-Durga Mani Sigdel, Tantra Shastra

तन्त्रदर्शन:आचारको समीक्षा:मुक्तिबोध तान्त्रिक वाङ्मयमा मार्ग

Hollywood Khabar January 18,2019 Comments

-दुर्गामणि सिग्देल, उप-प्राध्यापक, नेपाल संस्कृत विश्वविद्यालय, वाल्मीकि विद्यापीठ, काठमाण्डाैं

मनुष्यले मुक्तिबोधका लागि अपनाउने माध्यमलाई नै तान्त्रिक वाङ्मयमा मार्ग भनिन्छ्। त्यस्ता मार्गहरु: १. दक्षिणमार्ग, २. वाममार्ग र ३. कौलमार्ग गरी तीन प्रकारका छन् । दक्षिणमार्ग क्रियाप्रधान मार्ग हो। वाममार्ग विचार वा चिन्तन प्रधान मार्ग हो भने कौलमार्ग ज्ञान वा बोध प्रधान मार्ग हो।

मानिसको मनस्थिति वा भाव अनुसारको आचार र आचार अनुरुपको मार्ग हुन्छ भनी तन्त्रशास्त्रमा निर्धारण गरिएको हुँदा यहाँ यस आलेखमा पनि पहिले भाव अनि आचारको साङ्केतिक परिचय दिँदै पछि प्रमुख रुपमा दिक्षिणमार्ग र वाममार्गको समानता वा भिन्नता देखाइने चेष्टा गरिएको छ । कौलमार्गको भने सन्दर्भवश सामान्य सङ्केतसम्म मात्र गरिएको छ ।

​हामी सबै मानिस आ–आफ्नो जीवनशैली सरल, सहज र सभ्य होस् भन्ने अभिप्रायले विभिन्न कार्यकलाप वा व्यवहार गरिरहेका हुन्छौं। यसो हुँदाहुँदै पनि कतिपय त मनोलोकभरी–भरी महत्वाकाङ्क्षा लिएर तृष्णाहरुको जालोमा जेलिइरहेका पनि छौं। कतिपय हीनताबोध, द्वैतभाव, उत्तेजना असम्भव इच्छा, स्वामित्वको अभीप्सा अङ्गालेर संसारमा रुमल्लिरहेका पाइन्छौं। यिनै सकारात्मक–नकारात्मक भावका कसीमा घोटेर एक आपसमा आफूहरुलाई तौलँदै मूल्याङ्कन गर्ने मनोवृत्ति प्रायः मानिसमा देखिन्छ।

त्यसरी गरिने मूल्याङ्कनको माथिलो तहमा स्थापित हुनु सबै मानिसको अभीष्ट नै हो। त्यस्तो अभीष्ट सिद्धिका खातिर संसारमा प्रशस्त आदिभौतिक, आदिदैविक र आध्यात्मिक उपायहरु पनि छन् । यीमध्ये आदिभौतिक उपायहरु विश्वमा पाइन सकिने भौतिक सामग्रीहरुको उपयोगबाट सिद्ध हुन सक्दछन्। आदिदैविक उपाय चाँहिं मानसिक अवस्थितिहरुको उपयोग गरिने कुरा हो भने आध्यात्मिक उपाय विवेक वा ज्ञानसँग सम्बन्धित उपाय हो।

विभिन्न प्रविधि वा स्रोतबाट उपर्युक्त उपायहरु मथेर उपयोग गर्नु मानवीय कौशल हो। त्यसका लागि तन्त्रशास्त्रले भरपर्दो सहयोग पु-याउन सक्दछ । किनकि, हरेक शास्त्रीय, सामाजिक, व्यवहारिक साथै सार्वभौम अनुकूल र प्रतिकुल संसाधनहरुलाई समेत उपयोग गर्दै धर्म, अर्थ, काम, मोक्ष यी चार पुरुषार्थ परिप्राप्तिका निम्ति नियोजन गर्नु तन्त्रशास्त्रको वैशिष्ट्य हो ।

यसै क्रममा काठ वा ढुङ्गालाई देवीदेवताको, अक्षरहरुलाई मातृकाको, मानवीय शास्त्रसम्मत क्रियाकलाप र व्यवहारलाई पूजा, ध्यान, जप, यागको भाव विकसित गराउँदै अविच्छिन्न साधनामा मानवमात्रलाई प्रेरित गराउन तन्त्रशास्त्र तत्पर छ।

त्यसैले भाव:

