-ठुलादुर्लुङ मेला २०७६ को आयोजना हुने

दक्षिण ललतिपुरको ठुलादुर्लुङमा वृहत मेला २०७६ को आयोजना हुने

Hollywood Khabar February 07,2020 Comments

सन्तोष दहाल, ललितपुर

काभ्रे र मकवानपुर जिल्ला जोड्ने सुदुर दक्षिण ललितपुरको महाङ्काल गाउँपालिका वडा नं ६ को कृषि, पशु, शिक्षा स्वास्थ्य तथा कला संस्कृति जस्ता विषयलाई प्रचारप्रसार र प्रवर्धन गर्ने उद्देश्यका साथ वृहत ठुलादुर्लुङ मेला २०७६ को आयोजना हुने भएको छ।

वडाको वार्षिक कार्यक्रममा स्वीकृत भए बमोजिम यही फागुन १५ र १६ गते दुई दिने मेला आयोजना गरिएको ठुलादुर्लुङका वडाध्यक्ष रामकृष्ण आचार्यले दर्पण दैनिकलाई जानकारी गराएका छन् ।

नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० लाइ समेत लक्षित गरी आयोजना गरिएको दुई दिने मेलालाई भव्य, सभ्य एबम व्यवस्थित सम्पन्न गर्नका लागि वडाध्यक्ष आचार्यको संयोजकत्त्वमा ७७ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ भने गाउँपालिका अध्यक्ष रामचन्द्र दहालको संयोजकत्त्वमा १२ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ ।

साथै मेलालाई व्यवस्थित गर्नका लागि १० वटा उपसमितिहरु समेत गठन गरिएको वडाध्यक्ष आचार्यले जानकारी दिएका छन्। ललितपुरको सदरमुकामबाट लगभग ७० किलोमिटर टाढा रहेको ठुलादुर्लुङ भौगोलिक हिसाबले अत्यन्त दुर्गम स्थानमा रहे तापनि संस्कृति,कृषि,पर्यटनको सम्भावनाका हिसाबले अत्यन्तै धनी रहेको छ।

विशेष गरी यो क्षेत्र कफी उत्पादनका दृष्टिले अब्बल रहेको छ, जसलाई कफीको पकेटक्षेत्रको रुपमा समेत लिने गरिन्छ। यहाँको कफी जापान, कोरिया, बेलायत, अमेरिका जस्ता देशहरुमा निर्यात हुने गर्दछ । यस्तै यहाँ मकै, कोदो, फापर, अलैची जस्ता खाद्य तथा नगदेबालीहरु पनि राम्रो उत्पादन हुन्छ ।

ठुलादुर्लुंगमा बाहुन, क्षेत्री, तामाङ, मगर लगायत अन्य जनजातिहरुको मिश्रित बसोबास रहेको छ। अनेक हिसाबले सम्भावना रहेको यो क्षेत्र भौगोलिक दुर्गमताकै कारण प्रचार प्रसारमा आउन नसकेको र यो मेला यहाँको कला, संस्कृति, कृषि, पर्यटनको विकास र विस्तारका लागि महत्त्वपूर्ण कोसेढुंगा साबित हुनसक्ने वडाध्यक्ष आचार्यको विश्वास छ।