-मानव शास्त्री तिमिल्सिना

नेपालमा शहर घुसेको गाउँ र हल्काकरण:मानव शास्त्री तिमिल्सिना

Hollywood Khabar December 27,2019 Comments

डिल्लीराम तिमिल्सिना/मानबशास्त्री/हाल क्यानाडा/१२/२८/१९

प्रसारबादी अबधारणा अनुरुपको बिकाशले प्राय सबै क्षेत्र, समुदाय र भूगोललाई अंगालेको पाइन्छ ।

समग्रमा हाम्रो नेपाल देशमै अहिले आधुनिकतामा नाममा भैरहेका राजनैतिक, शैक्षिक, प्रबिधि लगायत सामाजिक साँस्कृतिक क्रियाकलापहरु प्राय कुनै ठाउँमा उत्पति भएका र बिस्तारै विभिन्न माध्यामद्वारा प्रसारित र परिचालित छन् भन्नु अतिसयुक्ती नहोला। अर्को शब्दमा भन्नुपर्दा, प्राय नेपालमा बढ्दै गएका घना बस्तीहरुको इतिहास, स्वरुप र प्रकृति हेर्दा धेरै जसो बस्तीहरु आन्तरिक रुपको शहरीकरण र औधोगिकरण रुपमा बिकास भएको नभैकन बाहिरी रुपमा भित्रने पुँजी, उत्पादन र त्यसको वितरण प्रक्रिया अनुरुप भएको पाइन्छ।

यो आलेखमा अन्य ठाउँको चर्चा गर्नुभन्दा पनि आफुले देखेको भोगेको पोखरा बजार र यस वरिपरिका बस्तीहरु र यिनी हरुको शाख स्वरुप फेरिंदा भएका सामाजिक उथल पुथलको बारेमा चर्चा गर्दैछु।पोखरामा घना बस्ति बस्न शुरु भएको खासै धेरै समय छैन।

पृथ्बी राजमार्ग संजाल द्वारा भारतीय सामानको ब्यापारीकरण, भारतीय पेन्सन क्याम्प, ब्रिटिश क्याम्प आदिले पेन्सन वितरण गर्ने केन्द्र खोलेपछि पहाडी जिल्ला र गाउँका मानिसहरु सहजकताको लागि पोखरामा बस्ति बस्ने गरेको पनि भेटिन्छ ।

अन्य सामाजिक कारण भन्दा पनि प्राकृतिक रुपमै पोखरा बस्न लायक ठाउं बनेको चाँही अमेरिकन सहयोग नियोगद्वारा संचालित औलो नियन्त्रण कार्यक्रम पछाडी नै हो। झुप्प-झुप्प बस्तिहरु भने ठाउं-ठाउं मा बसेकै थिए। जंग बहादुर राणालाइ कास्की र लमजुङ्ग को श्री ३ बक्सिस पाएपछि यहाका स्रोत र साधनमा राणाहरुको अधिपत्य नै थियो। अहिले हाम्रो समाजमा बाटो निर्माण अनि बाटो छेउ घर बनाउने, सवारी किन्ने र कुदाउने र यो प्रक्रिया संग अन्तरसम्बन्धित ब्यबहारिक ढाँचाको विकास क्रान्तिकारी तबरले भएको देखिन्छ।

अहिले पोखरा हुँदै बिकाश र सहरी बस्ति अनि ठुला ठुला ब्यापारिक घर, होटेल र ब्यबसाहिक भवनहरु आसपासका गाउँबस्तितिर उकाली लागेका छन्।यसरी ब्यबशाहिक ठुला घरहरु पहिलेका साना बस्ति हरुमा पस्ने र त्यहाको रुप रंग स्वरुप बदल्ने प्रक्रियालाई अंग्रेजीमा जेण्ट्रिफिकेसन (gentrification) र नेपालीमा हल्काकरण भनिन्छ।

यो प्रक्रियामा सामेल हुँदै अहिले हाम्रा गाउँ बस्तीहरु बदलिएका छन्। यो प्रक्रिया नितान्त बर्गीय र अर्थिकतामा निर्भर हुन्छ। पैसावाल धनिहरुले बस्तीको स्वरुप र संरचना आफु अनुकुलको बनाउछन। अहिलेको सहरी विकास र योजनाको लागि हल्काकरण वा जेंत्रिफिकेसन बहुत गम्भीर र बिबादित राजनैतिक बिषय बस्तु बनिरहेको छ।