१, तान्त्रिक साधनाका लागिस तान्त्रिक आचार र मार्ग निर्धारणका लागि प्रारम्भिक र आधारभूत तत्त्वका रुपमा उल्लेखित छ। हाम्रो मानवीय व्यवहारमा कार्यव्यापार अनुसारका विभिन्न सोचविचारहरु हुन्छन्। नाता-सम्बन्ध अनुकुलका मनका अवस्थितिहरु बनिन्छन्। छोराछोरीका अगाडि हामी वात्सल्यभावले ओतप्रोत हुन्छौं भने पति-पत्नीका सामु प्रेम भावले विभोर भइरहेका हुन्छौं। त्यस्तै मातापिताका सामुन्ने श्रद्धाभावले नतमस्तक हुन्छौं।

२, अत: एव तन्त्रशास्त्रमा प्रचलित उक्ति नै पाइन्छ। भावेन चुम्बिता कान्ता भावेन दुहिताननम् ।

३, मानवीय सवै सोचविचार र क्रियाकलाप भवमुताविक नै हुने हुन्। ​भाव भनेको मनको अवस्था हो। मानवीय मानसपटलमा अनेक अनेक तरङ्गहरु तैरिन्छन्। कल्पना, सोच र विचारहरुको छाल छचल्किरहेका हुन्छन्। देवीदेवतासँग सम्बन्धित (आध्यात्मिक, तत्त्वसम्बन्धी, साधना सम्बन्धी, मोक्ष सम्बन्धी) त्यस्ता सबै मनोव्यापारहरुको समष्टिगत खास तह वा स्तरलाई तान्त्रिक वाङ्मयमा भाव भनिन्छ। सम्पूर्ण भौतिक–आध्यात्मिक उपलब्धिको मूल कारक मन नै हो, मनको अवस्था नै हो। मन एव मनुष्याणां कारणं बन्धमोक्षयोः। मनकै अवस्था विशेषबाट भाव उत्पन्न हुन्छ र भावद्वारा नै देवदर्शन, परंज्ञानप्राप्ति वा मोक्ष सम्भव हुन्छ । भावबिनाको पूजा, होम, जप, अर्चनादि शुभकर्महरु सबै निष्फल हुन्छन् ।

४, भावेन लभते सर्वं भावेन देवदर्शनम्। ​भावेन परमं ज्ञानं तस्मात् भावावलम्बनम् ।

५, भाव मनको धर्म हो। भावस्तु मानसो धर्मः।

६, भावहरु मनमै उत्पन्न हुन्छन् र मनमै विलय हुन्छन्। मनस्युत्पद्यते भावो मनसि हि प्रलीयते। ​भाव देवताको उपासनाका लागि पहिलो अपरिहार्य सोपान हो । पितरो वाक्यमिच्छन्ति भावमिच्छन्ति देवता भन्ने सूक्ति अनुसार पनि देवीदेवताको उपासनामा भावको पहिलो स्थान रहन्छ भन्ने प्रमाणित हु्न्छ।

साधकको अभीष्ट सिद्धिका लागि तान्त्रिक उपासनाका विभिन्न तरिका र पद्धतिहरु हुन्छन् । एकै देवी वा देवताको उपासनाका पनि अनेक शैली छन् ती शैली अनुसारका भिन्नभिन्न फलहरु हु्न्छन् नै । कुन फल परिप्राप्तिका लागि कुन शैली वा तरिका अपनाउने भन्ने निर्धारण तन्त्रशास्त्रमा गरिएको छ। त्यसैले सोही प्रयोजनका निमित्त तान्त्रिक उपासनामा भावहरुको पहिलो भूमिका औल्याई भावबमोजिमको आचार र आचार अनुसारको मार्ग अवलम्बन गर्न समस्त आगमहरुमार्फत उपासकलाई पे्ररित गरिएको पाइन्छ ।

तान्त्रिक चिन्तन अनुसार यस्तो भावअनुरुपको आचार र आचार अनुगत मार्ग हुने भएकाले दक्षिणमार्ग र वाममार्गको तुलनात्मक खोजतलासको परिणाम निकाल्नुभन्दा पहिले भावको र क्रमशः आचारहरुको परिचयात्मक प्रस्तुति पस्किइएको छ । यसो भयो भने प्रकारान्तरबाट शनै शनै भावकको जिज्ञासा परिपूर्ति हुने कुरा आँकलन गर्दै यो पङ्क्तिकारको ध्यान त्यतातर्फ तानिएको हो ।

तन्त्रमा भाव वा मनोवस्थालाई साधनापरक साँचोमा कुँदेर पृथकीकरण गरी तीन भागमा विभाजन गरिएको पाइन्छ। १. पशुभाव २. वीरभाव ३.दिव्यभाव । भावस्तु त्रिविधो देवि दिव्यवीरपशुक्रमात् ।

