Hollywoodkhabar advertisement

वाणीपुत्र ! महाकविमा समर्पित

-Tirtha Adhikari
0
shares

-तीर्थराज अधिकारी, गोरखा, लप्सीबोट, हाल:सरस्वतीनगर, काठमाडौँ/११/१२/२०

 

बलेको स्वर्गको आगो चोरी ल्यायो धरातिर

मायावी जाल तोडेर त~यो निर्विघ्न सागर

लगाई ताजको बाजी महाराणा बनी उठ्यो

शाहजहाँ बिलौनामा प्रेमको छाल भै छुट्यो ।१।

 

आधा आकाश धाँजामा कुञ्जिनी र सुलोचना

देखेर मन भो आगो पोखियो तप्त वेदना

बाघले खान लागेको बच्चा देखेर गर्जियो

राजा ! कलम भाँचूँ कि भन्दै आदेश पर्खियो ।२।

 

निरङ्कुश फणा फैली निल्न खोज्थ्यो स्वतन्त्रता

कोर्रा हान्यो उसैमाथि मान्दै मानेन दासता

मुना सहरमै मैली भोटको लेकमा उता

पायो मदनले साथी साँच्चैको दिल देवता ।३।

 

तपस्वी उसका निम्ति थियो प्यारो तपोवन

शकुन्तला कला बोक्ने चरा चिर्बिर कानन

सभ्य संसार रच्नैमा बोक्यो विद्युत लेखनी

भाव-व्यञ्जन ती लाग्छन् जादुका दिव्य- मोहनी ।४।

 

सफा आकाश गङ्गा ऊ रस झर्झरमा झ~यो

विचार- बीज रोपेर आलोक लोकमा भ~यो

भाव-वैभवको स्रष्टा सिङ्गै संसार एक छ

विमान मनको चढ्दै तारा केस्रा केलाउँछ ।५।

 

बुटी पाई कुटी हाँस्छन् धन्य ! धन्य ! वसुन्धरा

छैन कोही कहाँ भन्छन् रूप फुल्छन् गरा गरा

वनकुसुमका माला श्रद्धाले म चढाउँछु

भाषा संसारका सामु उसैलाई म पाउँछु ।६।

 

दृढ शैल शिरैमाथि हिम बोकेर हाँस्दछ

शीतैको याम होस् घाम ताप कहाँ बिलाउँछ

सत्कर्म किन रित्तिन्थ्यो प्राण संसारको बल

बल्छ जीवनको ज्योति सधैँ झल्मल झल्मल ।७।

 

दम्भी अट्टालिका गल्दै झर्छन् अकाल गर्तमा

वीणाकै स्वर गुन्जन्छन् सधैँ रात प्रभातमा

सिङ्गो ब्रम्हाण्डकै चित्र खिच्छ समाज दर्पण

दीपका खोजमा हुन्छ दीपैसामु समर्पण ।८।

 

शब्दको जग हालेर भाव सोपानमा चढी

धर्तीमा कवि फर्कन्छन् नभको चन्द्रमा चुमी

अलङ्कृत बनेको छ माटो यै भावले छुँदा

बसुधामा सुधा भर्छन् स्रष्टाका दिल सर्वदा ।९।