यो प्रक्रिया केहि को लागि खराब होला तर केहि को लागि भने फाइदा जनक पनि छ। यो आलेखमा मैले बिशेसगरि जेन्त्रिफिकेशन प्रक्रियामा सामेल हुँदै गरेको सराङ्गकोटको

१) ऐतिहासिक अबस्थाको विस्लेषण

२) हाल भैरहेका लगानी र नीतिगत निर्णय

३) समुदायमा पर्ने असरको विस्लेषण गर्ने प्रयास गरेको छु

ऐतिहासिक रुपमा सराङ्गकोट भन्ने ठाउँको इतिहास खोज्दै जाँदा कास्की राज्य अन्तर्गत कुलमंडल शाह सम्म पुग्नु पर्ने देखिन्छ। यो भन्दा पहिला गुरुङ जातिको कबिलाको रुपमा विकास भएको थियो रे। गुरुङ र खांड राज्यको राज्य बिस्तारमा निकै खिचातानी भएको किंबदन्ती पनि छन्। एक पटक सराङ्गकोट र पन्चासे क्षेत्रका दुइ कबिला बीचमा युध्ह हुँदा सहमति गर्ने भनि अहिले सराङ्गकोट टापू भन्दा अलिक पर भुमरेगैरानेर रहेको सल्ला घारीमा भएको ठाउँमा निसस्त्र बोलाएका गुरुङ राजालाई छल गरेर मारिएको र गुरुङ राजाकी विधवाले यो सराङ्गकोट डाँडोमा गतिलो मानिस नजन्मियोस यदि जन्मिहाले पनि यहाँ बस्न नसकोस भन्ने सराप दियको भन्ने जनश्रुति छ।

जेण्ट्रिफिकेशन प्रक्रियाको प्रभावमा परेर अहिले सराङ्गकोट दरबार, राजाको पँधेरो, वली नाच्ने चौतारो, झाँक्रीका थानहरु, आदि प्राय: नामेट भएका छन् । यी कुराहरु सुन्दा अबको पुस्तालाई दन्त्यकथा लग्नेछ। यस्तै बसाइको परम्परागत ढांचा पनि बदलियको छ। पहिले बस्दै एक दमाई र सार्की लगायतका सिल्पी समुहहरु अहिले बिस्थापित भैरहेका छन्।

परम्परागत घरका स्वरुप बदलियर पुरै कंक्रिट जंगलको रुपमा बदलिंदै छ।घरहरु बाटोको वरिपरि बनेका छन् र ब्यापारिक रुपमा प्रयोग हुँदै छन्। अब नयाँ बिकासको र आर्थिक उपलब्धिले पुरानो चिरस्मरणीय सामुहिक सम्पति नासिएको कुरा धेरैलाई हेक्का हुन्दैन किनकि हामी अहिले व्यक्तिगत र भौतिक स्वार्थ सिद्ध गर्ने होड बाजीमा लागेका छौं।

बिक्रम सम्बत २००७ साल पछाडी परम्परागत कृषि प्रणाली र भारत लगायतका छिमेकी मुलुकमा मजदुरी गर्दै आर्थिक लाभमा चलेको यो ठाउं पटक पटक हुने राष्ट्रिय र स्थानीय निर्णय को प्रभावमा नपर्ने कुरै भएन। पंचायत, गाउँ विकास, उपमहानगर पालिका हुँदै अहिले महानगरपालिकाको १८ नम्बर वडा बनेको यो ठाउँको आफ्नै बिशेषता पनि छन् । कुनै समय अम्रिकन सपना र भिएतनाम युध्ह बाट वाक्क भएका अमेरिकन हिप्पी संस्कृतिका गोराहरु गाँजा खाएर फेवाताल बाट उकालो लाग्ने र सुर्योदय र सुर्यास्त , फराकिलो हिमाली दृश्य हेर्ने यो ठाउं बिस्तारै बाहिरी पर्यटकको लागि गन्तब्य स्थल बन्न पुगेको छ ।

नेपालले अमेरिकन प्रभाब र दबाबमा गाँजा लगायतका बस्तुलाई बन्द गर्नु पहिले यो ठाउं गाँजा ब्यापारीको ब्यापारिक स्थल थियो। जसको अवशेष अहिले मेथालांग भन्ने डाँडोमा रयाण्डि भन्ने गोराले बनाएको खरिद गृह र बगैंचा अझै बाँकिहोला।