आदौ भावं पशुं कृत्वा पश्चात् कुर्यादवश्यकम्। ​

वीरभावं महाभावं सर्वभावोत्त्तमोतमम् । ​

तत्पश्चाच्छ्र्र्र्र यसां स्थानं दिव्यभावं महाफलम् ।।

७, १. पशुभाव: यी तीन भावमध्ये पशुभाव आधारभूत वा प्रारम्भिक भाव हो । वेदोक्त फलका लागि अनुकुल यो भाव द्वैत मनस्थिति विशेष हो। यस भावमा कर्तव्याकर्तव्यको कडा नियमपूर्वक परिपालना गर्दै निषेध गरिएका आचारको ख्यालपूर्वक परित्याग पनि गर्नुपर्दछ। यस पशुभावका साधकले इष्ट देवी–देवतालाई शुद्ध स्फटिक झैं सफेद र शुभ स्वरुपमा ध्यान गर्नुपर्दछ । भावचूडामणितन्त्रमा प्रष्ट भनिएको पनि छ।

पशुभावं प्रवक्षामि श्रृणु वत्स समाहितः।

देवता शुभवर्णा तु ध्यातव्या सुसमाहितै।।

​बिहान सूर्योदयभन्दा अगाडि, दिउसो मध्याह्नमा र सायंकालको सूर्यास्तअघि गरी तीनपटक सन्ध्याबन्धन, जप र देवपूजन गर्नु यस भावका साधकको धर्म हो । रातीको समयमा भने जप–ध्यान गर्नु र माला छुनु समेत निषेधित छ।

त्रिसन्ध्यं देवपूजां तु त्रिसन्ध्यं जपमाचरेत् ।

रात्रौ मन्त्रं च मालां च न स्पृशेच्च कदाचन ।।

त्यस्तै ऋतुकालबाहेक स्त्री–संसर्ग नगर्नु, सबै स्त्रीहरुमा विशेष श्रद्धा भाव राख्नु, पुराण श्रवणमा आस्था जाग्नु, वेद–वेदाङ्गको आशयलाई अवलम्बन गर्नु, नित्यकर्म, नित्यश्राद्ध, गयाश्राद्धहरुमा कर्तव्यनिष्ठ भएर लाग्नु, तीर्थाटन, पीठक्षेत्रभ्रमणमा अभिरुचिका साथ संलग्न हुनु यस भावका साधकको लक्षण हो।

ऋतुकालं विना चापि न गच्छेत् स्त्रियमादरात् ।

पुराणश्रवणे श्रद्धा वेदवेदार्थतत्पर ।।

नित्यं श्राद्धं गयाश्राद्धं सन्ध्यावन्धनमेव च ।

तीर्थस्नानं पीठदेशं गमनं धर्मतत्परः ।।

८, कुलपूजाको अधिकारका लागि (वीराचारका लागि) यो पशुभाव अपरिहार्य मानिन्छ । शरीरमा स्थित रहनु, आत्मामा स्थिर रहन नसक्नु, सत्व, रज, तम गुणहरुको परिधिभित्र रहनु, शरीर, इन्द्रिय, मन, अहङ्कार, बुद्धि, चित्तका राम्रा नराम्रा वृत्तिहरुमा प्रभावित हुनु पशुसाधकको लक्षण हो ।

९, पाशवद्धः पशुः प्रोक्तः पाशमुक्तः सदाशिवः’ भन्ने शास्त्रीय वचन रहेकाले आणव, माय्य र कार्म मलहरुको पाशोले बाँधिएका चेतन जीवहरु सवैे पशु भनिन्छन्। सिद्धेश्वरवर्जं सर्वे चेतनावन्तः पशवः।।

१० चित्तवृत्ति बहिर्मुखी हुने अदीक्षित, क्रियाहीन, मन्त्रतन्त्र विवर्जित साधकलाई चाँहिं यस भावमा महापशु भनिन्छ ।

११, इन्द्रियहरुका वशमा रहने र इन्द्रियको पोषणलाई ख्याल गर्ने जीवहरु पशु हुन् भन्ने पनि तन्त्रशास्त्रीय वचन पाइन्छ। इन्द्रियाण्येव पश्यन्तीति पशवः पशुः जीव ।।

१२, मन अनुसारको व्यवहार, भाव अनुसारको आचार भने झैं पशु भावका साधकले परिपालना गर्ने साधनात्मक क्रियाकलाप ‘पश्वाचार’ हो । समयाचार भनेर पनि बुझिने यस पश्वाचारभित्र वेदाचार, वैष्णवाचार र शैवाचार गरी तीन प्रकारका आचार छन्।

