-काठमाण्डौको टोखा, किंवदन्ती देखि रमणिय र आकर्षक स्थल

काठमाण्डौको टोखा, किंवदन्ती देखि रमणिय र आकर्षक स्थल

Hollywood Khabar May 19,2020 Comments

घनश्याम श्रेष्ठ, टोखा, काठमाण्डौ, मे २०, २०२०

काठमाडौं उपत्यकाको उत्तरी भेगको मध्य भागमा पर्ने टोखा सरस्वती र चण्डेश्वरी दुई शहरलाइ टोखा क्षेत्र भनिन्छ। नेपाल अर्थात नेवारी भाषामा टु को अर्थ उखु र ख्यः को अर्थ फल्ने ठाउँ हो। पहिले-पहिले यो ठाउँलाई टुख्यः भनिन्थ्यो। अपभ्रंस हुँदै आएर टोखा भन्न थालियो।

पहिले टोखा गाउँमा धेरै फाँट थिए। अनि फाँटमा उखु खेती गरिन्थ्यो। उखुबाट सख्खर बनाइन्थ्यो। सख्खरबाट चाकु। टोखामा चाकु त अहिले पनि बन्छ तर उखु खेती भने हराउँदै गएको छ। हालको चाकु अन्यत्रको सख्खर ल्याएर बनाइन्छ। हाल टोखामा २० परिवारले चाकु बनाउँछन्।

टोखा एक खुल्ला संग्रहालय हो। प्राचीन नेवार बस्ती भएकाले नेवार समुदायको रहन-सहन, कला, संकृति परम्परा आदिको अध्ययन गर्न सकिन्छ टोखामा। उसै पनि टोखा त्यति टाढा छैन।

टोखा शिवपुरी निकुञ्जको फेदमा रहेकाले वातावरण स्वच्छ हुन्छ। हरियो डाँडा मुनिको बस्ती। नेवार शैलीका घरहरू, पाइलै पिच्छे मन्दिर, दह, पोखरी, पाटी-पौवा, ढुंगेधारा अनि खेतीयोग्य जमिन। अन्यत्रका नेवार बस्तीमा झैं टोखामा पनि बस्ति र महल्लामा प्रवेशद्धार छन्। उहिले सुरक्षाका लागि बनाएका ढोका। टोखामा पाँचवटा प्रवेश द्धार छन्।

टोखा धर्म र इतिहासको दोभान हो। गाउँमा लिच्छिवी संवत ५१९ को शिलालेख छ। अंशुवर्माले जीर्णोद्वार गरेको चण्डेश्वरी मन्दिर पनि टोखामा नै छ। शिवपुरी राष्ट्रिय निकुञ्जको बफर जोनमा रहेको टोखा प्राकृतिक हिसाबले सुन्दर छ। हरियाली, खेतीयोग्य जमिन र कृषि कर्मले सबैको मन तान्छ। यति भएर पनि यसको बारेमा कमैलाई थाहा छ।

टोखालाई धार्मिक र ऐतिहासिक पर्यटकीय नगरीका रुपमा वकास गर्न सके दिनहुँ आन्तरिक र हाह्य पर्यटकको भिड लाग्न सक्छ। गाउँमा नेवारी परिकार पाइने खाजा घर छन्। चण्डेश्वरी मास्तिर विदेशी लक्षित गेस्ट हाउस पनि छन्। दिनभर घुमफिर गर्न सकिन्छ टोखामा। मोटर बाटोले टोखालाई नुवाकोट जिल्लाको बट्टारसँग जोडेको छ।

टोखा क्षेत्रमा घुम्न लायक धेरै सम्पदा छन्।

भूतखेल चौर

भूतखेल चौर १०६ रोपनीमा फैलेको छ। चौरको बीचमा प्यागोडा शैलीमा बनाइएको मन्दिर छ। यो मन्दिरलाई स्थानीय पिगंण द्य भन्छन्। पिगण भनेकोे पीठ र द्य भनेको देवता हो। नजिकै मसानघाट छ। लाश जलाउने ठाउँ भएकाले यसलाई मसानकाली पनि भनिन्छ। पहिला लाश जलाउँदा जलाउँदा बढेर बनेको खरानीको थुप्रो थियो। तर हाल खेल खेल्ने मैदान बनाइएको छ। खुल्ला चौरबाट वरिपरि राम्रो दृष्य देखिन्छ।

