-तामाङ समाज अमेरिका

बुद्धका मुर्तिहरु तोडफोड गरिएको प्रति तामाङ समाज अमेरिकाको ध्यानकर्षण

Hollywood Khabar July 21,2019 Comments

विज्ञप्ति

संघीय गणतन्त्र नेपाल धर्मनिर्पेक्ष राज्य भएको एक दशक नाघेको छ। यो एक दशकको अवधिमा आधुनिक नेपाल निर्माणको लागि राजनीतिक, आर्थिक एवं सामाजिक क्षेत्रमा पुनर्संरचना मार्फत देशलाई आधुनिकता दिने प्रयास जारीरहेको देखिन्छ।

धर्मनिर्पेक्ष नेपालमा विभिन्न धर्मावलम्बीहरुका आस्थामा राज्यले समान व्यबहार दर्शाउने नीति अख्तियार गरेको एक दशक बितिसक्दा धार्मिक असहिष्णुता फैल्याउने कु-उद्देश्यले केही असामाजिक तत्वले गत श्रावन १ गते नेपालको रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका स्थित शंकरनगर चोक देखि नयाँ मिलसम्मका पाँचवटा बुद्धका मुर्तिहरु तोडफोड गरेर यत्र तत्र फ्यालिएको घटनाप्रति तामाङ समाज अमेरिकाको गम्भीर ध्यानकर्षण भएको स्पष्ट पार्दछौ।

भगवान गौतम बुद्ध जन्मेको देशमा नै बुद्धका मुर्तिहरु अपराधिक शैलीमा तोडफोड गरिनु बौद्ध धर्मावलम्बीहरुप्रतिको अपमान मात्र नभएर सिंगो देशको अपमान भएको हाम्रो निस्कर्ष छ । धर्मनिरपेक्ष नेपालमा धार्मिक सहिष्णुता खलबलाउन प्रयास गर्ने जो कोहीलाई राज्यको कानून अनुसार तुरन्तै छानविन गरेर कडा भन्दा कडा सजाय दिन नेपाल सरकारलाई अनुरोध गरिन्छ ।

यस किसिमको असामाजिक गतिविधिले सामाजिक सदभाबमा आँच पुग्ने भएकोले सम्बन्धित सबैलाई आत्मसंयमता र धैर्यता राख्न समेत अनुरोध गरिन्छ । सबै धर्म, जातजाति र आदिवासी जनजातिबीचको आपसी सदभाब र श्रद्दा मार्फत नै देशको विकास हुने तामाङ समाज अमेरिकाको मुल्यांकन छ ।

सानुमाया तामाङ

अध्यक्ष

बोधार्थ: नेपाल सरकार, नेपाली महाबाणिज्यदुतवास, न्युयोर्क