पशुभावयुताः कौलाः वैद्यवैष्णवशैवकाः

१३, यी तीन आचारको समष्टीस्वरुप अर्काे अझै मुख्य आचार छ, त्यो हो। दक्षिणाचार । १. वेदाचार-​वेदाचारमा शरीरशुद्धि, कर्मानुशरण र स्वर्गप्राप्तिको कामना विशेष रहन्छ । यस आचारमा श्रुति, स्मृति, पुराणका विधि–निषेधका कर्मकाण्डीय कार्यकलापहरु पर्दछन्। वर्णाश्रमीय आचार, स्वर्गादि फलकामनायुक्त क्रियाकलाप लगायत वेद–वेदाङ्ग शास्त्रलाई प्रमाण मानेर गरिने सम्पूर्ण आचारहरु वेदाचार हुन् । यस आचारमा ब्रह्मचर्यको परिपालना, त्रिकाल स्नान, त्रिकाल सन्ध्या, नित्य सहस्र गायत्री जप, अग्निहोत्र, देवकर्म र पितृकर्मको पालन, पञ्चदेवोपासना इत्यादि सबै नियमहरुको सम्यक् परिपालना गरिनुपर्दछ ।

१४, २. वैष्णवाचार-​यस आचारमा क्रियात्मक भक्तिको अवस्था रहेको हुन्छ । त्यस्तै गुरुको आज्ञा पालन गर्नु, विष्णुलोक प्राप्तिको कामना रहनु वैष्णवाचारको वैशिष्ट्य हो । शुद्धता र अशुद्धतामा धेरै नै पर्वाह गर्नु, हिंसामुक्त रहनु, पाञ्चरात्रको आचार अवलम्बन गर्नु, शरीरमा देवताको विन्यास गर्नु, तिलक, तुलसीको माला, गोपी चन्दन आदि धारण गर्नु, विष्णुको मूर्तिपूजा र उपासनामा रत रहनु, एकादशीको विशेष व्रत लिनु यस आचारका प्रमुख विशेषता हुन् । त्यस्तै गोलोकधाम प्राप्ती परं लक्ष्य हुने वैष्णवाचारीहरु आफूलाई देवदास मान्दछन्, सदा दास भावले, द्वैत मनस्थितिले प्रभुको पाउमा पर्दछन् ।

१५, ३. शैवाचार-​सर्वत्र शिवावस्थाको भावनाले उपासना गरिनु यस आचारको लक्षण हो। शैवाचारीहरु शिवशास्त्र वा आगम अनुकूल आचरणमा रहन्छन्। शिव ईश आफू दीन भक्त भन्ने अभिप्रायले उपासना गरिने यस आचारमा शुद्ध द्वैत भाव देखिन्छ । कार्य, कारण, योग, विधि र दुःखान्तको परिप्राप्तिका लागि उपासकहरु पाशुपताचार अवलम्बन गर्दछन् । जगतलाई तुच्छ सम्झनु, संसारबाट आफू अलग वा पृथक् रहनु, एकान्तवासमा रम्नु, शिवको चिन्तन गर्नु, भष्मधारण गर्नु, सधैं ब्रह्मचार्याश्रममा रहनु, भिक्षाले जीविकोपार्जन गर्नु, शैवदास भावले साँढेसमान भई आफूलाई अज्ञानको पासोले बाँधिएको पशु सम्झी शिवलाई आफ्नो पति ठान्नु यस आचारका विशेषता हुन् । अन्त्यमा पशुपति शिवको प्रसादबाट दुःखको अन्त्य भई अज्ञानी पशुत्वको नाश भएर मुक्ति पाउनका लागि यिनीहरु शैवाचारमा रहिरहन्छन्। अप्रमादी गच्छेत् दुःखानामन्तम् ईशप्रसादात् ।

१६, दक्षिणाचार-​सर्वप्रथम दक्षिणामूर्तिले अवलम्बन गरेको आचार दक्षिणाचार हो । बाहिरी शुद्धि, अन्तशुद्धि र शास्त्रानुशीलनद्वारा प्राप्त ज्ञानलाई यस आचारमा उपयोग गरिन्छ । यस भावका साधकले कुलाचार, लोकाचार र वैदिकादि शास्त्राचार अनुरुपका आचरणमा रहेर साधनाका नियमहरु परिपालना गर्नुपर्दछ ।

१७, राजसो दक्षिणोमार्गः प्रतिमायाञ्च पूजनम् । ​बाह्यो पचारैः पुष्पाद्यैस्तदा ध्यानं विशिष्यते ।।

१८, यस आचारमा दासोऽहंको भावनाले देवताको आराधना गरिन्छ । परमात्मा–परमेश्वर कर्ता भर्ता सबै हुनुहुन्छ हामी मानिसहरु उहाँका दास हौं भन्ने भावनाले उपासन गर्नु यस आचारको विशेषता हो ।