जसरि बदाम फल्ने ठाउं बैदाम हुँदै अहिले लेकसाईडको रुपमा बदलिंदै गर्दा त्यहाको आर्थिक, सामाजिक र जनसाङ्खिक र बसाई, प्राकृतिक स्रोत र शाधन अनि राज्य पक्षले २०३२ सालमा गरेको शहरी बिकासको अबधारणा के भयो भन्ने कुरा फेवाताल किनारमा बनेका गगनचुम्बी घरहरुले देखाईरहेकोछ।

अहिले सराङ्गकोट क्षेत्रमा घर उधोगमा स्थानीय र बाहिय लगानी समुहको ठुलै आर्थिक लगानी देखिन्छ। तर आधुनिक रुपको बिकासको रुपमा शीब मन्दिर, बाटोहरु,जीप फलाएर, पाराग्लाइडिङ्ग, केवल कार, तारे होटल, स्थानीय होटल आदि आदि । भबिस्यमा कुनै अनुसन्धान दाताले जातीय, लैंगिक र बर्गीय हिसाबले लगानी र स्रोत साधनको बाँदफांड लेखा जोखा गर्लान। यो क्षेत्रमा भैरहेको आर्थिक क्रियाकलापले स्थानीय स्रोत साधन र घर जग्गाको भाउ ९० डिग्री को दरले बढेको छ।
बाहिय लगानी र प्रभाबमा आफुलाई संयोजन र घुलन गर्न नसक्ने वर्ग,जति र समुदाय अब बिस्तारै यहाँ बाट पलायन हुदैछ उनीहरु यो आर्थिक क्रियाकलाप बाट लावान्वित हुन नसक्दा बिस्थापित हुनु सजिलो मान्छन ।

समाजमा नया विशेषता भएका छिमेकिहरुको जन्म भयको छ। जमिनको प्रयोग परम्परागत कृषि, जंगल, धार्मिक प्रयोजन वा खुल्ला चौर भन्दा फरक ब्यापारिक र आर्थिक प्रयोजनको लागि भएका छन्। परम्परागत पेशा, ब्यबसाय र आधुनिक खहरे आर्थिक पुँजीको तालमेल नमिल्दा समाजमा हुने सामुदायिक क्रियाकलाप, पारिबारिक संगठन र साँस्कृतिक आपसीपन पनि धमिलो बन्दै जानेछन।

आर्थिक बढोत्तरी संगै तस्करी, घुस्याहा, मानसिक रोगि,यौनधन्दा, अपराध, पुलिसको उपस्थिति, व्यभिचारी र दुर्व्यसनी पनि उल्लेख्य रुपमा बढ्नेछन । साना पारिबारिक संचालनमा रहेका व्यवसायहरु बिस्तारै ठुला ब्रान्डेड सस्थाको मताधिकारद्वारा (फ़्रेञ्चैज) बिस्थापित हुनेछन। जस्तै काठमाडौँ र पोखरामा रहेका ठुला ब्यापारिक घरानाहरुले लगानी लगाई सकेका छन्। नीति निर्माण गर्ने अधिकारीहरु पनि यिनै ठुला घराना र लगानी कर्ताको प्रभावमा परेर सानालाई कानुनको पाठ पढाउने र धनीलाई सिरमा चढाउने र स्थानीय स्तरको बातबरणिय, आर्थिक, सामाजिक, सामुदायिक असरको कुनै लेखाजोखा नहेरी केन्द्र र शक्तिको आधारमा सम्बन्धन दिने प्रक्रियाले ति नियोगहरुको कर्यक्षमताको खिल्ली मात्र उदाएको छैन। परम्परा देखि भोगचलन गरेका कतिपय जमिन, र जंगल माफियाकरण गर्दै आधुनिक बन्ने बहानामा बाहिय बर्गको पोल्टामा राख्ने कामले समाजमा पैसावाल ले जे गरेनी हुन्छ भन्ने मनोविज्ञान हाबी भएको छ ।

जेण्ट्रिफ़िकेसन एउटा आर्थिक प्रक्रिया हो जहाँ आर्थिक रुपमा मजबुत समूह र घर जग्गा कारोबारीले कुनै पुरानो ऐतिहासिक ठाउँको जनसख्या, बसाईको ढांचा, आर्थिक क्रियाकलाप नियन्त्रण गर्दछन। यसमा आर्थिक मुनाफा र सुदखोरहरुको निहित स्वार्थ बाहेक अन्य पक्षलाइ खासै ध्यान हुदैन। झट्ट हेर्दा बाहिरी रुपमा यसले दिने आर्थिक वृद्धि र जग्गाको मूल्य बढ्ने देखिएपनि यो एउटा डरलाग्दो बर्गीय प्रक्रिया हो जसको कारणले परम्परागत रुममा मिलेर बसेको एउटा तल्लो बर्गलाई, यो प्रक्रियाले बिस्थापित गरिदिन्छ।

