज र न्याय संपादन, नागरिक सुरक्षा, नागरिक सेवा जस्ता कुरामा परिवर्तन आउला ? राजनैतिक नेता भन्दा नगरिकका त्यसमा पनि महिलाका कुराले स्थान पाउलान ? हामीलाई स्वतन्त्र एक्लै हिँडडुल गर्न सुरक्षाको प्रत्याभूति कहिले पाउने ? हरेक छेत्रमा समान अबसर र दायित्व बराबर रूपमा कहिले पाउने ? निर्मला जस्ता दर्जनौं घटना कहिले सम्म हुने ? लोकतान्त्रिक देशमा पनि यस्ता कुरा उठाउनु पर्ने हो र ?

हाम्रा साना साना छोरीहरु मात्र होइन, घटनाहरु सुन्दा हजुरआमा, आमाहरु पनि सुरक्षित छैन भन्नु पर्ने अवस्था छ। हामीले छोरी भएर जन्मे कै कारण घरबाटै हामीलाई सिकाइन्छ छोरी मान्छेको भाग्य यस्तो हुन्छ। यो काम तिम्रो अनि त्यो काम तिम्रो होइन आदि इत्यादि। असल बुझकी आमाबाबुले जति माया गरेर हुर्काउन पढाउन लेखाउन जब ऊ घर बाहिर पाइला टेक्छे उसले कुदृस्टि, हाम्रो समाज, सोच र ब्यबहारबाट कसरी सुरक्षित रहने उसको प्रयास रहन्छ। जब कुनै पनि एउटा मात्र सामाजिक-पारिवारिक रेखा उसले चुक्यो कि त उसको द्वन्द्वको कथा सकिन्छ कि उ फाफैं सकिन्छे।

यस्ता घटनाहरू न्यून पार्न र घटना हुन नदिनको लागी दोषी लाइ कडा भन्दा कडा कार्वाही नै हुने हो। धेरै देशहरूले बुझेर पालन गरीसकेका पनि छन तर हामी नेपाली समुदाय धेरै पछाडि परेका छौँ, या पारिएका छौँ। जसको प्रमुख कारणहरू मध्य हाम्रो देशको राजनीतिक अस्थिरता र कार्यविधि फितलो हुनु, भएका कानुनलाइ कार्यान्वय हुन नदिनु, राजनैतिक र शक्तिकेन्द्रको सुरक्षा प्रदान गर्नु जस्ता अवस्था हावी छन्। पुरातन महिलाहरुले यसलाई पुरुष समाज, पौराणिक मानसिकता इत्यादि भनेता पनि वर्तमान समयमा चाहिं स्थानिय देखि केन्द्रिय सरकार र प्रशाशन नै दोषी हो।

दलालहरूको फन्दामा परेर बिदेशमा अलपत्र परेका कैयन् महिला दुखि पीडित दिदीबहिनीहरु, बिचल्लीमा परेका नाबालक बालबालिकाहरूको चित्कार उतिकै बढ्दो छ। ति चित्कार भित्र भित्रै दबेका र दबाइएका छन। बाहिर आएका बिषयहरू माथि पनि प्रशाशन र समाजका अन्य निकायमा सजिलै पुग्दैन। कथंकदाचित पुगिहाल्यो भने पनि उदार र पुनःस्थापना सम्बन्धमा प्रकृया आदिको व्यवस्था निकै जटिल हुनेगर्दछ। कहिले निरुत्साही गर्न लामो समय लाग्छ जुन आफैँमा अर्को ठूलो समस्या र चुनौती हो। निति नियम र कानुन भन्दा पनि कार्यान्वयन पक्ष र ल इन्फोर्समेन्ट नै चुकेकै कारण यस्तो समस्या बढ्दै गएको छ।