दक्षिणाचारमा विधि–निषेधः

दक्षिणाचारमा विधिनिषेधको बहुत ख्याल गरिन्छ । विशेषगरी यस आचारमा देवस्थान, गुरुस्थान, चौबाटो र मसानमा शौचादि कर्म गर्नै हुँदैन । यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता भने झैं कन्या र स्त्रीको अत्यन्त आदर गर्नुपर्दछ। प्रमत्ता, पुष्पिता, कन्या, कमार्ता, पतितस्तनी, नग्ना र विरुपा स्त्रीहरुसँग बोल्नु पाप हो।

स्त्रीशूद्रं नाभिभाषेत्।

१९, परधनमा कत्तिपनि लोभ गर्नुहुन्न । पर–ऐश्वर्यमा ईष्र्या गर्नुहुन्न । गाई, धान, गुरु, देव, पिता, माता, तीर्थ, मन्दिर, पूजाका स्थानमा रहने जाति, पूजाका बस्तु र पुस्तकलाई कहिल्यै पाउले छुनुहुन्न र नाग्न पनि हुँदैन । परनिन्दाबाट सँधै टाढा रहनुपर्दछ । सन्यासी र व्रती, विप्र, वेद–वेदाङ्ग, आगम, पुराण धर्मशास्त्रहरुको निन्दा गर्नु यस आचारमा वर्जित हुन्छ। दक्षिणाचार शुद्ध वैदिकाचार हो । यस आचारमा पञ्चमकारको निन्दा गरिन्छ।

पश्वाचारस्तु विज्ञेयाः पञ्चतत्त्वेषु निन्दकः।।

२०, तर पञ्चामृत, पञ्चगव्य जस्ता उपकरणको प्रयोग हुन्छ । पशुभावयुक्त उक्त चार मध्ये कुनै एक वा सवै आचार सम्बन्धी साधनामार्गलाई तान्त्रिक वाङ्मयमा दक्षिणमार्ग भनिन्छ। २ वीरभाव: अद्वैतज्ञानसागरको एक वुँदमात्र भएपनि रस्वास्वादन गर्न सक्ने पशुभावबाट केहीमाथि उठेको भाव वीर भाव हो । वीरभावका दुई भेद छन्। सभाव र विभाव-वीरश्च द्विविधो देवि विभावश्च सभावकः। ज्ञानवीरले झैं अज्ञानको डोरीलाई डडाउन प्रयत्नरत सभाववीर सत्वगुण प्रधान र विभाववीर रजोगुण प्रधान हुन्छन् ।

२१, देवी–देवता नै मै हुँ भनी तदनुरुप साधना गर्ने, ऐश्वर्ययुक्त, शक्तिवान्, सर्वगुणसम्पन्नताको भाव वीर भाव हो ।

२२, ​वीर भावका साधकले परिपालना गर्ने साधनात्मक क्रियाकलाप ‘वीराचार’ हो । यस आचार अन्तर्गत तान्त्रिक ब्रह्मोपासना गर्ने क्रममा पृथ्वीतत्वलाई चन्दन, जल तत्वलाई नैवेद्य, तेजतत्त्वलाई बत्ती वायुतत्त्वलाई धूप, र आकाशतत्त्वलाई फूलका रुपमा पूजासामग्री अनुकल्पना गरेर मानसपूजा गरिने विधान छ।

गन्धं दद्यान्महीतत्त्वं पुष्पमाकाशमेव च ।

​धूपं दद्याद्वायुतत्त्वं दीपं तेजः समर्पयेत् ।।

​नैवेद्यं तोयतत्त्वेन प्रदद्यात् परमात्मने ।।

२३, प्रायः यस आचारमा पञ्चतत्त्वबाट सम्पादन गरिएका पूजा सामग्री पाञ्चभौतिक देहले अर्पण गरी देवीदेवताको आराधना गरिन्छ । पूजामा देवीदेवतालाई पञ्चतत्त्व चढाई उपचार गरिन्छ, पञ्चतत्वपचारमा पाञ्चभौतिक देह नै पूजासामग्री हुन्छ र जतिपनि दैहिक कर्म हुन्छन् ती सवै उपचार नै हुन् भन्ने मान्यता यस आचारमा पाइन्छ।

​अर्चना देहले गर्छ मिलेको पञ्चतत्त्वले ।

​द्यौतालाई त्यही तत्व चढाई हुन्छ पूजन ।।

​यसको अर्थ पूजाको देह नै उपचार हो ।

​देहका जति छन् कर्म अर्चनाकै विधान हुन् ।।

२४, ​लोकले निषेध गरेका कुरालाई पनि मोक्षमार्गमा सदुपयोग गर्न सक्ने हुनाले यस आचारमा रहनेलाई वीर भनिन्छ। यस आचार अन्तर्गत १. वामाचार २. शाक्ताचार र ३. सिद्धान्ताचार पर्दछन् ।