सपनतीर्थ, पोखर स्नान र कुष्ठ रोगको कथा

बस्तीबाट १ किलो मिटरको दुरीमा छ सपन तीर्थ । मन्दिर नजिकै एउटा पोखरी छ। त्यो पोखरीमा स्नान गरेमा चर्म रोग निको हुने जनविस्वास छ। यहाँ बैशाखमा मेला लाग्छ। मेलाको समय शिवपुरी बाघ भैरब गएर यहाँ आउने चलन छ। सपनतीर्थमा गणेश मन्दिर छ। चैत मसान्तमा बागद्वार पुगेर वैशाख १ गते सपनतीर्थको कुण्डमा नुहाएर बिस्केट जात्राको लिंगो ढाल्न भक्तपुर जाने चलन छ।

किम्बदन्ती अनुसार राजा सत्यवन्तका सात वटी छोरीहरु मध्ये एक जना कान्छी छोरी सत्यकेशरीलाई चाहिं गरीब असहाय अपाङ्ग कुष्टरोगीसँग विवाह गरी दिएका थिए। तर सत्य केशरीलाई दाइजोको हकमा चाहिं केही पनि दिएन। आफ्नो कर्ममा लेखि आए अनुुसार सिरोधर गरी रोगी पतिको घरमा गई घरजम गर्दै गर्दा खानलाउन समस्या भएकोले बाँच्नको लागि आफ्नो घर छाडी भिख माग्दै जाने क्रममा एक दिन श्री सपनतिर्थ मन्दिर परिसरसँगै सिद्धि पोखरी नजिकैको पाटीमा पुगीन। अनि त्यहाँ आफ्ना अपाङ्गता भएको पतिलाई त्यसै पाटीमा छोडी आफु शहरमा गई भिख माग्न गईन।

त्यही समयमा नजिकैको सिद्धि पोखरीमा गाई वस्तु चराउन आएका गोठालाहरुले किरा फ्ट्याग्राहरु खोेजेर ल्याउँदै खुट्टा पखेटा छुट्याँउदै त्यस पोखरीमा फाल्दै गरेथे रे। एक छिनमै ति किरा फट्याग्रा जस्ताको तस्तै संवल भै भुरुरुर उडेर जाने एवंम् तरिकाले ति प्रकृयाहरु चलिरहेको थियो। कुष्ठरोगी पतिले निकै वेर त्यो दृश्य हेरिरहे र केही समय पछि आफ्नो शरीर पनि अपाङ्ग र कुष्टरोग लागिरहेकाले म पनि त्यस पोखरीमा गई डुब्न पाए मेरो पनि शरीर स्वस्थ र सवलाङ्ग पो हुने हो कि भनेर निकै सोच विचार गरे।

धेरै सोच विचार पछि त्यही रमाइरहेका गोठालाहरुलाई बोलाई आदरताकासाथ मलाई पनि त्यस पोखरीमा लगि डुबाइदिनोस म पनि किराहरु जस्तै स्वस्थ र सपाङ्ग पो हुने हो कि भनी अनुनय विनय गरे ! तर कसैले पनि त्यस कार्य गर्न मानेन र आँट पनि गरेन। केही भयो भने के गर्ने ? हामीलाई दोष लाग्छ, त्यस कारणले ति गोठालाहरुले मानेन।

फलस्वरुप आफैले आफु बसेको पाटीवाट गुल्टिदै गुल्टिदै त्यस पोखरी नजीक पुगे ति रोगी। अनि उनले त्यस सिद्धि पोखरीमा हाम फाल्दा केहि वेर पछि आफ्ना शरीर सवलाङ्गको रुपमा परिणत भयो। उनि अचम्मित र आश्चर्य मानी खुसीले पहिलेकै ठाउँमा आई बसे। त्यहाँ खेलिरहेका गोठालाहरुले देखि हल्ली खल्ली मचिंदा सबै तिरवाट मानिसहरु जम्मा भएर हेर्न आउनेको ताँती लाग्यो।

त्यसै समयमा माग्न गएका सत्यकेशरी पनि आईपुग्दा मान्छेको घुइचो वीचमा आफ्ना पतिलाई भेटाउन सकिनन्। त्यो देखि पतिले कुष्टरोग लागेका मान्छे म नै हु, तिम्रै पति हु भनेर चिनाउन खोजे, तै पनि उनले पत्याइनन। पत्याउनु पनि कसरी, राजकुमारीले मलाई छलछाम गर्न लागे, मेरो ईज्जत र अस्तित्व लुट्न लागे, मेरो पति तिमी कुनै हालतमा हैन भनेपछि ति सत्यकेशरीको पतिले आफुले भोगेको कुरा र देख्ने मानिसहरुको मुखबाट सबै सवविस्तार सुनाए पछि वल्ल विश्वास गरिन।