जब मानिस आर्थिक वृद्धिको चपेटामा लपटिएर बिस्थापित हुन पुग्छ बिशेष गरि तल्लो वर्ग वा जातिले आफ्नो थातथलो, कुल कुटुम्ब र अन्य सामाजिक , संस्कृतिक र आद्ध्यात्मिक आधारहरु गुमाउंदै जान्छ।फलत त्यो वर्ग आर्थिक कारोबारमा पिल्सिएर उक्त ठाउँको बृद्दि र बिकाशको फलबाट बिमुख हुन्छ र पुर्ख्यौली ठाउँको विकास हुनु नै घातक बन्ने दृष्टान्त खोज्नु धेरै टाढा जानु नपर्ला। यो एउटा जटिल प्रक्रिया हो जसलाई आम मानिसले बुझ्न गार्हो पर्दछ ।

हाम्रो देश बिदेसमा जस्तो रंग भेदी नीति त छैन तर ऐतिहासिक रुपमा तल्लो र गरिब वर्ग र समुदायहरु कुनै स्थानको आर्थिक बढोत्तरी र बिकासको प्रक्रिया तातो दुध निल्नु न ओकल्नुको संघारमा पुगेको सामाजिक घटना क्रमहरु खोज्न हाम्रै पोखरा, पुरानो बैदाम (हाल लेक साइड ), अनि सराङ्गकोट का पुराना गाउँ बस्ति अनि अहिलेको आर्थिक कारोबार अनि बसाइको ढांचा केलाउंदै जाने हो भने जेन्त्रिफ़िकेशन प्रक्रिया र यसको प्रभाब बुझ्न सजिलो पर्ला ।

यो एउटा समाजशास्त्रीय प्रक्षेपण हो यहाँ बताइएका कतिपय कुराहरु हुबहु नहुन सक्लान किनकि मानबिय समाज र व्यवहार भर्यांग जस्तो नभई चक्रिय र स्पाइरल हुने गर्दछन । जब कुनै ठाउँमा जग्गाको मूल्य बढ्ने र ठुला ब्यापारिक महल हरुको प्रवेश हुन्छ, बेलायती मानाबशास्त्री हर्बर्ट स्पेंसरले भने झैं सर्भाइबल ओफ द फिटेस्टको प्रक्रिया लागु हुन्छ। चतुर र धुर्त मद्द्यम बर्गले परिस्थितिको फाइदा उठाउंदै आफुलाई नया संरचनमा समायोजन गर्ने देखिन्छ भने गरिब, तल्लो वर्ग, शक्तिहीन, दलित र सानो जमिन हुने समुहहरु आफ्नो स्रोत बेचेर सस्तो र सुबिधा कम भएको क्षेत्रमा जान बाध्य हुन्छन।

यसरी हेर्दा जेन्त्रिफिकेसन एउटा आर्थिक छाल हो जसको झोक्काले कमजोरलाई सजिलै बिस्थापित गर्दै आएको छ। परम्परागत कुराहरु र नया आधुनिक कुराको राम्रो तालमेल मिलाएर नगरिने विकासले कुनै बर्गलाई आर्थिक रुपमा हित गरेता पनि समाजका अन्य भागहरु जस्तै सामुदायिक, साँस्कृतिक , ऐतिहासिक, नैतिक संकट बढाउंदै लग्ने देखिन्छ । आलोचनाको रुपमा अहिलेको वृद्धि र बिकाशलाई नकार्न खाजेको होइन तर कुरो मात्र होकी अहिलेको बिकाशले सबैलाई समेट्न सकेको छैन किनकि यो बिकाशको प्रकृति नितान्त बर्गीय छ।

यदि हाम्रो विकास मौलिक, प्राकृतिक र सहृदयी हुन्थ्यो भने अहिलेका सामाजिक कुरुपता र समस्याहरु निकै कम हुने थिए भन्ने मात्र हो । आशा गरौँ समाजका ठेकेदारको रुपमा कलम चलाउने बर्गहरुले अब आगामी दिनमा समाजका अमुर्त कुराहरुलाई जोगाउने, बचाउने अनि सबैलाई समेटेर जाने खालको बिकाशका कार्यक्रमहरु निर्माण हुन्।