-भ्याली बोर्डले काठमाडौं महानगरको ५ ठाउँमा वाटर एटीएम जडान गर्ने

भ्याली बोर्डले काठमाडौं महानगरको ५ ठाउँमा वाटर भेण्डिङ्ग मशिन जडान गर्ने

Hollywood Khabar March 22,2020 Comments

काठमाडौं। काठमाडौं महानगरपालिका र खानेपानी मन्त्रालय अन्तर्गतको काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड (भ्याली बोर्ड) बीच महानगर क्षेत्र भित्र पाँच ठाउँमा वाटर भेण्डिङ्ग मशिन जडान गर्ने विषयमा सम्झौता भएको छ ।

आम मानिसलाई काठमाडौं महानगर क्षेत्रभित्रका केही सार्वजनिक स्थानहरुमा स्वच्छ र गुणस्तरीय पानी पिउने सुविधा प्रदान गर्नका लागि वाटर भेण्डिङ्ग मशिन जडान गर्ने विषयमा सम्झौता भएको हो। महानगरका प्रमुख बिद्यासुन्दर शाक्यको उपस्थितिमा महानगरकातर्फबाट प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र बोर्डकातर्फबाट कार्यकारी निर्देशक डा सञ्जीव विक्रम राणाले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो।

सम्झौता अनुसार पहिलो चरणमा काठमाडौँ महानगर क्षेत्र भित्रका धुम्बाराहीको शंखपार्क, स्वयम्भूको भुइँखेल, बालाजु पार्क, वडा नं. २८ को शंखधर पार्क र मीनभवनको ट्रलीबस सेवा भएको कम्पाउण्डमा वाटर भेण्डिङ्ग मशिन राखिनेछ। तीन वर्षका लागि भएको सम्झौता अनुसार महानगरपालिकाले वाटर एटीएम राख्ने स्थान उपलब्ध गराउने छ भने त्यसको सुरक्षा र बत्तीको पनि व्यवस्था महानगरपालिकाले नै गर्ने छ।

यो सम्झौतासँगै अब महानगरवासीले प्रति २ सय मिलीलिटर पानीका लागि जम्मा एक रुपैयाँ तिरे पुग्नेछ। वाटर भेण्डिङ्ग मशिनमै व्यवस्था गरेको कागजबाट निर्मित २ सय मिली लिटरको कप प्रयोग गर्न चाहेमा कपको छुट्टै रु एक लाग्ने बोर्डका कार्यकारी निर्देशक राणाले जानकारी दिनुभयो। उहाँका अनुसार कप प्रयोग नगरी आफ्नै बोटलमा पानी थाप्न चाहे प्रतिलिटर पानीको पाँच रुपैयाँ तिरे पुग्छ। यो सेवाले एक बोटल पानीको २०–२५ रुपैयाँ तिर्नु पर्ने बाध्यतामा पनि कमी आउनेछ।

महानगरपालिकाले तोकेका स्थानमा बोर्डले ३ महिनाको सञ्चालन र मर्मत खर्चसहित प्रति एटिएम १५ लाख ८६ हजारको लागतमा पाँच ओटा राख्ने छ। महानगर प्रमुख शाक्यले काठमाडौँमा पानीको हाहाकार भैरहेका बेला महानगरवासीलाई स्वच्छ र गुणस्तरीय पानी पिउने व्यवस्था गर्नका लागि यो प्रयासको थालनी गरेको बताउनुभयो। प्रमुख शाक्यले भन्नुभयो, यो सेवालाई भोलिका दिनमा थप विस्तार गरेर ३२ वटै वडामा पु–याउने हाम्रो लक्ष्य छ। तपाईहरुले विश्वास दिलाएर काम गर्नुभयो भने हामी आगामी दिनमा थप सहकार्य गर्न तयार छौँ।

प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले यो सम्झौताले सर्वसाधारणदेखि विद्यार्थी र अन्यले स्वच्छ र गुणस्तरीय पानी पिउन पाउने अपेक्षा गरेको बताउनुभयो।

बोर्डका कार्यकारी निर्देशक राणाले उपत्यकाका १५ स्थानमा यस्ता मिसिन राख्ने योजना अनुसार नै पहिलो चरणमा काठमाडौँ महानगर क्षेत्रभित्र पाँच स्थानमा राख्न लागेको बताउनुभयो। अहिले हरेक वाटर भेण्डिङ्ग मशिनमा पाँच हजार लिटरको ट्याङ्की राख्ने र मेलम्चीको पाइप जडानपछि सोझै त्यहाँको पानी राख्ने व्यवस्था गरिने उहाँले बताउनुभयो।

प्रविधिसँग सामिप्यता बढाउनका लागि पनि यस्तो कार्यक्रम ल्याएका हौँ, उहाँले भन्नुभयो, पर्यावरणीय हिसाबले पनि यो उपयुक्त छ। त्यति मात्र होइन कति पानी खर्च भयो, कति पैसा उठ्यो भन्नेसम्म हामीले थाहा पाउन सकिन्छ। त्यसैले यसलाई हामीले व्यापारको भन्दा पनि सेवाको हिसाबले सञ्चालनमा ल्याएका छौँ।