--तीर्थराज अधिकारी, लप्सीबोट, गोरखा; हाल:सरस्वतीनगर, काठमाडौँ- ६/१०/९/२०

स्वार्थी संसार

Hollywood Khabar October 08,2020 Comments

आगो बल्दा सबै सर्छन् ताप्नलाई अघिल्तिर
निभ्न लाग्यो भने आगो फुक्न क्वै हुन्न तत्पर
पदमा फूलमाला छन् , पदमा छन् प्रदक्षिणा
पदबाट बिदा मिल्दा घट्न थाल्छन् निमन्त्रणा ।१।

भमरा रसमा झुल्छन् , झुल्दैनन् शुष्कपत्रमा
वसन्त गानकी क्वैली अल्पिन्छे ग्रीष्मचक्रमा
मीठा फल भएसम्म बोटमा सब धाउँछन्
रित्तिँदा फलका दाना बोट को सुम्सुम्याउँछन् ?२!

कुरभित्र भए माछा हात सर्छन् अघिल्तिर
त्यहीँ सर्प भए सर्छन् तिनै हात पछिल्तिर
दिनको साथको छाया रातमा छ उतैतिर
नाफामा टाँसिने माया हुन्छ घाटा हुँदा पर ।३।

चेलाचेली नमस्कार गर्दछन् अङ्क पाउन
अङ्क भेटे उता सर्दै लाग्छन् स्वार्थ भजाउन
चुनाव नहुँदासम्म जनता छन्- जनार्दन
चुनाव सक्किनासाथै हुन्छ त्यो मान मर्दन ।४।

फर्कन्नन् गुँडमा बच्चा उड्ने प्वाँख पलाउँदा
माऊका सपना टुट्छन् जीर्ण बन्दै कठाङ्ग्रिँदा
तेजिलो घामकै गर्छ यो धराले परिक्रमा
धराकै रस चुस्नेका मिल्छन् भाव र भङ्गिमा ।५ ।