-तिखेदेवमा उमामहेश्वर सामुदायिक स्वास्थ्य केन्द्र तथा परिवार नियोजन संस्थागत क्लिनिकको उद्घाटन गर्दै मेयर महर्जन

विकृति र बेथिति हटाउन महाभारत परिरहेको छ-मेयर चिरीबाबु महर्जन

Hollywood Khabar February 24,2019 Comments

माधव प्रसाद घिमिरे/ललितपुर/११ फागुन

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले १९ वर्ष जनप्रतिनिधि नहुँदा वेथिति र विकृतिहरु बढेको वताएका छन्।

उनले त्यसबेला बढेको वेथिति र विकृतिका कारण व्यवस्थित शहरको विकास हुन नसकेको आरोप लगाए। शनिबार ललितपुर महानगरपालिका वडा नं. १४ तिखेदेवमा उमामहेश्वर सामुदायिक स्वास्थ्य केन्द्र तथा परिवार नियोजन संस्थागत क्लिनिकको उद्घाटन गर्दै मेयर महर्जनले यस्तो वताएका हुन्।

अहिले महानगरभित्र देखिएका ९० प्रतिशत समस्या स्थानीय सरकारसंग जोडिएको भन्दै मेयर महर्जनले भने, १९ वर्ष स्थानीय तह जनप्रतिनिधि विहिन हुँदा अहिलेको भयावह स्थिति देखा परेको हो। तिनै विकृति र बेथितिलाई हटाउन हामीलाई महाभारत परीरहेको छ। उनले व्यवस्थित शहर निर्माणका लागि पहिला योजना बनाएर त्यसै अनुसार लाग्नु पर्नेमा काठमाण्डौं उपत्यकामा अव्यवस्थित शहरको विकास वताउँदै त्यसलाई सुधार्न ज्यादै कठिन भएको वताए।

मेयर महर्जनले सार्वजनिक खरिद ऐन–२०६३ विकासको बाधक भएको पनि वताए। उनले भने, अख्तियारको प्रतिवेदन अनुसार एक खर्व २६ अर्व रुपैयाँ ठेकेदारहरुले बैना लिएका छन्, तर काम भएको छैन। मेयर महर्जनले न्युनतम् ठेक्का कबोल गर्नेले ठेक्का पाउने हुँदा गुणस्तरीय काम नहुने र समयमा काम पनि हुन नसक्ने वताए। सानातिना समस्या र योजनाहरु वडा कार्यालयबाटै सम्पादन होस् भनेर गत वर्ष भन्दा यस वर्ष तीन गुणा बढी बजेट वडा कार्यालयमा पठाएको पनि मेयर महर्जनले वताए।

मेयर महर्जनले उमामहेश्वर सामुदायिक विकास केन्द्र नेपालकै नमुनाको रुपमा स्थापित भएको वताउँदै त्यसलाई अझ निरन्तरता दिनका लागि महानगरपालिकाले जेजस्तो सहयोग गर्नु पर्ने हो त्यो सबै गर्न तयार रहेको वताए।

त्यस्तै उपमेयर गीता सत्यालले उमामहेश्वर सामुदायिक विकास केन्द्रको स्थापनामा योगदान दिएकाहरुको योगदानलाई भुल्न नहुने वताइन्। उनले अग्रज र नयाँ पुस्तालाई मिलाएर अगाडी बढ्नु पर्ने वताइन्। उमामहेश्वर स्वास्थ्य केन्द्र सञ्चालन गर्न एउटा पाटीबाट सुरु गरेको स्मरण गर्दै त्यस बेला आफुले प्रत्येक हप्ताको सोमबार र विहीबार स्वास्थ्य केन्द्रमा आएर सेवा गरेको पनि स्मरण गरिन्।

उमामहेश्वर सामुदायिक विकास केन्द्रका अध्यक्ष डा गोविन्द प्रसाद थापाले शहरको विकाससंगसंगै समस्याहरु पनि आएको वताए। उनले समाजमा आउने सबै समस्याहरु समाधान गर्नका साथै अपराधिक गतिविधिहरु नियन्त्रण गर्नका लागि महानगरपालिकासंग सहकार्य गर्दै अगाडि बढ्ने वताए।

स्वास्थ्यमा पहुँच नभएकाहरुलाई लक्षित गर्दै उमामहेश्वर स्वास्थ्य केन्द्र २०५६ साल असोज ४ गते स्थापना भएको थियो। सामुदायिक विकास केन्द्रको १९ औं स्थापना दिवसको अवसर पारेर उमामहेश्वर सामुदायिक स्वास्थ्य केन्द्र तथा परिवार नियोजन संस्थागत क्लिनिकको उद्घाटन गरिएको हो।

ललितपुर महानगरपालिका माताहातमा रहेको परिवार नियोजन संस्थागत क्लिनिक सञ्चालनका लागि ललितपुर महानगरपालिकाले सामुदायिक विकास केन्द्रसंग सम्झौता समेत गरेको छ। यही परिवार नियोजन संस्थागत क्लिनिकलाई स्तरोन्नती गर्दै सामुदायिक अस्पताल सञ्चालन गर्ने महानगरपालिकाको योजना रहेको छ।