श्रीकृष्ण बरुणेश्वर गुफा, झरना अनि क्यानोनिङको संभावना र भष्मासुरको कथा

टोखाबाट ६ किलोमिटरको दुरीमा रहेको बरुणेश्वर लाइै झोरमा पर्छ। त्यहाँ श्रीकृष्ण बरुणेश्वर गुफा र झरना छन्। खोंचमा छ झरना र गुफा। गुफा भित्र महादेव र पार्वतीका मूर्ति छन्। गुफा करिब २५ मिटर लामो छ। गुफाको दायाँ नारायण र लक्ष्मीको मूर्ति। जनबोलीमा बरुणेश्वरलाई बौंडेश्वर भनिन्छ। श्रीस्वस्थानी ब्रतकथा अनुसार महादेवले मृत सतिदेवीलाई बोकेर हिँड्दा यहाँ उनको बायाँ स्तन पतन भएको थियो। पछि यहीँ आएर श्रीकृष्णले तपस्या गरेका थिए। अर्को किंवदन्ती अनुसार भष्मासुरले महादेवलाई लखेट्दै जाँदा महादेव भाग्दै-भाग्दै यही गुफामा आएर बसेका थिए। त्यसैगरी पाँच पाण्डव पनि यहि बाटो भएर गएको भनाई छ। सानो पोखरीमा पाण्डवहरु बसेको भनाई छ। त्यसैगरी यहाँका चट्टानमा मृग र सीताको पाइलाका आकार पनि देखिन्छ।

बरुणेश्वर दर्शन गरेमा मनोकाँक्षा पुरा हुने जनविश्वास छ। खोंचमा छन् दुइटा झरनाहरु। बरुणेश्वर संरक्षण समितिका अनुसार एउटा झरना २८ मिटर र अर्को ३६ मिटर लामो छ। बर्खामा सुन्दर देखिन्छन् झरना। यहाँको झरनाको जल धार्मिक हिसावले पवित्र मानिन्छ। काठमाडौंका युवा युवतीहरु त्यहाँ पुगेर अहिले पनि नुहाउँछन्। त्यहा नुहाउदा लुगा लगाएरै नुहाउँने चलन छ। यसरी नुहाउदा शरिरका चर्म रोग पखालिने जनविश्वास छ। हिउँदमा झरनाको पानी सुक्छ। चट्टामा रहेको झरनामा क्यानोनिङको संभावना छ।

टोखा सडक मुन्तिर खोंचमा छन् महादेव। सडकबाट ५ मिनेट ओरालो झरे बरुणेश्वर पुगिन्छ। गुफा बाहिर पनि महादेव, गणेश र बिष्णुका मूर्ति छन्। नेवारीमा यसलाइै गु महादेव भनिन्छ। गुफा क्षेत्रमा खाजा पसल छन्। झोर (१५०० मिटर) बाट टोखा बस्ती र काठमाडौंकौ राम्रो दृष्य देखिन्छ।

गुर्जे भञ्ज्याङ, हिमालयको दृष्य, निकुञ्ज र सैनिक ब्यारेक

टोखा, काठमाडौं र नुवाकोटको संगमा पर्छ गुर्जेभन्ज्याङ। यो १९०० मिटर अग्लो स्थानमा छ। निकुन्जभित्रको भन्ज्याङबाट नुवाकोटको दृष्य राम्रोसँग देखिन्छ। यतिमात्र होइन हिमाल खुल्दा पूर्वदेखि पश्चिमसम्म हिमालका लश्करहरु देखिन्छन। यहाँ सैनिक व्यारेक पनि छ। निकुन्ज पस्न टिकट काट्नु पर्छ। यहाँको चौरमा बसेर खाजा खान सकिन्छ। तर निकुन्ज भित्र फोहर फाल्न र हल्ला गर्न पाइँदैन। प्लास्टिकका खोल आफैसंग ल्याउने वा सम्बन्धित ठाउँमा फाल्ने गर्नुपर्छ। निकुञ्ज सार्बजनिक सम्पत्ति हो, त्यहाँका विरुवा उखल्ने वा चुँड्ने गर्नु हुँदैन।

चण्डेश्वरी मन्दिर

टोखा बस्तीबाट करिब २ किलोमिटर दुरीमा छ चण्डेश्वरी मन्दिर। शिवपुरी निकुञ्जको फेदमा रहेकाले यहाँको वातावरण सधैं शितल र हरियो हुन्छ। चण्डेश्वरीलाई टोखाको प्रमुख मन्दिरका रुपमा मानिन्छ। चण्डेश्वरीमा कालीको मूर्ति पनि छ। यसलाई पुरानो चण्डेश्वरी मन्दिर भनिन्छ। यसकै सिको गरेर पछि बनेपामा बनाइएको मानिन्छ।