वामाचार: ​पशु आचारबाट उत्तीर्ण वीर भावका साधकको आचारलाई वीराचार भनिन्छ । लोकसम्मति र विमतिको पर्वाह नगरी चित्त विक्षुब्ध नपारीकन ईश्वरसँग आफ्नो अभेद स्थापना गर्दै साधनामा रहेर साधकले अभीष्ट प्राप्ती यस आचारबाट गर्दछ ।

२५, वाममार्गेण दीक्षायां गुप्ता त्र्यस्रा तु वैदिका ।

​स्तम्भानामुपरि स्थाप्यान्यव्रणानि ऋजूनि च ।।

२६, ​वाम आचारमा गुरु, मन्त्र, देवता र आत्मामा कुनै भिन्नता नराखी साधना गरिन्छ । गुरु देवता नै हुन्छन् । देवतालेनै प्रत्यक्ष गुरुको रुपमा आएर दीक्षा मन्त्र दिन्छन्। गुरुशिष्यपदे स्थित्वा स्वयं देवसदाशिवः।

पूर्वोत्तरपदैर्वाक्यैस्तन्त्रं समावतारयत्।

२७ भन्ने मान्यता अनुरुप अवतरित भएको तन्त्रशास्त्रको प्रसारमा देवतारुपी गुरु स्वयं मन्त्रदान गर्दछन् र देवताभावले ओतप्रोत शिष्य वा उपासक विद्या ग्रहण गर्दछन् । उपासकले गुरुको ज्यादै मानसम्मान, श्रद्धा गर्नु यस आचारको विशेषता हो ।

​यस आचार अनुसारको पूजामा कतै मासुको, कतै मदिराको, कतै माछाको, कतै मुद्राको कतै मैथुनको प्रयोग हुन्छ भने कतै पाँचै मकार (मांस, मद्य, मत्स्य, मुद्रा, मैथुन) को हुन्छ। कतै केही मकारको प्रत्यक्ष वा अनुकल्पका रुपमा प्रयोग हुनेगरेको पाइन्छ । पञ्चमकार अनुकल्पका रुपमा प्रयोग गर्नेहरु दक्षिणवीर भनिन्छन् ।

पाँचै मकारको साक्षात् प्रयोग वामवीरले ।

​गर्छ, तर अनुकल्प लिन्छ दक्षिणवीरले ।।

२८, ​वीर उपासकले पूजा–उपासना गर्दा सोऽहं को भावना राख्दछ । उपास्य देवता र आफूमा ऐक्य मान्दछ । उसले सांसारिक भावलाई चटक्क छोडेको हुन्छ । वीरले सदा चक्रको पूजा गर्दछ । वीरसाधक स्वयं भैरव भई भैरवीसँग मिल्दछ । ऊ उच्च–नीच, जातपात, वर्णव्यवस्थाको सांसारिक चक्रबाट माथि उठेको हुन्छ । उसका लागि सारा पुरुषहरु शिव हुन् भने स्त्री सवै शक्तिस्वरुपा पार्वती हुन् । सांसारिक चक्र नै शिवशक्ति स्वरुप हो भन्ने उसको भाव रहन्छ ।

शाक्ताचार: ​यद्यपि वामाचार शाक्ताचार कै एक पाटो हो तर पनि तान्त्रिक साहित्यमा शाक्ताचारको विशेष उल्लेख पाइन्छ । शक्तिस्वरुपा (देवी) बाहेक केही कसैको अस्तित्व नस्वीकारी मपञ्चकद्वारा शक्तिको उपासना गरिने तान्त्रिक आचार शाक्ताचार हो । अन्य शवै आचार निर्वीज हुन् तर शाक्ताचार एकमात्र सवीजाचार हो भन्ने मान्यता शाक्ताचारमा रहनेहरुको रहेको हुन्छ ।

शक्तियुक्तोऽपि शाक्तः स्यात् शक्तिपूजनतत्परः ।

​शक्तिदेवीं बिना देवि नान्यदेवं विचिन्तयेत् ।।

२९ सिद्धान्ताचार: वामाचारको चरम उत्कर्ष सिद्धान्ताचार हो । वाममर्गी साधनाको निरन्तर अभ्यसबाट यो आचारमा पुग्न सकिन्छ । यस आचारमा सोऽहंको ध्यानबाट उपासना हुन्छ । यतिबेला शुद्धाशुद्धिको भेद–ज्ञानले रहित भएर साधक परिपूर्ण भैरवावस्थाको अनुभूति गर्न थाल्दछ।