संसार कति अगाडि बढि सक्यो हाम्रो देश अनि हामी नेपाली महिलाहरू भने महिलाको हक अधिकारको लागि घर भित्र, देश भित्र र बिदेशमा समेत कथामा छौं। १९०० तिर विश्वोका महिलाको अवस्था वर्तमान नेपाली समाजमा छ। हिसा र अन्याय बिरूद आवाज उठाउन र लड्नु पर्ने अबस्थामा रहेको छ। महिला सहभागिता कतिपय ठाउँमा अहिले पनि ५०% गराउन हाम्रो माग अनि बिधान संशोधनको बिषय र आवाज जल्दो बल्दो र बुलन्द छ। बिभिन्न किसिमका हिंसा, अन्याय, मानब, महिला र बालबालिका तस्करीको कुरा सबैभन्दा बढी देखिएको छ।

यो बिषयलाइ ‌शिक्षा तालिम दिएर आत्मनिर्भर बनाउने, बढी भन्दा बढि महिलामुखि परियोजनाहरू बढाउन सके, यौन र मानसिक शिक्षा, महिला आत्म सुरक्षा तालिम, भाषाको ज्ञान दिने, रोजगारी तथा उच्च शिक्षा र अबसर, बैज्ञानिक प्रबिधिको शिक्षा आदि गाउँ गाउँमा, ठाउँ ठाउँमा पुर्याउन सके, हाम्रो छोरा, दाजु-भाई, मामा भान्जा, फुफा, सासु ससुरा, काका ठूलाबा आदि सबै पूरूष महिला हरूलाई नैतिक शिक्षा दिन सके, दलालहरूको लोभमा फस्न र फसाउन बाट बचाउन सके मात्र यस्तो पीडाहरू धेरै कम हुन्छ भन्ने हाम्रो पुरातन सोच हो। यसको प्रयोग १९७० को दशक देखि वर्तमान अवस्था सम्म भैसक्यो। तर पनि परिवर्तन आएको छैन।

देशमा आमाको नामबाट नागरीकता लिन पाउने संबिधान हुदाहुदै पनि ब्यबहारमा ल्याउन सकेका छैनौ। अपराधीहरुलाई पावर र पैसाको पहुँचमा बचाउने वा फुस्काउन गलत प्रचलनको कारण महिलाहरू झन बढी पीडामा छन। अपराधीहरूको मनोबल बढ्दो छ। दण्डहिनता नै यसको जड हो। यो समस्या हामी सबैको हो मनन गर्दै सरकारले उचित कदमको पाइला चाल्नुपर्छ।

हुन त म महिलावादी या त्यो रुपमा छैन। समाज भनेको महिला, पुरुष र अन्य सबै मिलेर बनेको हुन्छ। यहि कुरालाइ मानेर अगाडी सबैको अस्थित्व स्विकार्नु नै हाम्रो आधरभुत समाज बिकासको कुरा हो। त्यसैले अब आरंक्षण र प्रतिशत भन्दा पनि कानुनले ब्यबस्था गरेको कुरा कार्यान्वयन गर्न तर्फ लाग्नु नै मुख्य कुरा हो। १११ औं नारी दिवसको अवसरमा देश तथा बिदेशमा रहनुहुने सम्पूर्ण दिदीबहिनिहरुलाइ स्वाबलम्बि र आत्मबिश्वासका साथ अगाडी बढ्ने प्रेरणा मिलोस हार्दिक शुभकामना ब्यक्त गर्दछु।

नारीहरुको स्वतन्त्रता र समान अधिकारका लागि बहस र समाधानका बारेमा छलफल र आवाज उठाउने कुरा पुराना हुन्। अबको समय भनेको प्रतिस्पर्धा, कानुनि व्यवस्थालाई दुरुस्त कार्यान्वयन गराउनु र गर्नु चाहिं विकल्पको पाटो हो। कार्यक्रम गरौँ, बैठक गरौं, कानुनी सल्लाह लिऔ-दिउँ जताततै कडाइका साथ सुनुवाइ होस र कानुन, बिधि-बिधान, संविधान र निति-नियम लागू होस तर ब्यबहारमा।

अन्तमा, हामी डायस्पोराका महिलाहरुको वर्तमान कुरा भनेको चाहिं सहभागिता, नेतृत्वमा प्रतिस्पर्धा, व्यवसायिकता र प्रस्फुटन नै हो।

जय नारी !