१८ औं शताब्दि अगाडिदेखि नै व्यापक प्रचार भई विकसित टोखाको अष्टमात्रिका मध्येको एक धार्मिक, पुरातात्विक, पवित्रस्थल तथा श्रीस्वस्थानी व्रतकथामा दक्ष प्रजापतिले होम गरेको ३३ कोटी देवता रहेको चण्डेश्वरी मन्दिर भनिन्छ। हाल यस वरपर रहेका भौतिक संरचना हटाउने काम मन्दिरका पुजारी र चण्डेश्वरी निर्माण तथा संरक्षण समितिको पहलमा भइरहेको छ।

स्वस्थानी ब्रतकथा अनुसार यहाँ महादेव र दक्ष प्रजापतिका सेनाबीच घमासान युद्ध हँदा दक्ष प्रजापतिको शीर छेदन भएको र सतीदेवी होममा होमिएर आत्मदाह गरेकाले महादेव अलापविलाप गर्दै सतीदेवीको लास बोकर जानेक्रममा यस स्थानमा सतीदेवीको मुख पतन भएको जनविश्वास रहँदै आएको छ। यसलाई दक्ष प्रजापतिको यज्ञकुण्डको पवित्र स्थलका रुपमा लिइन्छ। मन्दिरमा चण्डेश्वरी देवीको मूर्ति छैन। मन्डलालाई पुज्ने गरिन्छ। मुस्कानेश्वर महादेव, महाकालीको मूर्ति, विष्णु मन्दिर, यज्ञकुण्ड, पाँच धारा यहाँका मुख्य आकर्षण हुन् ।

यहाँ हरेक बर्ष चैत मसान्तमा वागमती खोलाको मुहान वागद्वार मेलामा आउने भक्तजन फर्किने क्रममा चण्डेश्वरी हुँदै दर्शन गरेर सपनतीर्थमा स्नान गरी घर जाने परम्परा रहीआएको छ।

यति मात्र होइन गाउँमा बज्रयोगिनी, गणेश, संकटामाई, भीमसेन, नाथेश्वर र नारायण लगायतका मन्दिर चैत्य छन्। टोखामा जिवित देवी कुमारी र देव गणेश पनि छन्।

नेवार बस्ती भएकाले टोखा नाचगान र जात्राको सहर पनि हो। टोखामा मात्रै नाचिने नाचहरूमा याप्याखं र नागप्याखं हुन्। लाखे नाच पनि नचाइन्छ। गाउँमा दर्जन भजन समूह छन् । हरेक साँझ भजन किर्तन हुन्छ।

टोखाबाट गुर्जे भञ्ज्याङ हुँदै सुन्दरीजल र डाँडागाउँ हुँदै बूढानीलकण्ठ पदयात्रा गर्न सकिन्छ ।त्यहाँबाट झोर हुँदै बालाजु बाइपास निक्लन पनि सकिन्छ। टोखामा हाइकिङ मात्र होइन साइकलिङ र बाइकिङ पनि गर्न सकिन्छ ।

यस नगरपालिकाको पूर्वमा बूढानीलकण्ठ नगरपालिका, पश्चिममा तारकेश्वर नगरपालिका, उत्तरमा नुवाकोट जिल्ला र दक्षिणमा काठमाडौं महानगरपालिका छन्। नगरपालिकाको प्रमुख पर्यटकीय क्षेत्रका रूपमा झोर महांकालको बौडेश्वर महादेव, टोखा चण्डेश्वरीको सपना तीर्थ, टोखा सरस्वतीको इन्द्रेणी (भूतखेल) चौर, धापासीको बसुन्धरादेवी, गाेंगबुको मनोहर तीर्थ र विनायक छन्।

टोखाको चर्चित र संझने पर्ने कुराहरु

  • सरस्वती गहना पोखरी, गणेश पोखरी र स्नान कुण्ड
  • बाउडेश्वर (झोर) झरना
  • सपनातीर्थ मेला
  • भूतखेल
  • स्वस्थानीको महिमा
  • चण्डेश्वरी मन्दिर

यस क्षेत्र भएर बग्ने प्रमुख नदीहरूमा विष्णुमती, साङ्गले खोला र सपनातीर्थ मुख्य हुन्। त्यसैगरी, मुख्य पोखरीमा सरस्वती, गहना पोखरी, गणेश पोखरी, सपना तीर्थ र स्नान कुण्ड छन्।