भया सर्वं रवयति सर्वदो व्यापकोऽखिले ।

​इति भैरवशब्दस्य सन्ततोच्चारणच्छिव।

३०, यस परिस्थितिमा साधकले आफू परिपूर्ण देवता भएको र आफ्नै ध्यान गरेर परितृप्त भएको महसुस गर्न थाल्दछ । तब, साधकको जीव, श्वासप्रश्वस सबै शिवमय हुन पुग्दछ।

आत्मानं देवतां मत्वा ऽप्यात्मानं तोषयेत् यदि ।

​सिद्धान्ताचारो विज्ञेयस्तस्यजीवः शिवो भवेत् ।।

३१, ​वीरभावमय यी वीराचार, शाक्ताचार र सिद्धान्ताचार सम्बन्धी साधनामार्ग वाममार्ग हो । ३ दिव्यभाव: दिव्य भाव सवैभन्दा उत्तम भाव हो । समाधिमा पुगेको योगारुढ योगीको भावलाई दिव्य भाव भनिन्छ । म ब्रह्म नै हुँ-अहं ब्रह्मास्मि । म स्वयं शक्तिस्वरुपा देवी नै हुँ। अहं देवी न चान्योऽस्मि ब्रह्मैवाहं न शोकभाक्’ भन्ने उच्च भावनाले ओतप्रोत दिव्य साधकमा शिवोऽहंको बोध हुन्छ।

सर्वज्ञः सर्वकर्ता च व्यापकः परमेश्वरः ।

​स एवाहं शैवधर्मा इति दाढ्र्याद्भवेच्छिवः ।।

३२, ​भाव र भावकको भेद समाप्त भई केवल भावमात्र रहने (भाव एव हि केवलमको) यस अवस्थामा उपचारबिना नै पूजा हुन्छ र सांसारिक साधनबिना नै उपासना हुन्छ ।

कौलाचार: दिव्य साधकले आफ्नै उपासना गर्छ । एकान्तमा स्थिर रहने, आनन्दै आनन्दको अनुभूतिमा रम्ने दिव्य साधकको आचार नै कौलाचार हो । कुल भनेको मूलाधारचक्रको कुण्डलिनी शक्ति स्वरुपा धरातत्व हो भने अकुल भनेको सहस्रार चक्रमा अवस्थित शिवतत्त्व हो ।

अकुलस्यास्य देवस्य कुलप्रथनशालिनी ।

​कौलिकी सा परा शक्तिरवियुक्तो यया प्रभुः।।

३३, कुण्डलिनी जागरणको योग प्रक्रियाद्वारा यी दुई तत्त्वको मिलन गराएको र शिवशक्ति सामरस्यको अलौकिक आनन्दरुपी अमृत पान गरिरहने साधकका जेजे व्यवहार र चालचलन, क्रियाकलाप हुन्छन् ती सवै कौलाचार हुन् । कौलाचार अनुरुपको मार्ग कौलमार्ग हो। ​पशुभाव दक्षिणाचार वा दक्षिणमार्गसँग, वीरभाव वामाचार वा वाममार्गसँग त्यस्तै दिव्यभाव कौलाचार वा मोक्षमार्गसँग सम्बन्धित छ । दक्षिणाचार भनेको क्रियाचार हो । यस आचारमा क्रियायोग प्रधान रहन्छ । त्यस्तै वामाचार ज्ञानाचार हो यसमा ज्ञानयोगको स्थान मुख्य छ । त्यसैगरी कौलाचार क्रिया र ज्ञानको विलय भूमि हो । यहाँ आनन्दको आधिक्य रहन्छ ।

यस कौलाचारले दक्षिणमार्ग र वाममार्गको समन्वयमा ठूलो भूमिका निर्वाह गरेको छ। दायाँ–बायाँ दुवै हातले पूजा–आराधना गर्न प्रेरित गर्ने यस आचारले अशुद्ध र असभ्य मानिने विषयवस्तुलाई समेत शुद्धीकरण गरी साधनामा समुपयोग गर्न उत्साह प्रदान गरेको पाइन्छ ।

​दक्षिणमार्ग सगुण साधनामार्ग हो । अनुकुल आचार भन्ने अर्थको यस मार्गमा अहङ्कार त्याग गरी मनका वासनाहरु छोडेर आ-आफ्नो धर्म, वर्णाश्रमका सबै आचरण परिपालना गर्दै आचारमा रहनुपर्दछ।

