-बालिकालाई ट्रकले ठक्कर दिएपछि प्रदर्शनकारी र प्रहरीबीच झडप

ट्रकले बिधार्थी किचेपछि झडप :प्रहरीले कुट्दा बिद्यार्थी घाइते

Hollywood Khabar December 07,2019 Comments

२२ मंसिर,बाँके।बाँकेमा  त्रिभुवन माध्यमिक विद्यालय कोहलपुरमा अध्ययनरत एक बालिकालाई ट्रकले ठक्कर दिएपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । कोहलपुरबाट नेपालगञ्ज आउँदै गरेको ना२ख ९४५९ नंको ट्रकले कक्षा ७ मा अध्ययनरत प्रकृति चन्दलाई ट्रकले ठक्कर दिएपछि कोहलपुर तनावग्रस्त बनेको हो ।दुर्घटनालगत्तै प्रदर्शनमा उत्रिएका विद्यालयमा अध्ययनरत विद्यार्थी चन्दलाई ठक्कर दिएपछि विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन् ।प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायर गरिरहेको छ।झडपमा केही प्रहरी र प्रदर्शनकारी पनि घाइते भएका छन् । आक्रोशित विद्यार्थीहरुले सडकमा रहेका गाडीमा समेत ढुङ्गा प्रहार गरेका छन् ।

आफ्ना बुबासँग मोटरसाइकलमा विद्यालय आएकी प्रकृतिलाई जेब्राक्रसिङ नजिकबाट सडक पार गर्ने क्रममा पछाडिबाट आएको ट्रकले ठक्कर दिएको थियो ।ट्रकले कुल्चँदा प्रकृतिको एउटा खुट्टा शरीरबाट अलग भएर सडकमा छरपस्ट भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब निरीक्षक हस्तबहादुर सुनारले जानकारी दिए ।दुर्घटनामा प्रकृतिको बुबासमेत घाइते भएको प्रहरीले जनाएको छ ।दुर्घटनालगत्तै प्रकृति र उनको बुबालाई नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा लगिएको छ । विद्यालय प्राङ्गण नजिक भएको दुर्घटनालगत्तै आक्रोशित बनेका विद्यार्थी तथा स्थानीयवासीले ट्रक नियन्त्रणमा लिएर तोडफोड तथा आगजनी गरेका थिए ।
 
लगत्तै आक्रोशित भएको भीडलाई मत्थर पार्न आएको इलाका प्रहरी कार्यालय कोहलपुरको प्रहरी टोलीमाथि समेत विद्यार्थी ढुङ्गा, इँट्टा प्रहार गर्दै आन्दोलित बनेका छन् । ट्रकले विद्यार्थीलाई ठक्कर दिएपछि आक्रोशित बनेका विद्यार्थीले अन्य सवारी साधनमाथि समेत प्रहार गरेका थिए । स्थिति तनावग्रस्त बनेपछि प्रहरीले दर्जनभन्दा बढी अश्रुग्यास प्रहार गरेको छ ।झडपमा केही प्रहरी र विद्यार्थी घाइते भएका छन् ।