-साङ्केतिक तस्बिर

सुत्केरीको मृत्यु भएपछि अस्पतालमा झडप

Hollywood Khabar December 07,2019 Comments

२२ मंसिर, विराटनगर ।शल्यक्रियामार्फत प्रसूति गराइएकी सुत्केरीको मृत्यु भएपछि विराटनगरको नोवेल शिक्षण अस्पतालमा झडप भएको छ ।शल्यक्रियामार्फत प्रसूति गराइएकी २९ वर्षीया जानुका श्रेष्ठको मृत्यु चिकित्सकको लापरवाहीले मृत्यु भएको भन्दै  मृतकका आफन्तले आइतबार दिउँसो प्रदर्शन गरेका हुन् ।इलामको फिक्कल घर भइ मोरङको लेटाङ नगरपालिका–६ खेरुवास्थित माइतीमा बस्दैआएकी श्रेष्ठलाई  शुक्रबार साँझ नोवेल अस्पतालकी बरिष्ठ स्त्री रोग विशेषज्ञ डा. शान्ति सुवेदी नेतृत्वको टोलीले राति १० बजे शल्यक्रिया गरेर प्रसूति गराएको थियो । पहिलो सन्तानका रुपमा छोरा जन्माएकी श्रेष्ठको अवस्था गम्भीर बन्दै गए पनि चिकित्सकले वास्ता नगरेपछि बिहान २ बजेपछि छोरीको मृत्यु भएको  जानुकाका बुवा गणेशकुमार श्रेष्ठले बताए ।

सुत्केरीको मृत्यु भएपछि परिवारका सदस्य र आफन्त शनिबार शव अस्पतालमै छाडेर गएका थिए ।शल्यक्रियापछि रक्तश्राव नरोकिएर जानुकाको मृत्यु भएको भन्दै आइतबार अस्पताल घेराउ गर्न आएका आफन्त र स्थानीय बासिन्दाले नाराजुलुस र प्रदर्शन गरेका हुन् ।नाराजुलुस गर्दै प्रसूति वार्डतिर हुल बढेपछि रोक्न खोज्दा मृतक पक्ष र प्रहरीबीच झडप समेत भएको छ । अस्पताल भित्र पसेको हुललाई साँझ प्रहरीले सामान्य बल प्रयोग गरेर बाहिर निकालेको छ ।

प्रदर्शनकारीले लापरवाही गर्ने चिकित्सकलाई कारवाही हुनुपर्ने, आगामी दिनमा घटना दोहोरिन नहुने, पीडित पक्षलाई उचित क्षतिपूर्ति दिइनुपर्ने भन्दै  माग पूरा नभएसम्म शव अस्पतालमै राख्ने र जिम्मा लिन अस्वीकार गर्ने  मागगरेका छन् ।शल्यक्रिया र उपचारमा चिकित्सकले कुनै लापरबाही नगरेको भन्दै मृतक पक्षले क्षतिपूर्ति वापत सिधै ३० लाख रुपैयाँ माग गरेकाले समाधान ननिस्किएको अस्पताल प्रशासनले जनाएको छ ।