दक्षिणाचारको अर्थ आचार अनुकूल हो । पश्वाचारभित्र पर्छ यसमै पनि द्वैत छ ।। अहङ्कार त्याग गरी छोडेर मनकामना । आफ्ना धर्म सबै मानी चल्नु आचार दक्षिण ।

३४, वाममार्ग सगुण र निर्गुण बीचको साधनामार्ग हो । वायाँ हातले पूजा गरिने यस मार्गको आचारलाई वीराचार पनि भनिन्छ । वाम शब्दका धेरै अर्थ छन् ती अर्थमध्ये ‘श्रेष्ठ’ अर्थमा वाम शब्दको प्रयोग भएको पाइन्छ।

वाम आचारमा बाँया हातले हुन्छ पूजन ।

​वामको अर्थ हो राम्रो यो हुन्छ श्रेष्ठ पूजन ।।

३५, ​सर्सर्ती हेर्दा वाममार्गको आचार दक्षिणमार्गको आचारको विपरीत लाग्दछ । दक्षिणमार्ग प्रवृत्त मार्ग हो भने वाम मार्ग निवृत्त मार्ग हो । प्रवृत्तमार्गमा संसारका विषयहरु अलग–अलग लाग्दछन्। सवै वर्ण, जातजाति, संस्कार, संस्कृति कुल, आश्रमका व्यवस्थाहरु यस मार्गमा भिन्नाभिन्नै हुन्छन्। तर, निवृत्तमार्गमा वर्णभेद, जातिभेद, संस्कार, संस्कृति, कुल, आश्रमको विभेद रहन्न । साधक यी सवै विभेदका दायराबाट माथि उठेर साधनारत हुन्छ।

​हुँदा प्रवृत्त यो चक्र सर्ववर्ण द्विजादि हुन् ।

​हुँदा निवृत्त यो चक्र सवै वर्ण समान छन् ।।

३६, वैदिक युगको सँगसँगै विकसित भएको तान्त्रिक साधनाको प्रवाहका धारा–उपधाराहरु समय–अन्तरालसँगै विभिन्नरुपमा बगेर अनेक आचार, मार्गहरुमा विभाजन भएको देखिन्छ । तर, हालको समयमा तान्त्रिक उपासकहरुले कुनै एक मात्र उपासनामार्ग नअपनाई विविध मार्गका मान्यताहरु मिसाएर उपयोग गर्ने गरेको भेटिन्छ। नेपालमा अवस्थित प्रमुख तान्त्रिक मूर्ति मन्दिरहरुमा हुने गरेका पूजा–उपासना र वार्षिक तान्त्रिकपर्वमेलाहरुका उत्सव–साधनाहरुको अवलोकन र अध्ययन गरेका खण्डमा पनि त्यहाँ विभिन्न आचार–मार्गहरु घुलमिल भएर अवलम्वित भएको यथार्थ प्रमाणित हुन्छ ।

​यसरी तान्त्रिक साधनाका समग्र पक्षहरु केलाउँदा १. पशुभाव, २. वीरभाव र ३. दिव्यभाव गरी तीन तहका भाव भएको र तिनै भाव अनुकुलका १. वेदाचार, २. वैष्णवाचार, ३. शैवाचार, ४. दक्षिणाचार, ५. वामाचार, शाक्ताचार ६. सिद्धान्ताचार र ७. कौलाचार गरी सात मुख्य आचार रहेको पाइन्छ । यिनै सात आचारहरु अवलम्बन गर्दै मुक्तिको लक्ष्यसम्म पुग्नका लागि १. दक्षिणमार्ग, २. वाममार्ग र ३. कौलमार्ग जस्ता तीन प्रमुख मार्ग अपनाइने परम्परा तान्त्रिक साधकहरुमा रहेको कुरा समग्र तन्त्राऽगमको अनुशीलनबाट प्रस्ट हुन्छ । प्रस्तुत आलेखमा चाँहिँ भावहरु र आचारहरुको चिनारीका माध्यमबाट दक्षिणमार्ग तथा वाममार्गको तुलनात्मक स्वरुप पहिल्याउने मसिनो मेहनतसम्म गरिएको हो।

तर, सयौंसयौं आगमशास्त्रका आशय बिनीबिनीकन यो सीमित आकारको आलेखमा समेट्नु प्रायःअसम्भव भएकाले तन्त्रशास्त्रका ज्ञान–योग–विद्या–चर्या रुपी समुद्रबाट एक लोटा जल झिकेर ल्याउने धृष्टता मात्र यहाँ भएको छ ।

इति शिवम् ।।

१. न काष्ठे विद्यते देवो न पाषाणे न मृण्मये ।

भावे हि विद्यते देवस्तस्माद् भावस्तु कारणम् ।