-तीर्थराज अधिकारी, गोरखा, लप्सीबोट; हाल:सरस्वतीनगर, काठमाडौँ-६, नोवेम्बर ५, २०२०
युवायुवतीले
तिम्रा जटा लुछेर आफैँमा टाँसिसके
युवायुवतीले
तिम्रै बुटी तानेर ताण्डव नाचिसके
कथामा मात्र अवशेष छ
अब श्लेष्मान्तक !
आशुतोष !
तिमी खुसी नै छौ ?
आरामले बसिरहेका
परेवाहरू उडाउँदै
टुँडाल सुम्सुम्याउँदै
टुँडालकै भ~याङ चढी
तिम्रै मन्दिरका छानामा
वानरहरू
मल छरिरहेका छन्
जल चढाइरहेका छन्
गजुर हल्लाउँदै
बुर्कुसी मारिरहेका छन्
आशुतोष !
तिमी खुसी नै छौ ?
तिम्रो प्रतीक्षा गरिरहेको - नन्दी
जहिले पनि वानरै बोक्न विवश छ
भक्तहरू
प्रसाद तिमीसम्म पु~याउनै पाउन्नन्
झारपातहरू नै
फूलका नाममा बिकिरहेका छन्
तिम्रै छेउमा
गोजी काटिन्छन्
गहना लुटिन्छन्
अस्मिताका उपहास हुन्छन्
जुत्ता र चप्पलविना
खाली पाउ नै
फर्किन्छन् - भक्तहरू
आशुतोष !
तिमी खुसी नै छौ ?
मन हुनेहरू
भेट्न खोजेर पनि
कहिल्यै भेट्न सक्दैनन् - तिमीलाई !
धन हुनेहरू
भेट्न खोजे
जहिल्यै भेट्न सक्छन् - तिमीलाई !
बार बनाउने बाठाहरू
कतै होटल र बारहरूमै
रमाउँदै होलान् !
तर सोझा निर्दोष मृगहरू
बारभित्र जकडिँदै
धुलो चाटेर धुलामै लडिरहेका छन्
गौमाताहरू
हिलो ओढेर हिलामै सुतिरहेका छन्
आफैँ आँखै आँखाका धनी !
हेरेर यिनका रूप
आशुतोष !
तिमी खुसी नै छौ ?
तिमीले निरन्तर लगाइरहेको - टीका
पक्कै श्रीखण्डकै होला त ?
कि होला त्यो
तिमीले नुहाइरहेको
पवित्र वागमतीको जलजस्तै ?
हेरेर यी यावत् लीला
आशुतोष !
तिमी खुसी नै छौ ?
**तीर्थराज अधिकारीका अरु कविता**
सिफारिस
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...
एमाले नेता तथा गुण्डा बस्नेत विरुद्ध बलात्कार गरी गर्भपतन गराएको जाहे...
एनआरएनए:अदालतको फैसला, मताधिकार भएका-नभएका नेपाली र केहि अन्योलता