पर्यटकलाई अनअराइभल भिषा दिन सुरू

Hollywood Khabar September 22,2021 Comments

कोरोना महामारीका कारण २०७८ जेठ ६ गते देखि बन्द भएको पर्यटक अनअराइभल भिषा अध्यागमन विभागले विहीबारदेखि दिन शुरु गरेको छ । विभाग अन्तर्गतका नौ वटा प्रवेश तथा प्रस्थान बिन्दु अध्यागमन कार्यालयहरु बाट पर्यटकलाई आगमन पश्चात दिने अनअराइभल भिषा दिन शुरु गरिएको प्रवक्ता झंकनाथ ढकालले जानकारी दिनुभयो । मन्त्रिपरिषद्को बैठकले भिषा खुल्ला गर्ने निर्णय गरेपछि विभागले सेवा पुनः शुरु गरेको उहाँले बताउनुभयो ।

यस अघिसम्म विभागले नेपाल प्रवेश गर्ने विदेशी नागरिकले सम्बन्धित देशबाट भिषा लगाए पछि मात्र स्वास्थ्य मापदण्ड पूरा गरी प्रवेश दिने गर्दे आएको थियो । विभागले हवाई उडानबाट नेपाल प्रवेश गर्नेको लागि अध्यागमन कार्यालय, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल मार्फत आवश्यक ब्यवस्था  मिलाउने  र  अन्य नाकाबाट नेपाल प्रवेश गर्ने बिदेशीको हकमा सीमा क्षेत्रमा स्थापित अध्यागमन कार्यालयहरुले पर्यटक भिषा जारी गर्ने ब्यवस्था मिलाउने विभागले जनाएको छ ।

भिषा दिन शुरु गरेसँगै पदयात्रा र पर्वतारोहणमा आउने पर्यटकका लागि सहज भएको पर्यटन व्यवसायी टिकाराम गुरुङले बताए । पदयात्रामा आउने पर्यटक छोटो समयका लागि आउने र १० दिन क्वारेन्टीन बस्नु पर्ने भएकाले बाध्यताले पर्यटकले यस सिजनको पदयात्रा अधिकांसले रद्द गराएको उहाँले बताउनुभयो । यो निर्णयसँगै पर्यटकको आगमनमा थप बृद्धि हुने विश्वास रहेको उहाँको भनाई छ । भिषाको लागि विभागको वेवसाइटबाट अनलाइन फारम पर्यटक भिषा भर्नुपर्ने जनाएको छ । एक पटक भरेको फारमले १५ दिनसम्म मात्र काम गर्ने र भिषाको लागि तोकिएको दस्तुर बैंकमा बुझाउन सकिने जनाएको छ ।